काठमाडौं । साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति ‘डाँफे’को लोकापर्ण गरिएको छ । पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज काठमाडौंमा लोकापर्ण गरेका हुन् । लोकापर्ण समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने बताए ।
पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने भन्दै उनले प्रत्येक कृतिका फरक फरक विशेषता हुने धारणा व्यक्त गरे ।
डाँफे कृतिको समिक्षा गर्दै अग्रज साहित्यकार भागिरथी श्रेष्ठले डाँफे उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको टिप्पणी गरे ।
साहित्यकार कल्पना रिजाल सरल स्वाभाव, असल नेतृत्वकर्ता र निर्भिक व्यक्तित्व भएको जानकारी दिँदै श्रेष्ठले डाँफे उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रुपमा कमल चलाउन सक्ने साहित्यकारको रुपमा भेटेको पनि बताए ।
उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफे उपन्यासमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियता लगायतका विभिन्न पक्षहरु समेटिएको हुनाले उत्कृष्ट रहेको बताए ।
विचारको माध्यमबाट जस्तासुकै विवादहरुको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरुले मुलुकको हितका लागि वार्तामा बस्नु नै पहिलो विकल्प हुने कुरा समेत उपन्यासमा लेखक रिजालले प्रस्तुत गरेको जानकारी दिए ।
पुस्तकका लेखक कल्पना रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफे जस्तै विविध रंग र सज्जाले भरिएको बताइन् । उनले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्विय दर्शन लगायतका विभिन्न पक्षहरु समेटिएको जानकारी दिइन् ।
साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकार लगायतका झण्डै एकसय जनाको सहभागिता रहेको लोकापर्ण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतम लगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गरेका थिए ।
प्रतिक्रिया