काठमाडौं । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सभामुख देवराज घिमिरेले चासो लिएका छन् ।
प्यालेस्टाइनी लडाकु समूह हमासबाट अपहरणमा परेर लामो समयदेखि बन्धक रहेका नेपाली युवा विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गरिदिन सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र पठाएका हुन् ।
शुक्रबार पत्र लेख्दै सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
विपीनलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरेका छन् । पत्रमा सभामुख घिमिरेले भनेका छन्, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि विपीनसहितका व्यक्तिहरूलाई बन्दी बनाएको हो । उनको रिहाइका निम्ति सरकारले कूटनीतिक पहल गरिरहेको छ ।
नेपालका निम्ति इजरायली राजदूत श्मुलिक आरी बासले गएको आइतबार सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।
हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदानसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको समेत सभामुख घिमिरेले पत्रमा उल्लेख गरेका छन् । उनले नेपाल सार्क, बिम्स्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनामा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराएको सभामुखको सचिवालयले जनाएको छ ।
पछिल्लो समय हमास र इजरायलबीच युद्धविराम भएर केही बन्धीहरु रिहा भए पनि नेपाली युवा विपिन अझै भएका छैनन् । केही दिनअघिबाट विपिन रिहाइ हुने सम्भावना देखिए पनि अहिलेसम्म हमासकै कब्जामा छन् ।
प्रतिक्रिया