काठमाडौं । सरकारले ल्याएको अध्यादेशप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले अध्यादेश नसच्याए आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशनसमेत दिएका छन् ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् । बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।
सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट रहेको भन्दै उनले आफूले पार्टीका मन्त्रीलाई एक दुई दिनमा के –के गर्नुछ गर्नुस् भनिसकेको बताए । उनले भने, ‘अध्यादेश अस्वीकार गर्नु भनेको सरकार गिराउनका लागि होइन तर सरकारमाथि नैतिक संकट आएको छ । हामीमाथि पनि नैतिक संकट आएको छ । नैतिक संकट भनेको पर्सन कुरा हो ।’
अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नगरेको बताउँदै उनले अध्यादेश ल्याउनुभन्दा अगाडि गठबन्धनको बैठकमा विरोध गरेको उनले बताए । अध्यक्ष ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताए । उनले सो अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै अध्यादेश नसच्चिए पार्टी सरकारबाट बाहिरिने बताए ।
प्रतिक्रिया