अढाई महिनामै अर्की छात्राले पनि रोजिन् मृत्यु

किट कलेजमा नेपाली विद्यार्थी असुरक्षित

प्रकृति लम्साललाई न्याय माग्दै सडकमा उत्रिएकी प्रिशा (गोलो घेरामा) अन्ततः सोही होस्टलमा अस्ताइन् ।

काठमाडौँ । २ महिनापछि भारतको ओडिसास्थित इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत अर्की नेपाली छात्रा पनि मृत भेटिएकी छिन् । गत बिहीबार साँझ केआइआइटीमा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेकी हुन् ।

उनी झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । ओडिसा प्रहरीका अनुसार बिहीबार केआइआइटी होस्टलको आफ्नै कोठामा साह मृत फेला परेकी थिइन् । १८ वर्षीय प्रेसा बिटेकको पहिलो वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको खबर पाएसँगै परराष्ट्रमन्त्री आरजु राणाले बिहीबार नै घटनाको सम्बन्धमा कूटनीतिक पहल सुरु गरेकी थिइन् । त्यसपछि शुक्रबार दिल्लीस्थित नेपाली राजदूतावासले केआइआइटीका प्रतिनिधिहरूलाई बोलाएर घटनाबारे जानकारी लिएको थियो ।

यसअघि उनको मृत्यु भएको खबर पाएलगत्तै ओडिसास्थित भुवनेश्वर प्रहरीका उच्च अधिकृतहरू फरेन्सिक टोलीसहित केआइआइटी पुगेका थिए । अहिले घटनास्थल प्रहरी नियन्त्रणमा छ । त्यस्तै, ओडिसा राज्य सरकारले औपचारिक छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ ।

राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिसनरलगायत अनुसन्धानमा खटिएका छन् । विज्ञप्तिमा घटनाको कारण पत्ता लगाउन सोधपुछ र प्राविधिक विश्लेषण सुरु भएको जनाइएको छ ।

साहको निधनप्रति भारतको विदेश मन्त्रालयले दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन समयमा हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ विज्ञप्तिमार्फत् भारतमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई एकदमै गम्भीर रूपमा लिएको जनाउँदै अनुसन्धान अघि बढेको जानकारीसमेत दिएको छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाई धेरै गम्भीरताका साथ लिन्छ । यस विषयमा हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार साथै केआइआइटी व्यवस्थापनसँग नजिक रहेर काम गरिरहेका छौँ ।’

गत फागुनमा केआइआइटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि सोही होस्टलमा मृत फेला परेकी थिइन् । रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे २ पटक कलेज प्रशासनमा उजुरी दिए पनि त्यसको कुनै सुनुवाइ नभएको गुनासो आएको थियो । कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । परिवार र आफन्तले कलेज प्रशासनसँग छानबिनको माग राखेर मात्रै शव नेपाल ल्याएका थिए ।

त्यतिबेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई होस्टल छाडेर जान चेतावनी दिँदै विद्यार्थीमाथि कुटपिट गरेको थियो । पछि यस विषयमा विद्यालय प्रशासनदेखि व्यवस्थापकीय संयन्त्रले माफी मागेको थियो ।

प्रतिक्रिया