जलवायु परिवर्तनले मौसममा पारेको असर

आगामी १० वर्षपछि कस्तो होला तापक्रम ? भन्ने स्वभाविक जिज्ञासा पनि जन्मिएको छ । हाल बढिरहेको तापक्रमको ट्रेन्ड हेर्दा तापक्रम स्थिर रहने वा घट्ने सम्भावना देखिँदैन ।

सुदर्शन हुँमागाईं

जलवायु परिवर्तनले अहिले मौसममा विषम खालको परिस्थिति देखाइरहेको छ । जस्तो यसै वर्ष कन्चपुरमा विषम खालको वर्षा भयो । अहिलेसम्मकै भारी यो वर्षाले विगतका कैयौँ रेकर्ड नै तोडेकोे छ । कन्चनपुरमा २४ घण्टामा ६२४ मिलिमिटरसम्म वर्षा मापन भयो । यस्तो खालको अतिवृष्टि अहिले बढिरहेको छ । सन् २०२४ को सेप्टेम्बरमा विगत ४४ वर्ष यताकै धेरै पानी परेको छ । यस्तो खालका अतिका घटना बढिरहेका छन् ।

पहिला सरदरमा १० जुनदेखि २३ सेप्टेम्बरसम्म वर्षाको समय रहन्थ्यो भने हाल आएर मनसुन १३ जुनदेखि २ अक्टोबरसम्म रहने गरेको छ । सरदर भनेको सन् १९९१ देखि सन् २०२० सम्मको तथ्यांकको औसत हो । यसले के देखिन्छ भने पहिलाभन्दा अहिले मनसुन लम्बिएको छ र पछाडि सर्दै पनि गएको छ । मनसुनको यो फेरबदलले जलवायुमा आएको परिवर्तनलाई देखाउँछ ।

विगतका दशक र हालका हिउँदहरूको तुलना गर्ने हो भने अहिले हिउँदमा वर्षा एकदमै कम भइरहेको छ । पछिल्लो १५ वर्षमा हेर्ने हो भने ९ वर्षमा हिउँद सुक्खा रहेको पाइएको छ । जलवायु परिवर्तनको कारण विषम मौसमी घटनामा वृद्धि भएको छ, भने ऋतुगत जलवायु चक्रमा परिवर्तन आइरहेको छ ।

विश्वव्यापी तापक्रमको रेकर्ड गर्ने तथा तथ्यांक राख्ने विभिन्न संस्थाहरूले भनेअनुसार पछिल्ला १० वर्ष ताता वर्षहरूमा पर्छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने एकपछि अर्को आउने वर्ष तातो हुँदै गएको छ ।

हाम्रा तापक्रम नाप्ने केन्द्रहरूको संख्या पहिलाभन्दा अहिले थप भएका छन् । मानव सञ्चालित केन्द्रहरूको साथै स्वचालित मौसम मापन केन्द्रहरूको संख्यासमेत बढेको छ । सामान्यतः नेपालमा उपलब्ध केन्द्रहरूको अनुसार २०२३ भन्दा २०२४ तातो वर्ष देखिन्छ । यद्यपि सन् २००६ र २०१६ धेरै ताता वर्षहरूमा गनिन्छन् । विभिन्न केन्द्रहरूको सामान्य औषत मात्र नभएर नेपालभरको सबै तापक्रम विश्लेषण गर्ने हो भने सन् २००६ र २०१६ अहिलेसम्मकै ताता वर्षको रूपमा मानिएका छन् ।

तापक्रम वृद्धिको अनुपात हेर्दा सन् २०१७ को जल तथा मौसम विज्ञान विभागको अध्ययन बमोजिम अधिकतम तापक्रम प्रत्येक वर्षमा शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढिरहेको छ । न्यूनतम तापक्रम शून्य दशमलव शून्य २ डिग्री सेल्सियसले बढिरहेको छ । जलवायु परिवर्तनका कारण राती र दिउँसोको तापक्रम पनि बढिरहेको छ ।

विश्वको तापक्रम वृद्धिको भने फरकफरक रिर्पोटले फरकफरक परिणाम दिइरहेको अवस्था छ । अन्तर्राष्ट्रिय निकायहरूले पूर्व औद्योगिक समय (१८५०–१९००) को तुलनामा हाल पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसले बढेको विवरण सार्वजनिक गरेका छन् । युरोपियन सेन्टर फर मिडियम–रेन्ज वेदर फोरकास्टले सन् २०२४ सम्ममा १ दशमलव ६ डिग्रीले तापक्रम बढेको देखाएको छ ।

१० वर्षपछि कस्तो होला ?

आगामी १० वर्षपछि कस्तो होला तापक्रम ? भन्ने स्वभाविक जिज्ञासा पनि जन्मिएको छ । हाल बढिरहेको तापक्रमको ट्रेन्ड हेर्दा तापक्रम स्थिर रहने वा घट्ने सम्भावना देखिँदैन । यद्यपि जलवायुलाई प्रभाव पार्ने कारकहरूले गर्दा हरेक वर्ष तापक्रम कम वा बढी भने हुने गर्दछ ।

पेरिस सम्झौताले सकेसम्म तापक्रम १ दशमलव ५ डिग्री नभए चरम अवस्थामा पनि २ डिग्रीभन्दा बढी नबढाउने भनेर भनेको छ । तैपनि हामी यो स्थितिमा पुगिसकेका छौँ कि तत्काल तापक्रम नबढ्ला भन्न सकिँदैन ।

तापक्रम वृद्धिका असर

नेपालमा न्यूनतम (रातीको) तापक्रम पनि क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । रातहरू न्याना हुँदै गएका छन् । न्यूनतम तापक्रम वृद्धि हुँदा उच्च पहाडी तथा हिमाली भेगमा हिउँको पग्लिने क्रम बढ्छ । जसले गर्दा सुक्खा याममा नदीहरूमा पानीको बहाव कम हुने तथा वर्षा याममा धेरै बढ्ने भइरहेको छ । यो क्रम थप बढ्ने नै देखिन्छ । जलस्रोतमा यस्तो खालको समस्या आउँदा अरू थप समस्या निम्तिने नै भयो ।

कृषिमा पनि असर परिरहेको छ । तापक्रम कृषि बालीको लागि राम्रो हो र जति धेरै तापक्रम भयो त्यति धेरै चाँडो बोटविरुवा हुर्किन्छन् भन्ने धारणा छ । तापक्रम बढ्दा पहाड तथा चिसो हुने भागमा कृषि उत्पादन बढ्छ तर तराईको हकमा भने आवश्यकताभन्दा बढी तापक्रम बढ्दा उत्पादनमा समस्या हुने गर्दछ । यसले तापक्रम खप्ने, खडेरी खप्ने जस्ता कृषिबालीका जातहरूमा परिवर्तन गर्दै जानुपर्ने देखिन्छ । तराई क्षेत्रका कृषि बालीमा तापक्रम बढ्दा उत्पादन प्रभावित हुन सक्छ । तापक्रम बढ्दा बालीहरूको फस्टाउने तथा पाक्ने समय छिटो छिटो हुन्छ ।

तापक्रम वृद्धि हुँदा तथा सापेक्षिक आर्द्रता बढ्दा मानव स्वास्थ्यमा पनि असर पुग्न सक्छ । जस्तो कि डेंगुजस्ता रोगहरू बढेर जाने सम्भावना हुन्छ । तापक्रम बढ्दा श्वासप्रश्वाससम्बन्धी समस्याहरू देखिन्छन् ।

तापक्रम वृद्धि दुई प्रकारले हुन्छ । एउटा मानव सृजित र अर्को प्राकृतिक । अहिले भइरहेको तापक्रम वृद्धि मानव सृजित बढी हो । हुनुपर्नेभन्दा धेरै छिटो तापक्रम वृद्धि भइरहेको विभिन्न रिर्पोटहरूले देखाएको छ । अब हामीले तापक्रम कम गर्न जति कम मात्रामा कार्बन उत्सर्जन ग¥यौँ, त्यति नै तापक्रम बढ्ने क्रम कम हुन्छ । जस्तै यातायातका साधनहरू, उद्योगधन्दाहरूबाट उत्पादन हुने कार्बन कम गर्न सक्दा तापक्रमको वृद्धिदर कम गर्न सकिन्छ । कार्बन घटाउने कुरा नेपालले चाहेर मात्रै सफल हुन नसक्ने भए पनि सुरुआत गरेर केही सन्देश भने दिन सकिन्छ । हरित ऊर्जामा जोड दिने, इभीमा जोड दिने र वनजंगल बढाउने जस्ता काममा लाग्नुपर्दछ ।

तापक्रम वृद्धि रोक्न अहिले हामीले नसके पनि त्यसको असरबाट हुने क्षतिहरू कम गर्न भने पक्कै सक्छौँ । जसका लागि अनुकूलताको लागि विभिन्न कार्य गर्न सकिन्छन् । तापक्रम वृद्धिबाट हुने रोगहरूबाट बच्न पूर्वतयारी तथा अन्य प्राकृतिक प्रकोप तथा घटनाबाट जोगिन पनि पूर्वतयारी गर्न सकिन्छ ।
(हुँमागाईं जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् हुन् ।)

प्रतिक्रिया