अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै छ्यापियो कालो मसी

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीराम थारूमाथि दुव्र्यवहार भएको छ । बिहीबार न्यायाधीश थारू इजलासमै रहेको अवस्थामा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का कार्यकर्ताहरूले कालो मसी छ्यापेका हुन् ।

घटनामा संलग्न नेकपा (बहुमत) का १ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा किशोर कुँवर, पदम मगर र गर्भु महतो छन् । उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी गौतमको भनाइ छ ।

उनीहरूले उच्च अदालतको इजलासमै पुगेर फेसबुक लाइभ गर्दै ‘जनताको कर खाएर जनताका विरुद्ध फैसला गर्न पाइँदैन’ भन्ने नारा लगाउँदै न्यायाधीश थारूमाथि कालो मसी प्रहार गरेका थिए । कांग्रेसका पूर्वसांसद आलम २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा बम विस्फोट गराएको तथा घटनामा घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको कसुरमा जन्मकैदको सजाय पाएर कारागारमा थिए ।

तर, गत १४ जेठमा उच्च अदालत वीरगन्ज इजलासले उनलाई सफाइ दिएपछि कारागारमुक्त भएका थिए । न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो । उच्च अदालतको सो फैसला विवादितसमेत बनेको छ ।

प्रतिक्रिया