मयुर यातायातको सेवा रोक्न खोज्दा धुलिखेलमा तनाव

काठमाडौँ । सरकारसँग सहमति गरेर पनि यातायात सञ्चालन नगरेर आम सर्वसाधारणमाथि अन्याय गरिरहेका यातायात व्यवसायीले मयुर यातायातले दिइरहेको सेवालाई समेत प्रभावित पार्न खोजेका छन् । काभ्रेको धुलिखेलदेखि काठमाडौँ चक्रपथ परिक्रमा गर्ने मयुरका गाडीहरु रोक्न खोज्दा धुलिखेलमा तनाव उत्पन्न भएको बताइएको छ । मयुरका सबै गाडी धुलिखेलमै रोकेर राखिएको स्थानीयले बताएका छन् । गाडी जलाउनेदेखि तोडफोड गर्ने सम्मको धम्की आएको एक चालकले बताए ।

मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले आफूहरुको सेवा रोक्न धम्की दिइएको र अवराेध गर्ने प्रयास भएको बताए । उनले भने, ‘हामीले प्रहरीलाई खबर गर्यौँ, तर प्रहरीले सुरक्षाको लागि कडा एक्सन लिन सकेको छैन । जे होला होला आम नागरिकलाई सेवा दिनको लागि गाडी चलाउन सबै चालक तथा सहचालकलाई भनेको छु । अब सम्भव भएसम्म चलाउने हाे ।’

जिल्ला प्रहरी काभ्रेले भने चोक चोकमा बन्दकर्ता निस्किएको कारण सुरक्षामा चुनौती थपिएको बताएको छ । प्रहरीले सुरक्षानै दिन नसकिने नभनेको बताएकाे छ । एउटा एउटा गाडी चलाउँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया