समान पेसा भएकी केटी खोजेर विवाह गर्नु भनिएको हो । लोग्ने डकर्मी छ भने स्वास्नीले कम से कम माटो मुछ्न सिकेको हुनुपर्दछ भन्ने शास्त्रको अभिप्रायः हो । सबैले गुनिलो पति वा गुनिलो पत्नी नै चाहन्छन् । तर शास्त्रले समान गुण हेर्नु भनेर स्पष्ट व्यवस्था गरिदिएको थियो । कुनै कुलतमा फसेको वा कुनै खोट भएको केटा वा केटीले आफूभन्दा बढी गुणको जीवनसाथी खोजेर विवाह गर्दा वैवाहिक जीवन सुखमय हुँदैन भन्ने शास्त्रीय भाव देखिन्छ । कतै कतै त यी कुरा खुलेरै लेखिएका पनि पाइन्छन् । व्यवहारमा पनि यही नै सत्य देखिएको छ ।
समय बदलिँदो छ । आजकल प्रायः वैदिक विवाह हुँदैन, गराइँदैन । टेलिभिजन वा चलचित्रको निर्देशन अनुसारको म्यारिज मात्र हुने गर्दछ । विवाहमा प्रयोग गरिने वैदिक मन्त्र र तिनको भाव विवाह गर्ने, गराउने प्रायः कसैलाई पनि थाहा छैन । समयले गर्दा विवाहका लागि अभिभावकले केटा वा केटी खोज्नुपर्ने अवस्थालाई आजकल शंकाको दृष्टिले हेर्न थालियो । अधिकांश युवायुवती आफ्नो लागि आफैँले जीवनसाथी रोज्न थाले ।
अर्थात् गान्धर्व विवाह मात्र अहिले प्रचलनमा आउन थालेको छ । विवाहका सबै विधिमा पुरोहित, ऋत्विज आदिको भन्दा बढी महत्व फोटोग्राफरको हुन थालेको छ । विवाहलाई इन्द्रिय र भौतिक सुखकारूपमा लिने प्रचलन बढ्दै गएपछि वैवाहिक जीवनमा पनि समस्याहरू बढ्दै जान थालेका छन् । बाबुआमाले खोज्न नपर्ने हुनाले सन्तानको विवाहमा अभिभावकले विचार गर्नुपर्ने कुरा अब केटा वा केटी आफैँले विचार गर्नुपर्ने समय आएको छ ।
भौतिक वा इन्द्रिय सुख मात्र विवाहको उद्देश्य हो भन्ने मानसिकताले गरिने विवाह पछिको वैवाहिक जीवन आजीवन सुखदायक भइरहन सक्दैन । यो सत्य देखिन पनि थालेको छ । त्यसैले यी कुरा नयाँ पुस्ताले मनन गर्नु पनि अत्यावश्यक छ । पहिला पहिला विधिपूर्वक गरिएका विवाह सबै सुखमय नै हुन्थे भन्ने कुरा पनि सत्य होइन । प्रारब्धमा भोग्न बाँकी कुरा रामले भए पनि भोग्नु पर्दछ, शिवले भए पनि भोग्नु नै पर्दछ । तर प्रारब्ध अनुकूल हुँदा यदि यस जन्ममा गरिने कर्म खराब भए भने वा त्यसमा केही त्रुटी भए भने वा मनमा धुकचुक रहिरहे त्यसले भविष्यमा भने समस्या लेराउँदछ नै ।
आजकल विदेशमा पिआर पाएको केटो वा केटी भनेपछि आँखा चिम्लेर छोरी वा छोरो दिइन्छ । यसका नकारात्मक असरहरू बिस्तारै समाजले भोग्न थालिसकेको छ । बाहिरबाट हेरेर वा सुनेर मात्र कुलको पहिचान हुन सक्दैन । कुनै पुरुष ग्राम्यधर्ममा संलग्न हुन सक्षम छैन भने अर्काकी छोरीको जीवन बर्बाद गर्ने अधिकार उसलाई छैन भन्ने शात्रीय मत देखिन्छ ।
यसै परिप्रेक्ष्यमा म आफूसँग भएका संकलनका आधारमा विवाह गर्दा विचार गर्नुपर्ने कुराहरूको शास्त्रीय मत पस्कन गइरहेछु । यी मतमा जेजति कुरा जसरी सम्भव हुन्छ पालना गर्नु उचित देखिन्छ । समयसापेक्ष नहुने कुरा पालना गर्नु नै पर्दछ भन्ने छैन । तर, आफ्नो जीवनसँग गाँसिएका कुरा पहिले नै विचार गर्नु आफ्नै लागि हितकर हुनेछ । आफूलाई पर्ने शारीरिक वा मानसिक पीडामा समाज तमासे मात्र हुन्छ त्यसैले हरेक सम्भावनाहरूको लागि पहिले नै केटा वा केटीले तयार हुन सिक्नु पर्दछ ।
एउटा प्रमुख कुरा बताउन आवश्यक ठान्दछु । जेजति नियम वा संस्कारका विधि हाम्रा शास्त्रमा छन् ती ‘तीनतिर समुद्रले घेरिएको हिमालय शृंखलाभन्दा दक्षिणतिर बस्ने मानिसहरूका लागि मात्र’ हो । अन्यत्र यी विधि र संस्कारको मूल मर्मले काम गर्दैन अर्थात् फल पाइँदैन । मनको सन्तोष मात्र हो । विवाह मात्र होइन आफ्ना कम खर्चिला भए पनि हरेक संस्कार बोझ बनाउँदै र अरूका संस्कार महँगा भए पनि सजिला बनाउँदै लगिएको छ । तैपनि लाजै नमानी हिन्दू वा सनातनी भन्न भने छाड्दैनौँ । अब शास्त्रमा भएका कुरा क्रमशः राख्न चाहन्छु ।
श्रीमनुस्मृतिका अनुसार ब्रह्मचर्याश्रमपछि गुरुको आज्ञा लिई स्नान गरी (गुरुकुलबाट) घर फर्की आफ्नो वर्णकी सुलक्षणा कन्यालाई द्विजले विवाह गर्नुपर्दछ । विवाह मातापट्टि असपिण्डी र पितापट्टि असगोत्री कन्यासँग गर्नु द्विजातिका लागि श्रेयस्कर हुन्छ । गाई, भेडाबाख्रा आदि धनसम्पत्तिले समृद्ध भए पनि विवाहका लागि निम्न संस्कारलाई उपेक्षा गर्नै, नपुंसक, वेद नपढ्ने, शरीरमा बाक्ला रौँ हुने, अल्काइका रोगी, क्षयरोगी, मन्दाग्नि, कमजोर पाचनशक्तिका रोगी, छारेरोगी, सेतोकुष्ठको रोगी र गलितकुष्ठको रोगीका कुलको परित्याग गर्नू भनी शास्त्रमा वर्णन गरिएको छ ।
त्यसैगरी हलुका रातो रंगकी, हुनुपर्ने भन्दा अधिक अंग भएकी, रोगी, धेरै रौँ भएकी, कर्कशा (मुखमुखै लाग्ने) र कैली कन्या विवाह नगर्नू । नक्षत्र, वृक्ष, नदी, दीप, ‘क’ आदि वर्गको अन्तिम अक्षरबाट सुरु हुने, चरा, सर्प, दूत वा नोकर अर्थ दिने र डरलाग्दो अर्थ दिने (दीना, पतिता आदि), दाजुभाइ नहुने वा पिताको अत्तोपत्तो नहुनेका साथ पनि विवाह नगर्नु किनकि आफ्नो पहिलो पुत्र दत्तकका रूपमा (ससुरालाई) दिनुपर्ने हुन सक्दछ । गठिलो र सुन्दर अंग, मधुर–प्रिय–रोचक नाम, हाँस वा हात्तीको चाल, पातला रौँ, सुन्दर–चम्किलो कपाल, मोतीका दानाजस्ता दाँत तथा कोमल र आकर्षक शरीर भएकी कन्यासँग विवाह गर्नु पर्दछ ।
श्रीमनुस्मृतिमा थप भनिएको छ । उत्तम कुलले प्रतिष्ठावृद्धिका लागि सधैँ उत्तम कुलसँगै सम्बन्ध गाँस्नु, निम्न कुलसँग कुनै प्रकारको नातासम्बन्ध नराख्नू । उत्तम कुलसँगको सम्बन्ध र अधम कुलसँगको दूरताले समाजमा सम्मान बढ्दछ । यसको उल्टो हुँदा श्रेष्ठ ब्राह्मण पनि कलंकित हुन पुग्दछ । रजस्वला भएकी बूढी कन्यालाई आजीवन घरमै राख्नु परे पनि गुणहीन केटाका साथमा तिनको विवाह नगर्नू । असभ्य आचरण, कठोर र तुच्छ वचन, निर्मम र क्रूर व्यवहार तथा शुभकर्म गर्नमा उदासीनता देखिएमा उसको कुलिनता ठिक छैन पतित कुल हो भनेर जान्नू ।
याज्ञवल्क्यस्मृतिको विवाहप्रकरणमा ब्रह्मचर्य व्रत खण्डित नगरी लक्षणकी स्त्री विवाह गर्नू भनिएको छ । पहिले टीका नलगाइएकी वा नभोगिएकी वा अविवाहिता, कोमल, सपिण्ड बाहिरकी र आफूभन्दा कम उमेर र उचाइकी, असाध्य रोग नलागेकी, दाजुभाइ भएकी, बेग्लै गोत्र र प्रवरकी, आमाबाट ५ र बाबुबाट ७ पुस्ता परकी, आमाबाबुको ५–५ पुस्तादेखि प्रख्यात, श्रोत्रिय र सम्पन्न कुलकी र शुक्र–रगतजन्य सेतो कुष्ठ आदि रोग नभएकी, यी गुणले युक्त कन्यालाई यिनै गुणले युक्त, सवर्ण, श्रोत्रिय, जवान, व्यावहारिक र जनप्रिय वरलाई प्रयत्नपूर्वक मर्दानापन राम्ररी जाँची कन्या विवाह गर्नू ।
याज्ञवल्क्यस्मृति, प्रायश्चितप्रकरणमा महापापीको संगत गर्नेको कन्या विवाह गर्नुपरे कन्याका बाबुलाई उपवास बस्न लगाई केही दाइजो नलिई विवाह गर्नू भनिएको छ । शंखस्मृतिमा विद्या–स्नानपछि आफ्नाभन्दा फरक प्रवर र गोत्रकी तथा आमाका ५ र बाबुका ७ पुस्ता परकी स्त्रीलाई विधिपूर्वक प्राप्त गर्नू भनिएको छ । त्यसैगरी गौतम स्मृतिमा गृहस्थले आफूजस्तै, अववाहिता, तरुनी, असमान प्रवरकी, पिताका ७ र माताको कुलका ५ पुस्ता परकी कन्या विवाह गर्नू भनी व्याख्या गरिएको छ ।
गौतमस्मृतिमा पुत्रहीन पिताले अग्नि र प्रजापतिका लागि यज्ञ गरी आफ्नी छोरी यो भनेर विवाह गर्नु कि यिनबाट जुन छोरो जन्मनेछ त्यो मेरो लागि हुनेछ । केही स्मृतिकारका विचारमा मनको संकल्प मात्रले पनि पुत्रीलाई पुत्रिकाको रूपमा दिन सकिन्छ । यो शंकाको कारण भाइ नभएका कन्यासँग विवाह नगर्नू भनिएको छ । व्यासस्मृतिका अनुसार स्नातक ब्रह्मचारी (पढेर विधिपूर्वक गृहस्थाश्रममा छिर्ने) ले गृहस्थाश्रममा प्रवेश गर्ने इच्छाले विवाहका लागि, निन्दा गर्न अयोग्य कुलमा जन्मेकी कन्याको प्रतिक्षा गर्नू ।
निरोगी, निर्दोष कुलकी, शुल्क दोषबाट मुक्त, समान वर्णकी, आफ्नो भन्दा फरक प्रवरकी, मातापिताका गोत्रभन्दा फरक गोत्रकी, पहिले विवाह नगरिएकी, फुर्तिली, शुभ लक्षणकी, अधोवस्त्र लगाउने, गोरी र १० पुस्तादेखि प्रख्यात कुलकी कन्यासँग विवाह गर्नू । प्रख्यात, पुत्रवान्, सदाचारी, सज्जन र विवाह गरिदिन चाहने बाउकी छोरीलाई पाई धर्मअनुसार उनीसँग विवाह गर्नू । यस्ती कन्या अवस्था, विद्या र कुलमा आफू समान वरलाई विवाह गर्नू ।
कात्यायनस्मृतिमा यौवनका चिह्न अनुत्पन्न र लामा रौँ भएकी स्त्रीलाई विवाह नगर्नू । काकवन्ध्या (एक्लो सन्तान जन्माउने र त्यसपछि गर्भमा सन्तान नअडिने स्त्री) बाट उत्पन्न एक्ली कन्या (अयुगू) सँग विवाह नगर्नू भनि लेखिएको छ ।
वशिष्ठस्मृतिमा विद्या नष्ट हुँदा फेरि पाउन सकिन्छ तर जाति नाश हुँदा सर्वनाश हुन्छ । वंशको मर्यादाको आधारमा घोडाले त सन्मान पाउँदछ । त्यसकारण असल वंशको स्त्रीसँग विवाह गर्नू भनिएको छ । सम्बन्धविच्छेदको आँकडा हेर्दा देश भँड्खालोमा पर्न आँटेको संकेत दिन्छ । तर दुःख लाग्दछ कसैलाई पर्वाह छैन । बकुल्लाभगत दलाल विद्वानहरू मात्र सतहमा प्रसिद्ध भइरहेका हुनाले यस्ता गम्भीर समस्याका विषयमा दरिलो आवाज उठाउने मानिस नै पाउन कठिन छ । अध्ययन गर्ने समाजशास्त्री छैनन्, पुरा खाने मात्र छन् ।
वैवाहिक सम्बन्धमा मर्कामा पर्ने पछुताइरहेका छन्, कुनामा बसेर रोइरहेका छन् । हगिसकेपछि दैलो देख्नुभन्दा पहिला नै शास्त्रका कुरा मनन गरौँ । विवाह र यौनका सम्बन्धमा थुप्रिएका कसिंगर बढारी अध्ययन गर्नै बानी बसालौँ । अध्ययनले नै समाजले सही बाटो पहिल्याउनेछ । याद राख्नू, तस्कर, दलाल, माफिया तथा भ्रष्टाचारीको कुनै तन्त्र, जात, लिंग, दल र धर्म हुँदैन । पहिला यी कीराहरूविरुद्ध लडौँ । आआफ्ना राजनीतिक आस्थाकेन्द्रलाई पहिला निर्मम तरिकाले शुद्ध बनाउँ । यिनले सामाजिक सद्भाव मात्र होइन पारिवारिक सद्भावलाई समेत नराम्ररी बिथोलिरहेका छन् । त्यसपछि बल्ल सुनौलो बिहानी सुरु हुनेछ ।
अब विषयवस्तुतिर प्रवेश गरौँ,
आपस्तम्बगृह्यसूत्र, प्रथम पटल, तेश्रो खण्डमा वरवधू चयनका नियमका बारेमा यसरी बताइएको छ । पहिले नै अरू कसैसँग कुरो छिनिसकेकी, बन्धुले रक्षिता (दुश्चरित्र लुकाइएकी), डेरी वा पहेँलो आँखाकी, साँढेकोझैँ शरीर वा हिँडाइ भएकी, मलीन–नीलो रौँ की–कुरुप–तेजहीन–अती राम्री, कुप्री, ठूला र भद्दा तिघ्रा भएकी, तालुखुइले, खस्रो छाला–कम अंगकी (कुरुप वा कान्तिहीन), गर्भमै हुँदा आमाले बाबुको अस्थिसञ्चयन गरिएकी वा अर्को कुलमा उत्पन्न, भोगविलासप्रिया, खेलकुद र मनोरञ्जनप्रिया वा ऋतुस्नाता, बाच्छाबाच्छी र खेतको रेखदेख गर्ने, धेरै साथीसंगी हुने, बहिनी धेरै सुन्दर हुने र वरभन्दा जेठी कन्याको वरण नगर्नू ।
त्यसैगरी नक्षत्र, नदी र वृक्षका नामकी कन्या पनि वरण नगर्नू । नामको अन्त्यवर्ण अघि रेफ वा लकार हुने कन्या पनि वरण नगर्नू । यदि सामथ्र्यअनुसार सम्भव छ भने मिसाएर राखिएका ब्रीहि–जौ–अनेक थरी बीज–वेदीबाट लेराइएको माटो–खेतको माटो, गाईको गोबर तथा मसानको माटोमध्ये कुनै एक कन्यालाई छुन लगाउनू । यदि तिनले अन्तिमभन्दा अघिका कुनै वस्तु छुन्छिन् भने उनीसँग सम्बन्धित धनले समृद्धिको संकेत दिन्छ तर अन्तिम छोए कन्या वरण नगर्नू । (यो ऋद्धिपरीक्षा वैकल्पिक मानिन्छ ।)
उत्तम आचरणकी, स्त्रीयोचित गुणकी र निरोगी कन्यालाई वरण गर्नू । उत्तम कुल, उत्तम आचरण, शुभ लक्षण, अध्ययन सम्पन्न र स्वस्थ–यी वरका गुणहरू हुन् । जुन कन्याबाट मन र आँखालाई तृप्ति हुन्छ उसबाट निश्चय नै सुख पाइन्छ त्यसैले वरले अन्य कुरा ध्यान दिनु पर्दैन भनेर पनि कसैकसैैले भनेका छन् । विष्णुपुराण, तेश्रो अंश, अध्याय १० मा वधु चयन गर्ने कुरामा यसरी व्याख्या गरिएको छ । धेरै वा कम कपाल हुने, धेरै काली तथा कैली रङकी कन्यासँग विवाह नगर्नू ।
जसको जन्मँदै धेरै वा थोरै अंग हुन्छन्, जो अपवित्रा, रौँले युक्ता, अकुलीना वा रोगिणी छे त्यस्ती स्त्रीका साथ विवाह नगर्नू । दुष्ट स्वभावकी, कटु वचन बोल्ने, मातापिताका अनुसार अंगहीना, जुँगाका चिह्न भएकी, पुरुषको आकार भएकी वा धोत्रो स्वर भएकी वा सानो वा कौवाको जस्तो तीखो स्वर भएकी, परेला नभएकी तथा गोलो आँखा भएकी स्त्रीका साथ विवाह नगर्नू । जसका पिडौंलामा रौं छन्, जसका गोलिगाँठा उचालिएका छन् र हाँस्दा जसका गालामा खोपिल्टा पर्दछन् त्यस्ती कन्यासँग पनि विवाह नगर्नू ।
जसको कान्ति अती मलीन छ, नङ पहेँला छन्, आँखा राता छन् तथा हातगोडा भद्दा छन् बुद्धिमानले त्यस्ती कन्यासँग पनि विवाह नगर्नू । धेरै पुड्की वा धेरै अग्ली, आँखी भौँ जोडिएकी, दाँतका बीचमा धेरै प्वाल देखिने र अगाडिका दाँत बाहिर उछिट्टिएकी (दाह्रे) कन्यासँग कहिल्यै विवाह नगर्नू । माताका कुलका ५ र पिताका कुलका ७ पुस्तासम्म जुन कन्याको सम्बन्ध हुँदैन गृहस्थले विधिपूर्वक उसैसँग विवाह गर्नुपर्दछ । त्यसैगरी वामनपुराण, नरसिंहपुराणमा यस्तै कुरा समेटिएका छन् ।
कूर्मपुराणमा आफू समान शुभ, राम्रो रूप र लक्षणले सम्पन्न, योनीसम्बन्धी दोष नभएकी पत्नीलाई विधिपूर्वक ग्रहण गर्नुपर्दछ । ब्राह्मण (द्विज) ले आफ्नी आमाका गोत्रमा उत्पन्न नभएकी तथा आफ्नो आर्ष गोत्रमा उत्पन्न नभएकी यस्ती शील र सदाचार भएकी पत्नीलाई ग्रहण गर्नू भनिएको छ भने भागवत्महापुराणमा जो जसका बीचमा आर्थिक अवस्था, जन्मस्थिति, सम्पत्ति र आकार समान हुन्छ तिनका बीचमा विवाह र मित्रता हुनु बुद्धिमानी हुन्छ । उत्तम र अधमका बीचमा यस्तो सम्बन्ध कहिल्यै नगाँस्नू भनिएको छ ।
अन्त्यमा
कलियुगमा आश्रमका नियम हुँदैनन् । ब्रह्मचर्याश्रमलाई अहिलेको युगमा विद्यार्थी–जीवन भनी बुझ्नुपर्दछ । प्राचीन कालमा आआफ्नो क्षमता अनुसारको अध्ययन सकेपछि ‘गुरु अब म गृहस्थाश्रम अपनाउँदछु, आज्ञा दिनुहोस्’ भनी आज्ञा मागिन्थ्यो । त्यसपछि गुरुले उक्त शिष्यलाई विधिपूर्वक नुहाउन लगाएर आवश्यक उपदेश दिई घरगृहस्थी गर्ने अनुमति दिन्थे । शिष्यले गुरुलाई क्षमताअनुसार दक्षिण दिन्थे र गृहस्थ आश्रममा जान्थे । वर्ण वा जातको व्यवस्था पेसागत सहजताका लागि एवं पेसागत दक्षताका लागि बनाइएका थिए ।
यसैले समान पेसा भएकी केटी खोजेर विवाह गर्नु भनिएको हो । लोग्ने डकर्मी छ भने स्वास्नीले कम से कम माटो मुछ्न सिकेको हुनुपर्दछ भन्ने शास्त्रको अभिप्रायः हो ।सबैले गुनिलो पति वा गुनिलो पत्नी नै चाहन्छन् । तर शास्त्रले समान गुण हेर्नु भनेर स्पष्ट व्यवस्था गरिदिएको थियो । कुनै कुलतमा फसेको वा कुनै खोट भएको केटा वा केटीले आफूभन्दा बढी गुणको जीवनसाथी खोजेर विवाह गर्दा वैवाहिक जीवन सुखमय हुँदैन भन्ने शास्त्रीय भाव देखिन्छ । कतै कतै त यी कुरा खुलेरै लेखिएका पनि पाइन्छन् ।
व्यवहारमा पनि यही नै सत्य देखिएको छ । ब्राह्मण, क्षत्रीय र वैश्यका लागि समान गुणको आनुवंशीक निरन्तरता आवश्यक पर्ने हुँदा वंशानुगत रोग विकसित नहोस् वा नसरोस् भनेर मातापिताका कुल वा पुस्ता तथा समान गोत्रमा विवाह नगर्नु भनिएको हो । जति यो नियम मिचिएको छ त्यति नै बढी समस्या तिनले भोग्नुपर्दछ । आजकल कुल हेर्ने भनेर धनी छ कि छैन भन्ने कुरा मात्र हेर्ने गरिन्छ । वास्तवमा कुल हेर्ने भनेको संयुक्त परिवारमा बसी खोले नै खाने भए पनि सबैलाई बाँडेर खाने संस्कारमा हुर्किएको केटा वा केटी हो कि होइन भनेर हेर्ने चलन हो ।
पछिल्लो समयमा कुलको गलत अर्थ लगाउन थालियो । कुलको अर्थ धन र जातसँग मात्र लगेर जोड्न थालियो । चारै वर्णमा उत्तम र अधम कुल हुन्छ भन्ने कुरा मनन गरियोस् । नाम दुई किसिमको हुन्छ बोलाउने र न्वारानमा राखिएको । यो प्रयोजनका लागि न्वारानको नाम हेर्नुपर्ने नियम हो । न्वारनमा राखिएको नाम ज्योतिष शास्त्रअनुसार तत्कालीन ग्रहस्थिति हेरेर राखिएको हुन्छ । त्यसअनुसार तिनको स्वभाव हुन्छ । उल्लिखित गुण भएकाले यस्तै गुण भएको खोजी बिहे गर्नू भन्ने शास्त्रीय मनशाय हो । आजीवन बिहे नगर्नू भन्ने होइन ।
तत्कालीन समाजमा पनि घरतिरकोभन्दा ससुरालीतिरको बढी माया हुने प्रचलन देखिन्छ । तर छोरा र छोरीमा विभेद हुने चलन भने पछि मात्र विकसित भएको हो । मैथुनबाट सन्तान सृष्टि हुन प्रारम्भ भएको दक्षप्रजापतिको पालादेखि हो । उनका छोरी नै छोरी थिए । विभिन्न उपायले जन्मिएका उनका छोराहरूलाई विविध उपायले उनिसँगै रहनसक्ने वातावरण बिथोलिएको थियो ।
छोरी नै छोरी हुनेले कुनै छोरीको छोरालाई यो मेरो छोरोसरह हुनेछ भनेर राख्न वा वचन दिन सकिने प्रचलन थियो । यसैले छोरा नहुने मावलीतिरका हजुरबाबुलाई पिण्डपानी दिन सक्ने प्रावधान शास्त्रमा राखिएको छ । समाजमा छोरी नै छोरी भएका अवस्थामा त्यस्ती केटी बिहे गर्दा आफूबाट पनि छोरी नै छोरी जन्मन्छन् भन्ने मान्यता पनि छ । तर यसमा शास्त्र सहमत छैन । वंशानुगतले अपवादमा केही असर गर्न सक्दछ तर यही नै वास्तविकता भने होइन ।
आफ्नी छोरीमा जेजस्ता गुणहरू छन् त्यो अनुसार समान वा बढी गुणको केटा खोजी बिहे गराउनुपर्ने अन्यथा विवाह गराउनु नै पर्ने बाध्यता मातापितालाई थिएन ।
आजकल गुण हेरिँदैन । विदेशमा पिआर पाएको केटो वा केटी भनेपछि आँखा चिम्लेर छोरी वा छोरो दिइन्छ । यसका नकारात्मक असरहरू बिस्तारै समाजले भोग्न थालिसकेको छ । बाहिरबाट हेरेर वा सुनेर मात्र कुलको पहिचान हुन सक्दैन । कुनै पुरुष ग्राम्यधर्ममा संलग्न हुन सक्षम छैन भने अर्काकी छोरीको जीवन बर्बाद गर्ने अधिकार उसलाई छैन भन्ने शात्रीय मत देखिन्छ । केटा वा केटीले अध्ययन अवधिमा वा विवाह हुनुपूर्व कुनै पनि किसिमले ग्राम्यधर्ममा संलग्न भएको हुनु हुँदैन । यसले तिनमा तिहुन चाखे जसरी चाख्ने बानी लाग्दछ र वैवाहिक जीवन धराशायी हुन्छ ।
अब मर्दानगी कसरी जाँच्ने त भन्ने प्रश्न उठ्दछ । यसका लागि पनि केटाको वा केटीको अत्यन्त नजिकका मित्रबाट अभिभावकले जानकारी लिनुपर्ने विधि बताइएका छन् । जस्तै : जसका घुँडाका र काँध भित्रका हाड बलिया र ठूला छन्, निधार माथिका कपाल बलिया छन्, जिब्रोको फेद मोटो छ, छाला र शरीर रौँमय छ, गति र स्वर सबल छ, जसको वीर्य पानीमा घुल्दैन तथा स्वावाभिक पिसाब फिँजले युक्त हुन्छ त्यो मर्द हो नत्र नपुंसक हो । यसैगरी स्त्री पनि नपुंसक हुन्छन् र तिनको पनि कुनै उपायले विवाहपूर्व नै जाँच गरिनु पर्दछ । अल्लारे उमेरका केटाकेटीले आआफ्ना जीवनसाथी छान्दा उसले रोग, आदत, उमेर, शिक्षा र औकात लुकाइरहेको छ कि छैन विशेष ध्यान दिनू । पछि रोएर बस्न पर्दैन । विपरीत लिंगप्रतिको आकर्षण नै प्रेम होइन, यो भ्रममा नपर्नू । दुःख हुन्छ ।
प्रतिक्रिया