कम्युनिस्टबीच एकताको प्रयास जारी छ : विप्लव

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल मोरङद्वारा बिहीबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उनले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिएका छन् ।
महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चासमेत गरे ।

मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि संकटमा रहेको बताउँदै उनले समाजवादको लक्ष्य पूरा गराउन पुँजी निर्माण हुनुपर्छ भने । महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोगगारका विषयमा चुकेको, पुँजी निर्माण र बचतको ज्ञान बिस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको धारणा राखे ।
उनले माओवादी, समाजवादी र सबै कम्युनिस्टबीच एकताको प्रयास तथा छलफल जारी रहेको जानकारी दिँदै १५ चैतमा समाजवादी मोर्चाले गर्ने भेला तथा प्रदर्शन शान्तिपूर्ण हुने उल्लेख गरे ।

प्रतिक्रिया