काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र भोजपुर नगरपालिकाको सहकार्यमा मङ्गलवार भोजपुरमा ‘भोजपुर जिल्लामा हस्तकला र यसको वर्तमान अवस्था’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका प्रमुख आतिथ्य तथा शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङका अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नगरप्रमुख कैलाशकुमार आले, उपप्रमुख निर्मला शेर्पा र अतिथि प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सन्जय बान्तवा राई रहेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले रैथाने कला र सिपको संरक्षण र प्रर्वद्धनमा जोड दिँदै अगाामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बतए । उनले नेपालमा प्रचलित सबै विधाका कलाको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रतिष्ठानका विविध पक्षका बारेमा जानकारी गराए ।
प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरका हस्तकलालगायतका विभिन्न रैथाने कला लोप हुँदै गइरहेकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताइन् । उनले हस्तकलाले आत्मनिर्भर मात्र नबनाई देशको अर्थतन्त्रमा समेत योगदान पुर्याउन सहयोग गर्ने धारणा राखिन् ।
समसामयिक चित्रकला विभाग प्रमुख सन्जय वान्तवा राईले रैथाने कलाको संरक्षण गर्नु जरुरी रहेको बताए । नगरप्रमुख कैलाशकुमार आलेले हस्तकलामार्फत भोजपुरलाई जोड्न सकिने र यसले हस्तकलाकर्मीलाई प्रोत्साहन मिल्ने बताए । उनले आगामी नीति तथा कार्यक्रममा यससँग सम्बन्धित विषयलाई प्राथमिकता दिने उल्लेख गरे ।
समारोहमा तीर्थराज मुकारुङ राईको ‘भोजपुरका परम्परागत कला कौशलहरू’ र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालको ‘भोजपुर जिल्लामा हस्तकला’ विषयक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।
कार्यपत्रमा भोजपुरमा परम्परागत कला तथा हस्तकलाको अवस्था र यसका विविध आयामका बारेमा चर्चा गरिएको थियो । कार्यपत्रका बारेमा पेसागत महासंघका अध्यक्ष योगराज लुइँटेलले टिप्पणी गरेका थिए । कार्यक्रममा भोजपुरका जनप्रतिनिधि, स्थानीय व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया