जलवायु परिर्तनबारे के भन्छन् सांसद ?

कृषि तथा वातावरणमा परेको असरबारे छलफल गर्दैछौँ

कुसुमदेवी थापा, सभापति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–जलवायु परिवर्तन भनेको जलवायु परिवर्तन हो । अब त्यसको असर भनेको चाहिँ बर्सेनि तापक्रम बढदै जानु, वातावरणमा नकारात्मक असर पर्दै जानु, अतिवृष्टि हुनु । बेमौसमी वर्षा हुनुजस्ता कुरालाई जलवायु परिवर्तनको असर भनेर बुझिन्छ ।

यसको असर कम गर्न नीतिगत तहमा के के गर्दै हुनुहुन्छ ?

– यो समितिले गर्ने होइन, वन तथा वातावरण मन्त्रालयले गर्ने हो । समितिका तर्फबाटचाहिँ वायुपरिवर्तनको न्यूनीकरणका लागि अपनाउनुपर्ने कुरामा छलफल गर्दै छौँ । यसमा कृषि तथा वातावरणमा परेको असरका बारेमा छलफल गर्दैछौँ ।

कार्यान्वयन कतिको भएको छ ?

– यसको कार्यान्वयन त हामीले गर्ने होइन, सम्बन्धित निकायले गर्ने हो । भएकै होला नी !

०००

कार्यान्वयन त फितलो छ

भानुभक्त जोशी, सदस्य, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–अहिलेको सन्दर्भमा खास गरी वातावरणमा जे खालको अवस्था देखापरेको छ त्यो नै जलवायु परिवर्तन हो । वायुमण्डलमा कलकारखाना उद्योगधन्दाबाट निस्कने प्रदूषणका कारण वातावरणमा जुन प्रकारको प्रभाव परेको छ त्यो नै जलवायु परिर्वतन हो भन्ने लाग्छ । यी कारणले गर्दा तापक्रममा पनि धेरै परिर्वतन हुने भएर तापक्रम बढ्दै छ । यिनै कारणले समयमा पानी नपर्ने, परे पनि बेमौसममा पर्ने, कहिलेकाहीँ एकै ठाउँमा धेरै पर्ने । यसपालि काठमाडौँ उपत्यकाको एकै ठाउँमा धेरै पानी प¥यो, यो पनि जलवायुमा आएको परिवर्तनकै कारण हो भन्ने लाग्छ । हिउँ पर्नुपर्ने ठाउँ र स्थानमा नपर्ने जस्ता कुरा छन् । समग्रमा मानवबाट निर्मित कृतिम विकासका कारण वायुमण्डलमा पार्ने प्रभाव हो भन्ने बुझिन्छ ।

यसको असर कम गर्न नीतिगत तहमा के गर्दै हुनुहुन्छ ?

–यो नेपालको मात्रै कारण होइन । खासगरी विश्वका ठुला राष्ट्रका कारण नेपाल पनि मारमा परेको छ । यद्यपि पछिल्लो समय नेपालका वनजंगल धेरै नास हुँदै गएका छन् । यसमा सरकारको उच्च तहबाट पनि कुरा उठाउने गरिएको छ । वन तथा वातावरण मन्त्रालयबाट विशेष नीति नियम बनाएर काम गर्नुपर्ने हुन्छ । समितिका तर्फबाट पनि हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ ।

कार्यान्वयन कतिको भएको छ ?

–कार्यान्वयन त फितलो छ । यसको कार्यान्वयनमा सम्बन्धित निकायले जुन ढंगले ध्यान दिनुपर्ने हो दिएको पाइँदैन ।

००००

ध्यानाकर्षण गराउनुपर्ने ठाउँमा ध्यानाकर्षण गराएका छौँ

अमृतलाल राजवंशी, सदस्य, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–जलवायु परिर्वत भनेको विश्वभरीकै समस्या हो । यो वातावरण र पर्यावरणसम्बन्धी समस्या हो । अहिले साउदी अरबजस्तो हावा चल्ने देशमा एकाएक हिउँ परेको छ । हाम्रो नेपालको हिमाली क्षेत्र ४–५ हजार मिटरको उचाइमा पनि हिउँ देखिन छोडेको छ । सेता हिमाल काला भएका छन् । विभिन्न कारणले जलवायु परिवर्तन भइरहेका छन् । विकसित र औद्योगिक राष्ट्रहरूका कारण यसमा प्रभाव पारेको छ ।

यसको असर कम गर्न नीतिगत तहमा के गर्दै हुनुहुन्छ ?

–नीतिगत तहमा हामीले वातावरणलाई क्षति गर्ने काम कसरी कम गर्न सकिन्छ भनेर प्रयास गरीरहेका छौँ । सुझाव दिनुपर्ने र ध्यानाकर्षण गराउनुपर्ने ठाउँमा ध्यानाकर्षण गराएका छौँ । त्यस बारेमा कानुन संशोधनका लागि पनि प्रयास जारी छ । नीतिगत तहमा हामीले गर्नुपर्ने काम गरिरहेका छौँ ।

कार्यान्वयन कतिको भएको छ ?

–हामीले भएका नियमलाई कार्यान्वयन र त्यसका लागि आवश्यक कानुन निर्माणमा प्रयास गरिरहेका छौँ । कार्यान्वयन न सम्बन्धित निकायले गर्ने हो ।

००००

क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्छ

अशोककुमार चौधरी, सदस्य, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–जलवायु परिवर्तन हाम्रो छिमेकी मुलुकका कारण पनि भइरहेको छ । वातावरणमा भएको प्रदूषणको कारण पनि जलवायु परिवर्तन भइरहेको छ । जलवायु परिवर्तनकै कारण हाम्रा हिमालहरू पग्लने गरेका छन्, मौसममा पनि परिवर्तन भइरहेको छ । वातावरण प्रदूषणमा न्यूनीकरण नभएका कारण पनि जलवायु परिवर्तन भइहरेको छ । मैले यसलाई यसैगरी बुझेको छु ।

यसको असर कम गर्न नीतिगत तहमा के गर्दै हुनुहुन्छ ?

–नीतिगतरूपमा हामीले संसद्को समितिका सदस्यहरू सक्रिय छौँ । नियमित रूपमा समितिमा छलफल भएका छन् । यसमा छिमेकी मुलुकको प्रदूषणका कारण हामीले भोगेको क्षतिको क्षतिपूर्ति पाउनुपर्छ पनि भनेका छौँ । हामीले गर्ने यति नै हो ।

कार्यान्वयन कतिको भएको छ ?

–कार्यान्वयनको पक्षमा चाहिँ हाम्रा नीतिहरूका कारण पनि समस्या छ । हाम्रो कानुनी पक्षमा रहेका समस्याका कारण पनि यसमा समस्या छन् । अरूका कारण भएका प्रदूषणका कारण हामीले बेहोरेको क्षतिको क्षतिपूर्ति दिलाउन सरकारका सम्बन्धित मन्त्रालय र निकायले पहल गर्नुपर्छ ।

००००

विकसित राष्ट्रले गरेको वायु प्रदूषणले हामीलाई असर गरेको छ

दीपक कार्की, सदस्य, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–जलवायु परिवर्तन विश्वव्यापी रूपमा वातावरण बिग्रेको छ, त्यही त हो नि जलवायु परिवर्तन भनेको । जलवायु परिवर्तनको असर विश्वव्यापी देखिएको छ, त्यसको मारमा हामी पनि परेका छौँ । विकसित राष्ट्रका ठुलाठुला उद्योगधन्दाले गरेको वायु प्रदूषणले हामी जस्ता राष्ट्रलाई असर गरिरहेको छ ।

यसको असर कम गर्न नीतिगत तहमा के गर्दै हुनुहुन्छ ?

– हामीले यसको असर कम गर्न नीतिगत रूपमा समितिले गर्नसक्ने काम गरिरहेका छौँ ।

कार्यान्वयन कतिको भएको छ ?

यसमा कार्यान्वयन गर्ने पक्षले काम गर्ने हो । सबै कुरा भने जसरी हुँदैन तैपनि कार्यान्वयन हुनुपर्छ भन्ने हो ।

०००००

असर न्यूनीकरण गर्न सम्बन्धित निकाय लाग्नुपर्छ

अनिशा नेपाली, सदस्य, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–मेरो विचारमा मानव जीवनमा प्रत्यक्ष रूपमा जोडिएको विषय हो यो । मौसममा परिवर्तन ल्याउनु पनि जलवायु परिर्वतन हो ।

यसको असर कम गर्न नीतिगत तहमा के गर्दे हुनुहुन्छ ?

–समितिमाचाहिँ हामीले विभिन्न खालका छलफलहरू चलाइरहेका छौँ । जसले प्रकृतिमा भएका विभिन्न खालका घटनाहरूलाई प्रभाव पार्दछ । वनस्पतिको कटान भयो, त्यसको असर पनि देखिएको छ । जीवजन्तुहरूमा परेकोे प्रभाव जस्ता कुरामा समितिमा पनि छलफल गरिरहेका छौँ । नीतिगत रूपमा गर्नुपर्ने काममा समिति लागिरहेको छ ।

कार्यान्वयन कतिको भएको छ ?

–यसको कार्यान्वयनचाहिँ खासै भएको देखिँदैन । ग्याँसहरूको उत्सर्जन बढेर त्यसले वातावरणमा असर गरेको छ । यसले धेरै तापक्रम बढ्ने गरेको छ । वातावरणमा पार्नेे असर न्यूनीकरण गर्न सम्बन्धित निकाय गम्भीरतापूर्वक लाग्नुपर्छ भन्ने लाग्छ ।

०००

कानुनी अड्चन हटाएर सहजीकरण गर्नुपर्छ

मीना तामाङ, सदस्य, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

जलवायु परिवर्तनबारे के बुझ्नुभएको छ ?

–ठुलाठुला राष्ट्रहरूले सञ्चालन गरेका कलकारखानाले उत्सर्जन गरेको प्रदूषणका कारण नै जलवायु परिवर्तन भइरहेको छ । यो नै जलवायु परिवर्तन हो भनेर बुझेको छु ।

यसको असर कम गर्न नीतिगत तहमा के गर्दे हुनुहुन्छ ?

–यस विषयमा हामीले गम्भीर छलफल गरिरहेका छाँै । समितिमा पनि यसबारेमा धेरै नै छलफल भएका छन् । यसबारेमा वनमन्त्री ज्यूले पनि चासो देखाउनुभएको छ । जताततै भएका डढेलो जस्ता घटना आन्तरिक रूपमा नियन्त्रण गर्ने हो । वाह्यबाट भएका प्रदूषणलाई पनि कसरी रोक्ने भन्ने विषयमा केन्द्रित भएर धेरै नै कार्यक्रम गरिरहेका छौँ । हामी यसबारेमा समितिमा निकै नै चिन्तित भएर काम गरिरहेका छौँ । यसमा रहेका कानुनी अड्चनलाई हटाएर सहजीकरण गर्नुपर्छ भन्ने बारेमा काम भइरहेका छन् । यति मात्रै होइन, जंगली जनावरको सुरक्षामा पनि भएका कानुनी अड्चनमा सरलीकरणका लागि प्रयास जारी छ । यसका साथै यसबारेमा सूचना प्रवाहमा कतै कमि छ कि भन्ने बारेमा पनि चासो बढेको छ ।

कार्यान्वयन कतिको भएको छ ?

–कार्यान्वयनको पक्ष फितलो छ । जुन ढंगले कार्यन्वयन हुनुपर्ने हो भएको पाइँदैन ।

प्रतिक्रिया