शुभेच्छा, सुविचारणाले नवीनतामा जोड दिन्छ । आशा, ऊर्जा र चेतनाको खोजी गर्छ । नवीन कार्यका लागि उत्प्रेरित गर्छ । मान्छेमा निहित मानवीय धर्मका साथै श्रम, साधना एवं सिर्जनामा कलात्मक परिष्कार तथा आत्मिक र सामाजिक रूपान्तरण खोज्छ । निराशै निराशा फैलिरहेको वर्तमान विषाक्त समयमा ललितकलाको पुनर्जागरण, नेपाली ललितकला र कलाकारको खोजी, दूरदराजमा रहेका नेपाली मौलिक रैथाने कलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउनलाई मद्दत र नेपाली कलाको संरक्षण, संवर्धन, प्रवर्धन, विकास एवं कला पर्यटनको अभिवृद्धिका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले एउटा अभियान थालेको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावका साथ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशका सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको थालनीसमेत गरिसकेको छ ।
प्रतिष्ठानले आफ्नो सभाबाट अख्तियार गरेको अनुसन्धान, सिर्जना र सम्मानको रणनीतिलाई मूर्त रूप दिनका लागि आफ्ना गतिविधिहरूलार्ई केन्द्रिकृत मात्र नगरी प्रदेश सरकार, स्थानीय तह (गाउँपालिका/नगरपालिका)सम्म पुर्याउने अभियान नै थालेको छ । प्रदेश र स्थानीय तहमा स्थापना भएका प्रज्ञा–प्रतिष्ठान, परिषद्, समिति तथा कला–साहित्यसम्बन्धी विभिन्न संघ–संस्थासँग सहकार्य र समन्वय गर्दै दूरदराजसम्म आफ्ना कार्यक्रम लैजाने प्रयत्न गरेको छ । प्रतिष्ठानले आफ्ना ९ ओटा विभाग र ७ ओटा प्रदेश समन्वय समितिमार्फत कार्यक्रमहरूलाई अगाडि बढाएको पाइन्छ । त्यसैसँग जोडिएर आएको छ, ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी’ ।
प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका कलाकृति मात्र केन्द्रमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने व्यवस्था देखिन्छ । त्यसैले पनि प्रादेशिक ललितकला प्रदर्शनीको महत्व रहेको छ । नेपाली ललितकलाका क्षेत्रमा राष्ट्रिय प्रदर्शनीलाई ललितकला क्षेत्रको उत्सवका रूपमा लिइन्छ । यहाँ सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भएका कलाकृतिका विषयवस्तुमा आधारित भई छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ ।
कला मानवीय अन्तश्चेतनाका लालित्यमय अभिव्यक्ति हो । यो विचार, चेतना र सिर्जनशीलताको पनि द्योतक हो । यसले मानिसलाई सिर्जनशील र गतिशील बनाउन सहयोग गर्दछ । समाज, संस्कृति र कला एकअर्काका परिपूरक हुन् । तसर्थ कला, समाज र संस्कृतिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अतः प्रदर्शनीमा समाजका सांस्कृतिक, राजनीतिक, धार्मिक, आर्थिक, सामाजिक विविध पाटा, मानव जीवनदर्शन र संस्कृतिका विविध चिन्तनलाई ललितकलाका चित्र, मूर्ति, वास्तुकला, लोककला, शिल्प–हस्तकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाका माध्यमबाट कलाकारहरूले प्रस्तुत गरेका छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने कैलाली जिल्लाको धनगढीमा रहेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानमा २०८१ फागुन ८–१२ गतेसम्म चलेको सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा प्रतियोगिताका लागि १२० भन्दा बढी कलाकारको सहभागिता थियो । प्रदर्शनीमा ५२ जना कलाकारका ५२ ओटा समसामयिक चित्रकला, ६ जना कलाकारका ६ ओटा समसामयिक मूर्तिकला, ९ जना कलाकारका ९ ओटा लोककला, ३८ जना कलाकारका ३८ ओटा शिल्प–हस्तकला, १५ जना कलाकारका १५ ओटा बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाका कलाकृति प्रदर्शनीमा रहेका थिए । अर्थात् मूर्ति, चित्र, लोककला, शिल्पहस्तकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलातर्फका कला फोटोग्राफी, कार्टुनका १२० जनाभन्दा बढी कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलालगायतका जिल्लाका कलाकारको सहभागिता रहेको प्रदर्शनीमा लैंगिक दृष्टिकोणले महिला र पुरुष दुवै कलाकारको उल्लेख्य सहभागिता थियो ।
सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीमा आफ्ना कलाकृति/सिर्जनामार्फत कलाकारले विविध विषयका भावलाई उजागर गरेका थिए । मूलतः ग्रामीण जीवन, पर्यावरण, संस्कार, संस्कृति, जनजीवन, विचार, चेतना, स्वतन्त्रता, महिला हिंसा, नारी शक्ति, सिर्जना, सृष्टि, मानव जीवनका रहस्य, आध्यात्मिक चेतना, कृषि, धर्म, दर्शनलगायतका भावलाई कलाकारले विविध माध्यम (रङ, रेखा, क्यानभास, टेराकोटा, माटो, सेरामिक्स, ढुंगा, पेन्सिल, पेपर) बाट उजागर भएका थिए ।
समसामयिक चित्रकलातर्फ कलाकारले मानवीय जीवनको महत्ता, मानव जीवनको रहस्य, जीवनबोध, मानवता, सिर्जनशीलता एवं पारस्परिक सद्भाव एवं प्रेममा देखिएको क्षयीकरण र यान्त्रिक पैसामुखी दिनचर्यालाई चित्रण गरेका थिए । दक्षिण एसियाली मुलुकमा पाइने थारू सांस्कृतिक जनजीवनमा प्रचलित शान्ति, समृद्धि र सुखका प्रतीक बहुरंगी पक्षी मयूरको कलात्मक चित्रण प्रदर्शनीमा हेर्न पाइन्छ । मयूरको प्वाँखलाई हिन्दू धर्ममा भगवान् कृष्णको प्रतीकका रूपमा समेत लिइन्छ । यसबाट मयूरसँग जोडिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक चिन्तन मुखरित भएको देखिन्छ । पर्यावरणीय स्वस्थता, सौन्दर्ययुक्त रमणीय ग्रामीण स्थल, वास्तुको चित्रण, प्राकृतिक सौन्दर्य र भौतिक विकासको समन्वय, जल, जमिन, हिमाल, माटोको चित्रण, स्वस्थ रक्त–श्वेत टाटेपाटे हरिण, पर्यावरणीय स्वस्थता, प्राकृतिक हराभरा र हरिणको निर्भयता, मानवीय जीवनमा प्रेमको भूमिका र प्रेमले सफलता प्राप्त गर्न नसक्दाका कठिनाइको पनि उजागार गरिएको थियो ।
त्यस्तै ज्ञानभूमि जनकपुरका राजर्षि जनकको चित्रण, मान्छे र प्रकृतिको सहअस्तित्व, भौतिक विकासले पर्यावरणमा पारेको प्रभाव, पर्यावरणीय संरक्षणमा मानवीय दायित्व, वनदेवता, हिन्दू, बौद्ध धर्मदर्शनका चिन्तन र ती धर्मका देवीदेवता (गणेश, बुद्ध आदि), प्राकृतिक ग्रामीण स्थल, हिमालीय पर्यावरण, जीवनको परमानन्द, आत्मसन्तुष्टि, सिद्धि, खुसी, ध्यान, सुखको खोजी दुःखको निवृत्ति, हिमाल, पहाड र तराईको सौन्दर्य, लैंगिक पहिचान, नारी शक्ति, महिला सशक्तीकरण, ग्रामीण महिलाका जीवनभोगाइ, शैव दर्शन–चिन्तन र त्यससँग जोडिएको नेपालभूमि र ज्ञानपरम्परा, महिला र फूलको सौन्दर्य, चेतना र सृष्टिगत तुलना, घोडा र मानव जीवनपद्धति, प्रकृति, चन्द्रमा नदी, ताल, ताराग्रहलाई पनि समेटिएको थियो ।
त्यसैगरी थारू जनजीवन, बालश्रम र तराईको जनजीवन, बुद्ध धर्मदर्शन, स्वयम्भूको चित्रण, नेपाली ग्रामीण जनजीवन, शक्ति, चेतना, द्वैधता, आत्मा, ऐनाका बिम्बमा मानवीय र चिन्तन दृष्टिकोण, महिला हिंसा, अन्याय, शोषण, दमन, अन्याय, उत्पीडन, विभेद विरुद्धको क्रान्तिको प्रवाह, आध्यात्मिक रूपान्तरण, महिला हिंसा र असुरक्षा, नारीप्रतिको सामाजिक दृष्टिकोण, समाजमा नारीले भोग्नुपरेका पीडा, सांस्कृतिक पर्यटकीय स्थल दरबार स्क्वायर, संघर्ष, आशा र मुक्तिको चाहना, समयको गतिशीलता र मानवजीवन पनि कलाकारका विषयमा परेका थिए ।
सुदूरपश्चिममा प्रचलित छलिया नाच, राष्ट्र विषयक प्रेम चित्रित नेपाली सांस्कृतिक विरासतका राष्ट्रिय झन्डा, पक्षी, हिमाल, पहाड, तराई वेशभूषा, बाजा आदि, फूलको सौन्दर्य, ग्रामीण जनजीवन (कृषि, श्रम, उत्पादन, हलोजुवा, गोरु, आतिथ्य, व्यवहार, खानपान, जीवनशैली, संसारप्रतिको दृष्टिकोण), ईश्वरीय द्वैधता र भिन्न सांस्कृतिक जनजीवन, प्रकृतिका विविध विषयवस्तुहरूलाई कलाकारले चित्रण गरेका थिए ।
मूलतः कलाकारले आफ्ना सिर्जनामार्फत मानवजीवनको मूल्यबोध, पर्यावरणीय संरक्षणमा जोड, ग्रामीण जीवनशैलीप्रतिको मोह, थारू संस्कृति र जनजीवन, सिर्जना, श्रम, कृषि उत्पादन, संसारप्रतिको दृष्टिकोण, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा जोड दिएका छन् ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाअन्तर्गतको उपविधा कार्टुनतर्फ एक मात्र कलाकृति प्रदर्शनीमा समावेश भएको थियो ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाको फोटोग्राफी उपविधातर्फ कलाकारहरूले नेपालको पर्यावरणीय सौन्दर्य, प्रकृति, जीव, सुदूरपश्चिमेली जनजीवन, कला–सांस्कृतिक वैभव, थारू संस्कृति, थारू जनजीवन, सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलहरू, सुदूरपश्चिमको पर्यावरणीय सौन्दर्यमा भौतिक विकासले थपेको खुसी आदिलाई चित्रण गरी कला पर्यटनको केन्द्रका रूपमा सुदूरपश्चिमलाई चिनाउन खोजेको देखिन्छ ।
मूलतः कलाकारहरूले नेपाली पर्यावरणीय सौन्दर्य र त्यससँग जोडिएका हिमाल, पहाड, तराई, वनजंगल, जीवजन्तु, हावापानीको चित्रण गरेका थिए । ग्रामीण जनजीवलाई देखाएका छन् । श्रम, सिर्जना, मिहिनेत, प्रेमको पर्यायका रूपमा आमालाई लिइन्छ । आमाको जीवन संघर्ष पनि चित्रणका समेटिएको विषय हो । सुदूरपश्चिममा प्रचलित जामा, घाँघर लगाएर हातमा तरबार लिएर नाचिने सांस्कृतिक छलिया नाचको जीवन्त चित्रण गरिएको थियो । सुदूरपश्चिममा आफ्नै छुट्टै मौलिक अस्तित्व र पहिचान रहेको यो नाच विशेष गरी विवाहमा नाचिन्छ ।
प्रदर्शनीमा थारू संस्कृति, जनजीवन, वेशभूषा, बाजा, गाजा, पहिरनको चित्रण भएको थियो । ग्रामीण जनजीवन र त्यसको जगमा रहेको श्रम संस्कृतिको चित्रण पनि छुट्ने कुुरा भएन । दोधारा चाँदनीको भौगोलिक, पर्यावरणीय सौन्दर्य र कालिका, मालिकाको चित्रण भएको थियो । धार्मिक, सांस्कृतिक, पर्यटकीय बाजुराको बडिमालिकाको चित्रण भएको थियो । नेपाली भूगोल, नदीको जलप्रवाह र त्यसमा पुलको भूमिकालाई देखाइएको थियो । समग्रमा कला फोटोग्राफी उपविधामार्फत कलाकारले सुदूरपश्चिमेली जनजीवन, संस्कृति, ग्रामीण जनजीवन, भौगोलिक पर्यावरणीय सौन्दर्य, श्रमसंस्कृतिलाई देखाएका थिए ।
नेपाल बहुजाति बुहभाषी मुलुक हो । यस भूमिमा विभिन्न जातजाति, भाषाभाषीका विभिन्न कला–संस्कृतिहरू विकसित भएका छन् । कला र संस्कृति अभिन्न हुने भएकाले यी दुवै एकअर्काका परिपूरक हुन् । लोककला लोकको जनजीवनसँग जोडिएको हुन्छ अर्थात् समाजका धार्मिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक विविध विषयवस्तु तथा मानवीय जीवनपद्धति, संस्कार, संस्कृति, आस्था, मिथक आदिका विषयवस्तु लोककलामा जोडिन्छन् । कलागत सौन्दर्य, मौलिकता र पहिचान लोककलाको जगका रूपमा देखिन्छ । तसर्थ यो मौलिक र तत्समुदायसँग अत्यन्त निकट रहेको हुन्छ । सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा थारू लोककलाले विशेष स्थान ओगटेको देखिन्छ । त्यसमा पनि कृष्ण जन्माष्टीमा बनाइने अस्टिम्की कलाले स्थान लिएको थियो । प्रस्तुति, शैली, शिल्प र माध्यममा केही भिन्नताहरू देखिए तापनि यहाँ प्रस्तुत थारू लोकजीवन, संस्कृति र परम्परासँग जोडिएको अस्टिम्की लोककलामा सृष्टि प्रक्रियालाई केन्द्रमा राखी थारू जनजीवन, कृषि, पर्यावरण, जलचर, स्थलचर, जीवजन्तु पक्षी, औजार, सूर्यचन्द्रादिको चित्रण भएको देखिन्छ । यी अस्टिम्की लोककलाले थारू संस्कृतिलाई जीवन्त बनाएको छ र थारू जनजीवन र सृष्टिप्रक्रियाका अनुसन्धाताका लागि यी लोककलाले विशेष अर्थ राख्ने देखिन्छ । सो प्रदर्शनीमा राखिएको अन्तर्मनका रहरहरू शीर्षकको मित्थु थारूको लोककलामा भने थारू जनजीवनका विषय मात्र समावेश नगरी शैली, शिल्प र विषयवस्तुमा केही परिष्कार गरी समृद्ध राष्ट्र खुसी जनताको समेत परिकल्पना गरिएको पाइन्छ । उनले राष्ट्रप्रेमलाई केन्द्रिकृत गर्दै सामाजिक जनजीवन, कला, संस्कृति, पर्यावरण, मानवता, ज्ञान, चेतनालाई आफ्नो सिर्जनामा प्रस्तुत गरेका थिए । प्रदर्शनीमा थारू लोककलाको संरक्षणमा महिला कलाकारको भूमिका अहं देखिन्थ्यो ।
प्रदर्शनीमा शिल्प–हस्तकलाका कलाकारको उल्लेख्य सहभागिता देखिन्छ । सुदूरपश्चिमेली समाजमा विकसित एवं पल्लवित भएका मौलिक शिल्प–हस्तकलाका विभिन्न शैली, शिल्प र ज्ञान पारिवारिक एवं सामाजिक रूपमा पुस्तान्तरण भएका छन् । सौन्दर्य एवं जीवनोपयोगिताका दृष्टिले विविध शिल्पहस्तकलाको सिर्जना हुने गरेको देखिन्छ । शिल्प–हस्तकलासँग मानव जीवनको आवश्यकता र मानवको चेतनशील, सिर्जनशील, रचनात्मक पक्ष जोडिन्छ । सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीमा पनि कपडाद्वार निर्मित थैली, झ्याली आदिका कलात्मक फुन्ना देख्न सकिन्थ्यो । डेल्वा, जबिया ढकिया, घाँगरिया, घाँघर, झापन, बिँडा, फेरुवा, बेर्रा, डलिया, चोलिया, नरा, थारू वेशभूषा, लेँहगा, चिँरैया, बोत्तल आर्ट, हलो, जुवा, ठेकी, बेना, पौवा, झोपा, डिलिया, ढिकी तथा काँस, बाँस, कागज, वस्त्र एवं अन्य मिश्रित शिल्पहस्तकलाहरू रहेका थिए ।
मूलतः मान्छेका सिर्जनशील, चेतनशील, रचनात्मकता एवं सौन्दर्य र मानवजीवनका उपयोगितासँग जोडिएर शिल्पहस्तकलाको सिर्जना भएको देखिन्छ । यी हाम्रा संस्कृति, संस्कार, जनजीवन, कृषि, उत्पादन, श्रम, खानपान, दिनचर्यासँग जोडिएर आएका छन् । मुख्य गरी शिल्पहस्तकला देशको अर्थतन्त्रसँग सोझो सम्बन्ध राख्दछ । हाम्रा यी मौलिक शिल्पहस्तकलाद्वारा सीप, सिर्जनालाई श्रम र उत्पादनसँग जोडी अर्थतन्त्रमा सकारात्मक योगदान दिन सकिन्छ ।
त्यसैगरी पर्यावरणीय स्वस्थताका हिसाबले पनि आजको विश्वबजारमा पर्यावरणमैत्री नेपाली यी शिल्पहस्तकलाजन्य सामग्रीलाई ब्रान्डिङ गर्नुपर्ने देखिन्छ । सुदूरपश्चिममा शिल्पहस्तकलाका कलाकारहरूको उल्लेख्य सहभागिता रहे तापनि यी शिल्प–हस्तकलाका ज्ञान, सीप, शैलीलाई पुस्तान्तरण गर्नु वाञ्छनीय देखिन्छ । यी कलाका ज्ञान, सिप, शैली, शिल्पलाई पुस्तान्तरण नगर्ने हो भने हाम्रो मौलिक रैथाने शैली, शिल्प र ज्ञान एवं संस्कृति नै जोखिम हुने स्थिति देखिन्छ । यसमा सरोकारी निकाय सजग हुनुपर्ने देखिन्छ । यससँगै हाम्रा यी मौलिक, व्यावहारिक, जीवनोपयोगी सीप, सिर्जना, शैली, शिल्प आदिलाई औपचारिक रूपमा विद्यालयमा पठनपाठन गराउनुपर्ने देखिन्छ ।
मानवीय सम्बन्ध, प्रेम, मानवीय कर्तव्य, मानवजीवनसँग जोडिएको सांस्कृतिक/साधन दिया, थारू संस्कृतिका देवताहरू, प्रेम, ममता, वात्सल्यबाट विमुख हुनुपर्दाको पीडा, प्राकृतिक प्रेम, मानवीय जीवनका रहस्य, पुनर्जन्म, धार्मिक, संस्कृति मान्यतासँग जोडिएको प्राकृतिक जनावर सिंहलगायतका विषयवस्तु प्रदर्शनीमा समसामयिक मूर्तिकलातर्फ समेटिएका छन् । ढुंगा, फाइबरग्यास, फाइबर, टेराकोटा आदि माध्यमबाट बनाइएका यी समसामयिक मूर्तिकलाले मानवजीवन, प्रकृति, संस्कृतिका विषयवस्तुलाई उठान गरेका छन् ।
प्रदर्शनीमार्फत कलाकारहरूले पर्यावरणीय संरक्षण, मावनजीवनका महत्ता, कला, संस्कृतिको महत्ता, ग्रामीण जनजीवन र भूगोल, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, हिन्दू, बौद्ध धर्मदर्शनका चिन्तन, थारू संस्कृति र जनजीवन, महिला सशक्तीकरण, शोषण, विभेद, अन्याय, अत्याचार विरुद्धको खबरदारी, श्रमसंस्कृति, कृषि, प्रेम आदिलाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए ।
प्रदर्शनीमा सिर्जनशील नवप्रतिभाको आशा लाग्दो ढंगको उपस्थिति छ, जसलाई सकारात्मक रूपमा हेर्नुपर्दछ । नेपाली मौलिक कलाको जगेर्ना, संरक्षण, संवद्र्धन, प्रवद्र्धन, कला पर्यटनको विकास र कलालाई सीप, सिर्जना, उत्पादन, रोजगार हुँदै अर्थतन्त्रमा सकारात्मक योगदान दिन, कलाको ज्ञान, सीप, शैली, शिल्पको पुस्तान्तरण, कला र कलाकारको खोजी, नवपुस्ता र अग्रजपुस्ताको सामञ्जस्य, कला शिक्षासम्बन्धी जागरण, कलाचेतका लागि सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८१ ले विशेष महत्त्व राख्ने देखिन्छ ।
प्रतिक्रिया