आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

समाजवादीले आइतबार एक विज्ञप्ति जारी गर्दै अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विगतका सरकार र शिक्षक महासंघबीच भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरू राखेर आन्दोलित शिक्षकहरुको माग सम्बोधन गर्न माग गरेको हो ।

गत चैत २० गतेबाट देशैभरका शिक्षकहरु आफ्ना माग राख्दै काठमाडौंमा आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका हुन् । राजधानी केन्द्रीत प्रदर्शनको आज २६ औं दिन पुगिसकेको छ ।

एकीकृत समाजवादीको विज्ञप्तिमा भनिएको छ, ‘अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विगतका सरकार र शिक्षक महासंघबीच भएका सम्झौता कार्यान्वयन गर्नु पर्ने लगायतका मागहरू राखेर शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका छन्। राजधानी केन्द्रीत प्रदर्शनको आज २६औँ दिन पुगिसकेको छ । अस्थायी शिक्षक, राहत शिक्षक, बालशिक्षा लगायतका शिक्षकहरू तथा विद्यालय कर्मचारीहरू विभिन्न माग सहित आन्दोलित भएको धेरै लामो समय भैसक्दा पनि सरकारले उनीहरूका आवाज सुनिरहेको छैन ।

शिक्षक महासंघसँग वार्ता गरेर शिक्षक आन्दोलनका माग र मुद्दाहरू सम्बोधन गर्ने र विद्यार्थीहरूको पठनपाठन सुचारु गर्नु पर्नेमा सरकार आन्दोलनप्रति उदासिन मात्र होइन आक्रामक बनिरहेको छ र आन्दोलन असफल बनाउने षडयन्त्र गरिरहेको छ। त्यतिमात्र होइन सरकारले राज्य शक्तिको दुरुपयोग गरेर शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने, लाठीचार्ज गर्ने र आन्दोलनरत दर्जनौ शिक्षकहरूलाई घाइते बनाउने निरंकुश र गैर जिम्मेवार काम गरेको छ । प्रहरी हस्तक्षेपबाट पत्रकार समेत घाइते बनाईएको छ । शिक्षक आन्दोलन माथि सरकारले गरेको बर्बरतापूर्ण दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । प्रहरी दमन बन्द गर्न र घाइते शिक्षकहरूको निशुल्क उपचारको लागि सरकारसँग जोडदार माग गर्दै घाइते शिक्षकहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न, गुणस्तरीय शिक्षाको ग्यारेन्टी हुने गरी अग्रगामी जनमुखी र विद्यार्थी र शिक्षक मैत्री विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो (फाष्ट ट्रयाकबाट) पारित गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।
सरकारले भविष्यका कर्णधार विद्यार्थीहरूको भविष्यमाथि खेलवाड नगरोस्, शिक्षकहरूको आन्दोलनलाई तत्काल निष्कर्षमा पुऱ्याएर उनीहरु आफ्नो कार्यक्षेत्रमा फर्कने र विद्यालयहरूमा विद्यार्थीको भर्ना, परीक्षा र अध्ययन अध्यापनलाई सुचारु गर्न हाम्रो पार्टी सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउँछ। हाल सञ्चालित शिक्षक आन्दोलनप्रति हाम्रो पार्टीको पूर्ण समर्थन रहेको र हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै आन्दोलनको सफलताको शुभकामना गर्दछ ।’

प्रतिक्रिया