राजावादीहरुले आफ्नो असली रूप तीनकुनेमा देखाए, निजी घरमा आगो लगाए : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी मण्डलेहरुको आज काठमाडौंको तीनकुनेमा असली रुप देखाउँदै निजी घरमा आगो लगाएको बताएका छन् ।

शुक्रबार राजतन्त्र स्थापनाको उदेश्यले राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुनेको एक निजी घरमा ढुंगामुढासहित आगजनी भएको थियो । यही प्रसंगमा शुक्रबार नै समाजवादी मोर्चाले पनि बृहत् प्रदर्शनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले राजावादीको आजको प्रदर्शनले नेपाली जनताले काठमाडौँको तिनकुनेमा देखेको बताए । समाजवादी मोर्चाले आज भृकुटीमण्डपमा आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजावादीहरुले घरहरु जलाएर आतंक सिर्जना गरेको बताए ।

अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले गरेको गल्तीको परिणाम अहिले भोगिरहेका भन्दै उनलाई अर्को गल्ती गनर्न चेतावनीसमेत दिए । ‘ज्ञानेन्द्रले प्रतिगमनतिर जाने अर्को गल्ती गरे झन् ठूलो मूल्य चुकाउने छन्,’ प्रचण्डले भने । प्रचण्डले राजावादीहरु कुकुरको पुच्छरजस्तो भएका भन्दै व्यंग्य गरे ।

‘राजावादीको आजको तीनकुनेको सभा मण्डले अराजकताको पराकाष्ठका रुपमा परिणत भएको छ,’ प्रचण्डले भने, ‘त्यहाँ प्रहरीमाथि आक्रमण गरिएको छ, घरहरुमा आगो लगाइएको छ, उनीहरु दुईचार जना मान्छे मारेर आतंक सिर्जना गर्ने प्रयास गर्दैछन्, तर सफल हुँदैनन् ।’

प्रतिक्रिया