ताललगायत सिमसार क्षेत्र मानव जीवनका लागि अपरिहार्य हो । ओसिलो र चिस्यान जमिनले नै वातावरणको सन्तुलन मिलाएको छ । यसले दिलाउने आर्थिक लाभ तथा सांस्कृतिक लाभ पनि त्यत्तिकै छन् । यी सिमसार क्षेत्रको मूल काम पानीको प्राकृतिक फिल्टरको काम गर्ने, कार्बन सोस्ने, आवश्यक जीवको संरक्षण गर्ने तथा कार्बनडाइअक्साइड सोसेर धेरै जीवनको रक्षा गर्ने हो । साथै यसै क्षेत्रबाट पाइने पानीले धेरैको जीवनचर्या चलेका छन् ।
बाढी नियन्त्रण, जमीनमुनिको पानीको रिचार्ज र जलवायु स्थायित्वका लागि पनि उत्तिकै यिनीहरूको महत्वपूर्ण भूमिका छ । यिनै अमूल्य प्राकृतिक निधिको अहिले तीव्र विनास भइरहेको छ । यसको मूल कारण बढ्दो सहरीकरण, कृषि, प्रदूषण र जलवायु परिवर्तन नै हो ।
‘ग्लोबल वेटल्यान्ड आउटलुक’का अनुसार पछिल्ला ५० वर्षमा ३५ प्रतिशत यस्ता सिमसार नास भइरहेका छन् । यसले ती क्षेत्रहरूको जगेर्नाका लागि तत्काल केही गर्न आवश्यकता देखाएको छ । अन्यथा यसले पृथ्वीको पारिस्थितिक प्रणालीमै नै असर गर्ने आँकलन गरिएको छ ।
हरेक वर्षको २ फेब्रुअरीलाई ‘विश्व वेटल्यान्ड डे’को रूपमा मनाउने गरिएको छ । यस दिन जैविक विविधतामा सिमसार र तालको भूमिका, जलवायु परिवर्तन र मानव जीवनका बारे चर्चा हुने गर्छ । यस वर्षको मूल नारा ‘प्रोटेक्टिङ वेटल्यान्ड फर आवर फ्युचर’ (हाम्रो भविष्यका लागि सिमसारको संरक्षण) राख्दै पर्यावरणीय स्वास्थ्य र मानव हितका लागि यो अभियान समर्पित रहने जनाइएको थियो । सन् १९७१ मा भएको अन्तर्राष्ट्रिय सिमसार संरक्षणका मापदण्डको आधारमा रहेर सिमसार क्षेत्र जोगाउने अभियान पनि चलेको छ ।
पृथ्वीको कुल १० प्रतिशत जमिन ओगटेका यस्ता सिमसार र ताल अहिले संकटमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार मानव जीवन र पारिस्थितिक प्रणालीमा महत्वपूर्ण मानिएका ४४ वटा यस्ता स्थान नास भएका छन् । सहरीकरण, जलवायु परिवर्तन र प्रदूषणका कारण नै यस्ता क्षेत्रले समस्या भोगिरहेका छन् ।
यस्ता ताल र सिमसार क्षेत्र नास भएका कारण पर्यावरणमा असर पार्ने नै भयो । साथै अहिले हाम्रै क्षेत्रमा कार्बन उत्सर्जनको मात्रा बढिरहेको छ । बाढीको नियन्त्रण भएको छैन भने पहिलो जाने र कृषि उत्पादकत्वसमेत घट्ने क्रम बढिरहेको छ । हाम्रै कारण ग्रिनहाउस ग्यास उत्सर्जन पनि त्यत्तिकै बढेको छ ।
यसैले स्वास्थ्य क्षेत्रमा समस्या थपेको छ । प्राकृतिक विपत्ति बढाएको छ । यत्ति मात्र होइन, आदिवासीहरूको जीवन कठिन बनाउँदै उनीहरूको वासस्थानमा समेत असर गरेको छ । अहिले यसरी भूक्षय भएका कारण पानीसँग सम्बन्धित रोगको मात्रासमेत त्यत्तिकै बढेको छ । धेरै किसिमका जीवहरूको समेत नास भएको छ ।
यसैबीच जैविक विविधताका संरक्षण, मानव स्वास्थ्य र जीवनरक्षाका लागि अनुकूल वातावरण बनाउन विश्वव्यापीरूपमै केही पहल भएका छन् । रामसर कन्भेन्सन अन वेटल्यान्ड, कुन्मिङ–मन्ट्रियल ग्लोबल बायोडाइर्भिसटी फ्रेमवर्क र जलवायु परिवर्तनका लागि पेरिस सम्झौतालगायत महत्वपूर्ण पहल भएका हुन् ।
यसका लागि सरकार, समुदाय, वैज्ञानिक तथा व्यक्ति विशेषले ताल रक्षाका लागि संघर्ष गर्न जरुरी छ । र, सरकारहरूले जलवायु नीति बनाएर संरक्षण गर्न जरुरी ठानिएको छ । यी नीति तथा योजना कार्यान्वयनका लागि स्थानीयवासीको संलग्नता पनि त्यत्तिकै महत्वपूर्ण छ ।
यस्ता क्षेत्रहरू नास गर्दै अनावश्यक कृषि, उत्पादन, अनावश्यक विकास तथा प्रकृतिका विनाशले हामीलाई अझ सताउने कुरा यथार्थ हो । यसका लागि प्रकृति अनुकूल पर्यटकीय विकासमा समेत जोड दिन आवश्यक छ । औद्योगिक विकासका क्रममा हुने प्रदूषणमा कमी ल्याउन त आवश्यक छँदै छ ।
ताल संरक्षणमा धार्मिक मान्यता
ताल संरक्षणमा धार्मिक मान्यताले पनि धेरै काम गरेको छ । खासमा नेपाल, चीन र भारतका माथिल्लो भेगमा रहेका ताल यसै किसिमका धार्मिक मान्यताका कारण संरक्षित छन् । यस क्षेत्र ओगट्ने हिन्दुकुश हिमालय क्षेत्रमा यस किसिमका धेरै किम्बदन्ती छन् । तालको पानी सुकेमा देवता रिसाउँछन् भन्ने मान्यताका साथ यसरी संरक्षण भएको हो ।
पूर्वी हिमालयमै सिक्किममा रहेको खेचियोपार्ली ताल ३ हजार ५०० वर्ष पुरानो रहेको अनुमान गरिएको छ । धार्मिक आस्थाकै कारण यस तालको जगेर्ना भएको छ । स्थानीय बासीका अनुसार त्यहाँको पानी चलाउन वर्जित छ । त्यहाँको सतहमा एउटा पनि पात बस्न पाउँदैन । कथंकदाचित तालमा पात बसेमा चराहरू आएर टिप्ने गरेको पाइन्छ ।
त्यस तालमा केही भएमा देवता रिसाउने भन्ने मान्यता छ । यसरी नै धेरै तालहरू धार्मिक मान्यताका कारणले संरक्षणमा छन् । नेपालमा पनि धेरै तालहरू दैविक र धार्मिक कारणले संरक्षण भएका छन् । कतिपय तालहरूमा तातोपानी आउने गरेको छ । यसरी तातोपानी आउने तालमा म्याग्दीको तातोपानी तथा कोदारी राजमार्गको तातोपानीलगायत छन् ।
स्रोत अभावमा गहिरिँदै संकट
मानव जीवनमा लागि अति आवश्यक पर्ने सिमसार र ताल संरक्षण गर्न आवश्यक भए पनि पछिल्लो परिस्थितिले संकट ल्याएको छ । नेपालमा लामो समयदेखि हिमताल विस्फोटको जोखिम छ । यसै जोखिम कम गर्न पूर्व सूचना महत्वपूर्ण रहँदै आएको छ । अमेरिकाले विश्व जलवायु सम्मेलनबाट बाहिर रहने निर्णय गरेपछि यसले गरेको धेरै असरमध्ये हिमताल विस्फोटको जोखिम पनि हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले नेपालमा जलवायु अनुकूलन योजना कार्यान्वयन, पूर्व सूचना प्रणालीको विकासमा पनि असर पुगेको छ । युएसएआइडीले पूर्वसूचना प्रणाली विकास गर्न विभिन्न परियोजनाअन्तर्गत काम गरिरहेको थियो । इजिप्टमा सन् २०२२ नोभेम्बरमा आयोजित जलवायु परिवर्तनबारे राष्ट्रसंघीय महासन्धिका सदस्यहरूको २७औँ सम्मेलन (कोप २७)मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२७ सम्म सबै देशमा पूर्वसूचना प्रणाली लागू गर्ने घोषणा गरेका थिए । त्यही घोषणाअनुसार प्रणाली विकास गर्न नेपालमा युएसएआइडीको सहयोगमा काम भइरहेको थियो ।
पेरिस सम्झौताबाट अमेरिका अलग हुँदा यसले नेपालका अन्य विविध क्षेत्रमा असर गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित परियोजनाको अनुदान राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशअनुसार ३ महिनाका लागि स्थगित भइसकेका छन् । सोही योजनाअन्तर्गत वन विभागअन्तर्गत हुँदै आएको ‘जल, जंगल कार्यक्रम’ बन्द भएको छ । युएसएआइडीले वन विभागलाई दिनुपर्ने ३२ मिलियन डलर रोकिएको छ ।
नेपालमा संसारभरबाट बन विनास रोक्नका लागि आउने करिब ५०० मिलियन अमेरिकी डलरमध्ये २० देखि ३० प्रतिशत युएसएआइडीको सहयोग रहेको नेपालका अधिकारीहरूको दावी छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी(डोग)ले नेपाललाई संघीयता र जैविक विविधताको क्षेत्रका लागि दिएको ३९ मिलियन डलर अनुदान पनि रद्द गरेको छ ।
तथ्यांकअनुसार सन् २००७ देखि २०२१ सम्म नेपाललाई विभिन्न विषयमा सबैभन्दा धेरै सहयोग गर्ने मुलुक अमेरिका हो । जसले २००७ देखि २०२१ सम्म वातावरण संरक्षणमा १८० मिलियन डलर, ऊर्जामा १४३ मिलियन, कृषि, वन, मत्स्य शीर्षकमा ४८ मिलियन रकम दिएको देखिन्छ ।
राष्ट्रिय अनुकूलन योजनाअनुसार प्राथमिकता प्राप्त कार्यक्रममध्ये कृषि तथा खाद्य सुरक्षामा ११ अर्ब डलर; वन, जैविक विविधता र जलाधार संरक्षणमा करिब ९ अर्ब डलर र जलस्रोत र ऊर्जामा साढे ५ अर्ब डलर आवश्यक पर्ने उल्लेख छ । यो सबै कार्यक्रमका लागि नेपाल आफैँले डेढ अर्ब डलर मात्र बेहोर्न सक्ने र बाँकी बाह्य स्रोतबाट जुटाउने भनिएको छ । यसरी बाह्य स्रोतबाट आउने रकमको ठूलो हिस्सा रोकिएपछि यसको सबैभन्दा ठूलो असर नेपालमा परेको छ ।
सिक्किमको हिमताल विस्फोटले निम्त्याएको दुर्घटना
सन् २०२३ को अक्टोबरको सुरुआतमा नै सिक्किममा हिमताल विस्फोट भएको थियो । धेरै अध्ययनहरूका अनुसार सो विस्फोटको मूल कारण जलवायु परिवर्तन नै हो ।
हिमताल विस्फोटबाट तल्लो तटीय क्षेत्र सिक्किमको गान्तोक लगायतका क्षेत्रमा १०२ जनाको ज्यान गएको थियो । सोही विस्फोटपछि टिस्टा उपत्यकामा गएको भीषण बाढीका कारण दक्षिणी सिक्किम नै तहसनहस भएको थियो । भौतिक संरचना तहसनहस भए । प्रभावित भौतिक संरचना पुरानै अवस्थामा ल्याउन महिनौँ लामो समय लागेको थियो । हिमताल विस्फोटपछिको सोही बाढीको कारण पत्ता लगाउन वैज्ञानिकहरूले लामो समय प्रयास मात्र गरेनन्, जलवायु परिवर्तन र त्यसले गरेको हिमताल विस्फोटका बारे सन् २०२४ को यो एक वर्षमा अनगिन्ती अध्ययन भए ।
अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार विस्फोटले १ करोड ४७ लाख क्युबिक मिटर पानी एकैपटक बाहिरिँदा लगभग सुनामी नै निम्त्याएको थियो । उक्त दक्षिणी लोहनाक ताल विस्फोट भएपछि आएको सुनामीको उचाइ २० मिटरसम्म थियो । यसैले तालको नजिक रहेको ड्याम भत्काएको थियो । यसै कारण ५ करोड क्युबिक लिटर पानी बाहिर आएको थियो । त्यो पानीको मात्रा भनेको २० हजार वटा ओलम्पिक आकारका स्विमिङ पुल बराबर हो ।
अध्ययन टोलीका संयोजक भुवनेश्वरस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका असिस्टेन्ट प्रोफेसर आसिम सतारका अनुसार अहिले हिमाली क्षेत्रका धेरै तालहरू जोखिममा छन् । यसै जोखिममा परेकोमध्ये सो ताल विस्फोट भएको हो ।
सो विस्फोटले चुन्थाङ जिल्लाको टिस्टा खोलाको ड्यामलाई पनि असर गरेको छ । विस्थापित हुनेहरूलाई व्यवस्था गर्नसमेत सरकारी निकायलाई हम्मेहम्मे परेको थियो । सन् २०२३ को अन्त्यमा प्रकाशित १ रिपोर्टका अनुसार विगत २०० वर्षमा ७०० का हाराहारीमा हिमतालहरू विस्फोट भएका छन् । यीमध्ये हिन्दुकुश हिमालयन क्षेत्र सबैभन्दा जोखिममा रहेको छ । सोही क्षेत्रअन्तर्गत सिक्किमको सो हिमताल पनि पर्छ ।
अध्ययनका अनुसार सिक्किम सीमाको हिमालका काखमा रहेका ६४० हिमतालमध्ये ११ वटा अहिले पनि अत्यन्त जोखिममा छन् । ती हिमताललाई नियमित हेर्न र निगरानी गर्नसमेत कठिन छ ।
सिक्किममा भएको सो घटनाका कारण हुन सक्ने धेरै क्षति भने स्थानीयका कारण जोगिएको थियो । स्थानीयले तत्काल तदारुकता देखाएका थिए । स्थानीय समुदाय, अभियन्ता, विद्यार्थी र स्थानीयवासी त्यहाँ उद्धार कार्यमा सक्रिय थिए ।
प्रतिक्रिया