काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनाको अवधिमा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव, माघ मसान्तसम्मको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले प्राप्त गर्ने विप्रेषण बढेको छ भने विदेशी मुद्रा सञ्चिती पनि उच्च बिन्दुमा पुगेको छ । यस्तै, चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।
चालु आवको पछिल्लो सात महिनामा रु ९ खर्ब विप्रेषण भित्रिएको छ । यो अवधिमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई रु ९ खर्ब ५८ करोड पुगेको छ । यही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ ।
यस्तै, चालु आवको सात महिनामा चालु खाता रु एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ८३ करोड रहेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, समीक्षा अवधिमा रु सात अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
गत माघ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति रु दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिनामा १६ दशमलव एक प्रतिशतले वृद्धि भई समीक्षा अवधिमा रु २३ खर्ब ६९ अर्ब आठ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति सात महिनामा १३ दशमलव नौ प्रतिशतले वृद्धि भई रु २१ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३७ दशमलव एक प्रतिशतले वद्धि भई रु दुई खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।
हाल मुलुकसँग कायम विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्रै देखिएको हो ।
राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः छ दशमलव ५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा धेरै १२ दशमलव ८० प्रतिशत देखिएको छ । त्यस्तै, दाल तथा गेडागुडीको नौ दशमलव ०६ प्रतिशत, तरकारीको सात दशमलव ५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव ३६ प्रतिशतले बढेको छ ।
मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने दुई दशमलव ९८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १० दशमलव ९१ प्रतिशतले बढेको छ । त्यसैगरी कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव ३६, मदिराजन्य पेयपदार्थको पाँच दशमलव ०८, यातायातको पाँच दशमलव ०१, सुर्तीजन्य पदार्थको चार दशमलव १० र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ०७ प्रतिशतले बढेको छ ।
यो अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक चार दशमलव ७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक तीन दशमलव ९६ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव १५, मधेश प्रदेशको तीन दशमलव ९१, बागमती प्रदेशको तीन दशमलव ३५, गण्डकी प्रदेशको तीन दशमलव ४०, लुम्बिनी प्रदेशको चार दशमलव १६, कर्णाली प्रदेशको चार दशमलव ०५ र सुदूरपश्चिम प्रदेशको चार दशमलव ७१ प्रतिशत रहेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, तराईको चार दशमलव २५, पहाडको चार दशमलव ११ र हिमालको पाँच दशमलव २१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया