मध्यरातमा प्रहरीद्वारा छापामार शैलीमा घर घेराउ

आदेश कहाँबाट कसले दियो प्रहरी नै अनविज्ञ

जनकपुरधाम । धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरमा आइतबार मध्यरातमा प्रहरीले छापामार शैलीमा घर घेराउ गरी दुव्यवहार र कुटपिट गरेको छ । ३ दर्जनभन्दा बढीको संख्यामा रहेको प्रहरीको टोलीले छापामार शैलीमा १ घरमा घेराउ गरी बलपूर्वक प्रवेश गरेको घटनाले स्थानीयमा त्रास फैलिएको छ । प्रहरीले स्थानीय महिलाहरूलाई दुव्र्यवहार, कुटपिट गरी घरमा रहेको सम्पत्तिमा तोडफोड गरिएको आरोप लागेको छ ।

प्रत्यक्षदर्शी र पीडितको अनुसार भोगेन्द्र यादवको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छतबाट प्रवेश गरी घरका चुकुलहरू फोड्दै गर्दे घरभित्र प्रवेश गरेर छापा मारेको हो । एमालेका मुखियापटी मुसहरनिया नगर अध्यक्ष सुशील यादवले पत्रकार सम्मेलनमार्फत प्रहरीको यो कार्यलाई ‘रातको आतंकराज’ भनी टिप्पणी गरेका छन् ।

पीडित पक्षका एक विकास यादवले घटनाको विवरण दिँदै भने, ‘राति सुतिरहेको अवस्थामा प्रहरी अचानक घरभित्र पस्यो । म झल्याँस ब्युँझिएँ, त्यत्तिकैमा एक जनाले मेरो कानमै पेस्तोल तेर्साउँदै भन्यो, ‘बढी नबोल चुप लाग, नत्र मर्छस् ।’

उनले थपे, ‘मैले किन यस्तो गरिरहनुभएको ? तपाईंहरूसँग कुनै कागजात छ कि ? यो काम दिउँसो पनि गर्न सकिन्छ । यति भनेपछि, मलाई धक्कामुक्की गर्दै कलर समातेर घरबाट बाहिर निकालियो ।’

घटनामा स्थानीय राजनीतिक द्वन्द्व रहेको आशंका गरिएको छ । सुशील यादवका अनुसार, उनको र जसपा नेपालका नेता वीरेन्द्र छोटेबीच विगतमा सामान्य भनाभन भएको थियो । त्यही घटनालाई लिएर वीरेन्द्र छोटे पक्षले दबाबमा मुद्दा हालेर आफ्ना नातेदारहरूलाई फसाउने प्रयास गरिरहेको उनले दाबी गरे ।

‘झगडा मिलाउन पुगेका काका उपेन्द्र यादवको टाउको उनीहरूले फुटाएपछि उपचारका लागि जनकपुरधामको न्युरो अस्पतालसम्म लगियो । त्यसपछि हामीले प्रहरीमा उजुरी ग¥यौँ । तर, उल्टै वीरेन्द्र छोटेले आफ्नो पहुँच प्रयोग गरी हामीमाथि अभद्र व्यवहारको मुद्दा हाल्नुका साथै रातको समयमा प्रहरी परिचालन गरी गाउँमा त्रास फैलाएका छन्’, अध्यक्ष यादवको आरोप छ ।

फुलगामा प्रहरीचौकीका इन्चार्ज अवधलाल सोनारले भने घटनामा आफू संलग्न रहेको स्वीकार गर्दै जिल्लाबाट आएको टोलीले साथ दिन भनेपछि आफू पनि गएको बताए । ‘राती घर किन घेराउ गरियो भन्ने जानकारी जिल्लाबाट नै लिनुपर्छ’, उनले भने ।
तर, जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले भने घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘म यसबारे जानकार छैन, यो कुरा प्रहरी उपरीक्षकसँग बुझ्नुपर्छ’, उनले संक्षिप्त प्रतिक्रिया दिए । प्रहरी उपरीक्षकलाई सम्पर्क गर्न प्रयास गर्दा सम्पर्क हुन सकेन ।

मध्यराती दर्जनौँ सुरक्षाकर्मी घरमा पसेर महिलाहरूलाई अपमानजनक व्यवहार गर्दै दराज, पलङ जाँच गरेको र कागजपत्रविना बल प्रयोग गरिएको घटनाले गाउँमा ठुलो त्रास र असुरक्षा फैलिएको छ । स्थानीय बासिन्दाहरूले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यता घरमा रहेका महिलाहरूले घटनाको क्रममा आफ्नो मंगलसूत्र, पेटीबाट केही थान गहना र २ लाख नगद हराएको समेत आरोप लगाएका छन् ।

यता एमाले धनुषाले घटनाको विरोध जनाउँदै नागरिकको मौलिक हक उल्लंघन भएको भन्दै आलोचना गरेको छ ।

प्रतिक्रिया