जनकपुरमा टाटाको ३ नयाँ गाडी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनकपुरधाममा ३ नयाँ गाडीहरू सार्वजनिक गरेको छ । सोमबार जनकपुरधामस्थित गिरिजा अटोमोबाइलमा कर्भ इभी, नेक्सन के–३ र टाटा सफारी सार्वजनिक गरिएको हो ।

लन्च कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङको प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जनकपुरधाममा टाटाका नयाँ गाडीहरू लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । अब ग्राहकहरूले टाटाको इभीहरू २७ लाखदेखि ५६ लाखसम्ममा रोज्न पाउने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहेका ग्राहकले टियागो इभी रोज्न सक्ने धारणा राखेका थिए ।

अनुकूल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के–३ इभी रोज्न सक्ने उनको भनाइ थियो । प्रिमियम एसयुभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरूका लागि सार्वजनिक भएको कर्भ इभी टप भेरिएन्ट उपयुक्त हुने साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ सुविधाहरूको फाइदा उठाउन सक्ने उनले जानकारी गराए ।

कार्यक्रममा बोल्दै गिरिजा अटोमोबाइलस्का सञ्चालक गुड्डु जैनले जनकपुरमा टाटा इभीको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभी र नेक्सन के–३ इभीले त्यो आवश्यकता पूर्ति गरेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया