ललितपुर । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरमा २ दिने महिला उद्यमी मेला सुरु भएको छ । मंगलबजारस्थित हौगल टोलमा ललितपुर महानगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु भएको उद्यमी मेलाको उद्घाटन महानगरकी कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेकी हुन् । मेलामा महिलाको उद्यमशीलतामा उत्पादन भएका हस्तकलाका सामान, ढाकाका लत्ताकपडा, नेवारी खानाका परिकार, अचार, साबुनलगायत वस्तु बिक्रीमा राखिएका छन् ।
महानगरकी कार्यवाहक प्रमुख बज्राचार्यले अहिलेको आधुनिक समयमा हरेक महिला श्रमका माध्यमबाट सक्षम र सशक्तीकरणमा सफल हुनुपर्नेमा जोड दिइन् । उनले भनिन््, ‘अब महिलाले समान अधिकारको कुरा गर्ने मात्रै होइन, सबै महिला उद्यमी र अत्मनिर्भर हुन सक्नुपर्छ, आफू सक्षम भए अधिकार भनेर माग्नु पर्दैन, हामी पनि सक्षम छौँ भनेर देखाउनुपर्छ, आफूभित्र भएको क्षमता र गुणलाई चिनेर सक्षम र सशक्त हुनसक्नुपर्छ ।’ उनले महानगरको महिला उद्यमशील विकास गर्दै ५ वर्षभित्र सबै महिलालाई उद्यमी बनाउने सोच रहेको जानकारी गराइन् ।
महानगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा–९ का अध्यक्ष राजु महर्जनले महानगरभित्र ४७० महिला समूह रहेको जानकारी गराउँदै हरेक वडाले महिला उद्यमशीलताका लागि बजेट विनियोजन गरिरहेको बताए । उनले वडास्तरीय महिला सञ्जालले गरेका कामले आर्थिक सबलीकरण र उद्यमशीलता प्रवद्र्धनका लागि प्रशंसनीय काम हुँदै आएको जानकारी गराए ।
वडा–१९ मा अध्यक्ष राजेन्द्र महर्जनले नेपालको इतिहासमा महिलालाई शक्तिका रुपमा पुज्ने सभ्यता रहेको स्मरण गर्दै महिलाविनाको संसारको परिकल्पना हुन नसक्ने बताए । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहन्यायाधिवक्ता ममता श्रेष्ठले महिला शिक्षित हुँदा सबै परिवार शिक्षित हुने भन्दै अधिकार, समानता र सशक्तीकरणको कुरा गर्दा शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
नेपाल घरेलु तथा साना उद्यमी महासंघ महानगर समितिका संयोजक शैलेन्द्र श्रेष्ठले उद्यमशीलता विकासमा महिलालाई उत्प्रेरित गर्न महानगरलाई आग्रह गर्दै साना उद्यमीको हितमा महासंघ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिलालाई उच्च मनोबलका साथ उद्यमशीलतामा लाग्न आग्रह गरे । कार्यपालिका सदस्य एवं वडा–१६ का सदस्य वविता श्रेष्ठले महिलाले घरेलुु उत्पादनदेखि उद्यमशीलतासम्म पु¥याएका योगदान महत्वपूर्ण छ भन्दै आर्थिक रूपमा महिला सम्पन्न नभएसम्म सशक्तीकरण हुन नसक्ने बताइन् ।
प्रतिक्रिया