घरमा लाेडसेडिङ हुँदैन, पुगेसम्म उद्योगलाई पनि दिन्छौँ : कुलमान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग ऊर्जामन्त्री दीपक खड्काको सम्बन्ध चिसिएको विषय प्रष्ट रूपमा बाहिर आएकै हो । एउटा सरकारी कार्मचारीमाथि विभागीय मन्त्रीले गरिरहेको व्यवहारप्रति उनकै पार्टीका नेताहरूले असन्तुष्टि जनाइरहँदा पनि मन्त्री खड्का रोकिएका छैनन् ।
ऊर्जा क्षेत्रका हरेक विषयमा निर्देशक घिसिङको नाम जोडेर ‘अब्जेक्न’ जनाउने खड्का नेपालमा लोडसेडिङ अन्त्य भएको जस सरकारी संयन्त्र र आफ्नै कर्मचारीलाई दिनेभन्दा पनि भारतलाई दिइरहेका छन्, त्यो पनि पटक–पटक । संसद्को रोस्ट्रममा उभिएर ‘लोडसेडिङ अन्त्यका लागि भारतलाई धन्यवाद’ भनेका खड्काको निकै आलोचना पनि भयो । तर, कुलमान घिसिङको पछि हात धोएर लागेका खड्का अझै तुजुक देखाउनमै व्यस्त छन् ।
उनै खड्काले बुधबार राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जबाफका क्रममा दिएको अर्को अभिव्यक्तिले अर्को विवाद निम्त्याएको छ । बुधबार राष्ट्रियसभामा मन्त्री खड्काले अब घरघरमै लोडसेडिङ हुन सक्ने बताए । त्यति मात्र होइन, उनले कार्यकारी निर्देशक घिसिङमाथि कटाक्ष गर्दै फेरि एक पटक भारतबाट विद्युत् आयात गरेका कारण नेपालमा लोडसेडिङ अन्त्य भएकाले त्यसको जस भारतलाई दिनुपर्ने दोहोर्याए ।
मन्त्रीको तहमा उनको उक्त अभिव्यक्ति निकै तल्लो स्तरको र गैरजिम्मेवारपूर्ण हो । लोडसेडिङ भइहाल्ने अवस्था सिर्जना भए पनि लोडसेडिङ हुन नदिन आफूले गरेको पहलका बारेमा जानकारी गराउनुको सट्टा संसद्मै लोडसेडिङको ढ्यांग्रो ठटाएर खड्काले इन्भर्टर र जेनेरेटरको ‘मार्केटिङ’ गरे ।
‘अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइराखेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझमा लोडसेडिङ घरमै पनि हुने अवस्था छ,’ उनले भने, ‘अहिले हामीलाई बत्ती पुग्या छैन, लोडसेडिङ छ । हिजो पनि थियो, आज पनि छ । म दाबीका साथ भन्न सक्छु ।’
देशको ऊर्जामन्त्रीका रूपमा उनको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण देखिन्छ । कुलमानलाई असफल देखाउने एक सूत्रीय राणनीतिमा लागेका खड्काले आफ्नो हैसियत नै बिर्सिएको उनकै पार्टीका एक नेताले बताए ।
घरमा लाेडसेडिङ हुँदैन, पुगेसम्म उद्योगलाई पनि दिन्छौँ : कुलमान
मन्त्री खड्काले संसद्मै उभिएर लोडसेडिङ हुन्छ भन्दै गर्दा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने त्यसको काउन्टरमा उत्रिएका छन् । कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने घिसिङ बताउँछन् । मन्त्री खड्काले ‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ’ भन्दै गर्दा त्यसको काउन्टरमा घिसिङले अहिले लोडसेडिङ नभएको र अब पनि नहुने बताए ।
मन्त्रीले भनेजस्तै लोडसेडिङ नहुने र त्यस्तो हल्लामा नलाग्न भन्दै घिसिङले भने, ‘लोडसेडिङ हुँदैन, त्यसको तयारीमा हामी छौँ । भारतबाट रातको समयमा बिजुली नआउँदा हाम्रा पावर प्लान्टहरू चलाउने तयारी गरिरहेका छौँ ।’
प्रतिक्रिया