एमालेका मधेस प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेकपा(एमाले)का मधेस प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित सांसद ठाकुरले औरही गाउँपालिकामा अस्पताल निर्माणमा भ्रष्टाचार गरेको भन्दै मंगलबार मुद्दा दायर भएको हो । उनीसहित गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवलगायत अन्य १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अस्पताल निर्माणको ठेक्कामा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा हानिनोक्सानी भएको ठहर गर्दै अख्तियारले उनीविरुद्ध सोही बमोजिमको रकम बिगो दावी गरेको छ ।
औरही गाउँपालिका–२ देउरी परवाहामा १५ शय्याको अस्पताल निर्माण गर्न २४ करोड ४३ लाख ५२ हजार ६५० रुपैयाँको लागत अनुमान तयार गरिएको थियो । २०७८ वैशाख १७ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको र बोलपत्र पेस गर्ने अन्तिम मिति १६ जेठमा आफ्ना व्यक्तिलाई ठेक्का पार्न बोलपत्र पेस गर्ने म्याद ७ दिन थप गरेको अख्तियारले जनाएको छ । त्यस्तै पुनः बोलपत्र पेस गर्ने समय ३१ जेठसम्म रहनेगरी ८ दिनको म्याद थप गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया