काठमाडौँ । चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठुलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो । अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देख्न सकिनेछ ।
अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित छन् । उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् । यसअघि चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन् । अभिनेत्रीमा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् ।
चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
प्रतिक्रिया