लन्डनमा ‘अञ्जिला’को प्रिमियर

काठमाडौँ । नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ प्रिमियर सम्पन्न भएको छ । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा प्रिमियर गरिएको हो । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मी, व्यवसायी तथा सर्वसाधारण दर्शकको पनि बाक्लो उपस्थिति थियो ।

नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । साथै, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए ।

नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, भिडियोमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै सबै दर्शकहरूलाई धन्यवाद दिएकी थिइन् । साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । समारोहमा चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए । चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पु¥याउन अञ्जिला निर्माण गरिएको बताउँदै भने, ‘नेपालमै पहिलोपटक हामीले फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ । खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो ।’

चलचित्र हेरेका दर्शकहरूले ‘अञ्जिला’ निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने चलचित्र हेरेपछि महसुस भएको बताउँदै चलचित्र हेरिरहँदा धेरैपटक आँखामा आँसु आएको दर्शकले बताए ।

निर्माता प्रेमकुमार श्रेष्ठले युकेका दर्शकहरूले चलचित्र अत्यन्तै मन पराएको बताए । ‘हङकङमा पनि चलचित्रको प्रिमियर भएको थियो, जहाँ उच्च प्रशंसा भएको थियो । ‘रियल स्टोरी’ मा रियल प्लेयरलाई अभिनय गराउन निकै कठिन थियो, तैपनि हामीले ४ वर्ष लगाएर यो चलचित्र बनायौँ । अहिले प्राप्त भइरहेका प्रतिक्रियाले उत्साहित छौँ’, श्रेष्ठले भने ।

यो फिल्म नेपाल रिलिज अगावै अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदै छ । निर्माता श्रेष्ठले प्रिमियरबाट संकलित सबै रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकुन् भनेर प्रेरणा दिनका लागि एञ्जिलाको घर बनाइदिन लागिएको जनाए । उनले यस अभियानले अन्य खेलाडीहरूलाई नि हौसला दिने विश्वास गरे । एञ्जिलाले भविष्यमा उक्त घरलाई फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ ।

नेपालमा यो फिल्म फागुन २९ गते रिलिज हुँदै छ । हालै मात्र यस चलचित्रको टिजर सार्वजनिक गरिएको थियो, जसमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ ।

चलचित्रको छायांकन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

अञ्जिला नेपाली खेलकुद क्षेत्रमा निर्माण भएको पहिलो बायोपिक भएकाले यसको ऐतिहासिक महत्व छ । निर्देशक चाम्सले दर्शकहरूले यो चलचित्रलाई साथ दिएमा भविष्यमा अन्य खेलाडीहरूको जीवनमा आधारित चलचित्रहरू पनि बन्न सक्ने सम्भावना बलियो हुने बताए ।

प्रतिक्रिया