सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबालीको उत्पादन घट्न थालेको छ । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुख्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषक बताउँछन् । स्थानीय महिला पासाङ ल्हामु शेर्पाले भनिन्, ‘पहिले यहाँ उवा, फापर प्रसस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ । पानीको अभाव, माटोको उर्वराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ । खेती लगाउँदा पनि खासै पहिलाजस्तो उब्जाउ हुँदैन त्यही भएर हामीले खेती लगाउनै छोड्यौँ ।’
सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । विशेष गरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बू क्षेत्रका नागरिकहरू स्थानीय खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन् ।
यसका कारण अझ बढी महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । पोषणको अभावले गर्भवती महिलाको स्वास्थ्य झन् कमजोर बन्ने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् । सन्तुलित आहारको कमीले नवजात शिशुहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् ।
उनका अनुसार स्थानीय उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण पुराना खेतीप्रणाली असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले यहाँका महिलाहरू थप समस्यामा परेका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले केही समयअघि अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर विश्व औसतभन्दा दोब्बर छ, जसका कारण हिउँ पग्लने गति तीव्र बनेको छ । जसका कारण हिमाली क्षेत्रमा खेती उब्जाउमा भारी गिरावट आउँदै गएको खुम्बूको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाको भनाइ छ ।
उनले भने, ‘मलाइ नै थाहा हुँदासम्म पनि यो वरिपरि सबै ठाउँमा लेकाली जातको फापर धेरै खेती हुन्थ्यो तर अहिले हेर्नुस् त सबै जग्गा बाँझै छ, खेती हुनै छोडेपछि किन दुःख मात्रै गर्नु भनेर अब त लगाउन पनि छोड्यौँ हामीले, खै थाहा हुनेले यो जलवायु परिवर्तनको असर हो भन्छन्, तर यसलाई हामीलाई धेरै समस्यामा पारेको छ ।’ सगरमाथा आरोहीले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट, तथा अन्य गैरजैविक फोहोरले हिमनदीमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ ।
सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएसँगै यहाँको वातावरणमा भने प्रतिकूल असर परेको छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार पालिका तथा सरकारले जतिसुकै कडाइ गरे पनि आरोहीहरूले केही मात्रामा भए पनि यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्, जसले वातावरणीय असन्तुलन निम्त्याइरहेको छ । लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठले भने, ‘सधैँ चाँदीझैँ टल्कने हिमालहरू अहिले काला पहाडमा परिणत भइरहेका छन् । आरोहीहरूले छोडेका फोहोर, औद्योगिक धुलो–धुवाँ, र विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्र थप जोखिममा परेको छ ।’
बाहिरी आँखाले हेर्दा हिमाल कालो हुँदै गएको मात्रै देखिए पनि जलवायु परिवर्तनले हिमाली क्षेत्रका नागरिकहरूको दैनिकीमा नै परिवर्तन ल्याएको छ । समयमा हिमपात नहुँदा जमिन सुक्खा हुँदै गएका छन् भने गर्मी हुने याममा जाडो हुने र चिसो समयमा गर्मी महसुस हुने गरेको स्थानीय अमृत मगरले बताए । यसका कारण खेतीबाली तथा पौष्टिक तत्वको आपूर्तिमा नै असर परेको उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद डा.राजन थापाका अनुसार, ‘शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ ।’ हिमाली क्षेत्रमा पानीको स्रोत सुकेको, हिउँ पग्लदै गएको तथा मौसमी चक्र गडबड भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
महिला खाद्य संकटको सिकार बन्दै गइरहेका छन्, जसले उनीहरूको आर्थिक तथा सामाजिक अवस्था कमजोर बनाइरहेको छ । जलवायु परिवर्तनका असर रोक्न सामूहिक प्रयास आवश्यक रहेको अभियान्ता बताउँछन् । स्थानीय तहका अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थाले जलवायु परिवर्तन न्यूनीकरणका लागि विशेष योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ ।
परम्परागत बालीहरू संरक्षण गरी जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली विकास गर्नुपर्ने विज्ञहरूको तर्क छ । उनीहरूका अनुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक छ । साना किसानलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपायहरू खोज्ने तथा जैविक कृषिलाई प्रवद्र्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताए ।
टनेल खेती, जैविक मलको प्रयोग र पारम्परिक ज्ञानमा आधारित कृषि प्रविधि प्रयोग गर्न थालेका छन् । तथापि यी उपायहरू दीर्घकालीनरूपमा पर्याप्त नहुन सक्ने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने विज्ञहरू बताउँछन् । कृषि उत्पादनमा आएको गिरावट, खाद्य असुरक्षा, पोषणको अभाव र जलवायु परिवर्तनको दीर्घकालीन असरका कारण उनीहरूको स्वास्थ्य संकट गहिरिँदै गएको छ । स्थानीय तथा अन्तर्राष्ट्रिय निकायहरूले एकजुट भएर समाधानका उपाय खोज्न आवश्यक रहेको विज्ञहरू बताउँछन् । (रासस)
प्रतिक्रिया