काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह अख्तियारको छानबिनमा तानिएका छन् । गत वर्ष गरेको फ्रान्स भ्रमणबारे सोधपुछ गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालेनलाई बोलाएको छ ।
गत वर्षको जेठमा कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्च विवरणबारे जानकारी दिन मेयर शाहलाई बोलाइएको हो । फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरूलाई पनि कर्मचारीका रूपमा सहभागी गराएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।
१ जेठ, २०८१ मा कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा फ्रान्स भ्रमणमा जाने क्रममा सचिवालयका केही सदस्यलाई समेत कर्मचारीका रूपमा लगेको विषयमा महालेखाले प्रश्न उठाएको थियो भने यस विषयमा अख्तियारमा उजुरी पनि परेको थियो ।
फ्रान्स गएका साह ७ जेठमा नेपाल फर्किएका थिए । त्यहाँ जाँदा उनले सचिवालयका सदस्यहरू सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीका रूपमा सहभागी गराएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ ।
उजुरीपछि अख्तियारले कुमार व्यञ्जनकार र सुनील लम्सालसँगै बालेनलाई पनि बोलाएको थियो । तर, स्रोतका अनुसार कुमार र सुनीलले अख्तियार गएर यसबारे जानकारी गराएका छन् भने बालेन अहिलेसम्म अख्तियारमा उपस्थित भएका छैनन् ।
बालेन कान्स फिल्म फेस्टिभल भ्रमणमा सहभागी हुने क्रममा २२ लाख ५६ हजार ४०२ रुपैयाँ ७५ पैसा खर्च भएको विवरण महालेखाको प्रतिवेदन–२०८२ मा उल्लेख छ । उक्त भ्रमणका क्रममा भएको खर्च बालेन र उनको सचिवालयले फरक–फरक भौचरमार्फत् महानगरबाट भुक्तानी लिएको भेटिएको छ । जसमा भौचर नं. ४२६२०८१÷०१÷३१ मार्फत १ लाख ४४ हजार ७०६ रुपैयाँ ५० पैसा र भौचर नं. ५०९१–२०८१÷०३÷०२ मार्फत् बालेनकै नाममा ६२ हजार ५३१ रुपैयाँ २५ पैसा खर्च गरिएको देखाइएको छ ।
त्यस्तै, काठमाडौँ महानरपालिका कार्यपालिकाको १० असार, २०८१ को निर्णयअनुसार बालेन र उनको सचिवालयका लम्साल र व्यञ्जनकारसमेतका लागि भौचर नं. ५७२३–२०८१÷०३÷१८ मार्फत् २० लाख ४९ हजार १६५ रुपैयाँ भ्रमण खर्च भुक्तानी गरिएको महालेखाले उल्लेख गरेको छ । यसमा महालेखाले गम्भीर प्रश्न उठाएको थियो ।
प्रतिक्रिया