काठमाडौँ । इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरी बन्धक बनाएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ । युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।
सार्वजनिक गरिएको ३३ जनामा नेपालका विपिन जोशीको नाम भने समावेश छैन । यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री र इजरायली विदेशमन्त्रीसँग फोनमार्फत् अपिल गरेकी थिइन् । उनीहरूले राणासँगको कुराकानीका क्रममा सम्भव भएसम्म विपिनलाई पहलो चरणमै रिहा गर्न पहल गर्ने बताएका थिए ।
कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानका विद्यार्थी हुन् । उनी इजरायल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषि विज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै विपिन इजरायल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।
कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । ७ अक्टोबर, २०२३ मा हमासले आक्रमण गर्दै २५१ जनालाई बन्दी बनाएको थियो । सोही आक्रमणमा १२०० जनाभन्दा बढीको ज्यान गएको थियो । विपिनसँगै रहेका ४ जना घाइते भएका थिए । जोशी भने सम्पर्कविहीन भएका थिए । अन्य २ जना भने सकुशल थिए ।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए । उनकै साथीहरूका अनुसार विपिनलाई हमास लडाकूले लगेका हुन् ।
इजरायलमा ४ हजारभन्दा बढी नेपाली कार्यरत छन् । त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए । पहिलो चरणमा रिहा गर्ने भनिएको सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन् । प्रकाशित सूचीअनुसार ९ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास पनि छन् । त्यस्तै, ८६ वर्षका स्लोमो मान्जुर अपहरण गरिएकामध्ये सबैभन्दा वृद्ध छन् ।
उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूको सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन् । इजरायल र हमासको बीचमा गत बुधबार युद्धविरामको ड्राफ्ट भएको थियो । शुक्रबार बेलुकादेखि बसेको इजरायलको क्याबिनेट बैठकले शनिबार बिहान सो प्रस्ताव पारित गरेको थियो ।
आइतबार हमासले ३३ जनाको नाम सार्वजनिक गरेपछि इजरायलले युद्धविराममा सहमति जनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नाम सार्वजनिक नभई युद्धविराम नहुने बताएपछि युद्धविराम औपचारिक रूपमा लागू हुन केही समय ढिला भएको थियो । पहिलो दिन नै इजरायलले जेलमा रहेका ९० प्यालेस्टिनीलाई रिहा गर्ने जनाएको छ । पहिलो ६ सातामा जेलबाट १ हजार ८९० प्यालेस्टिनी छुट्नेछन् । इजरायलले यिनैमध्येका ७३४ जना प्यालेस्टिनीको नाम सार्वजनिक गरिसकेको छ । युद्धविराम सुरु हुनुभन्दा केही समयअघि मात्र भएको आक्रमणमा १९ जना प्यालेस्टिनी मारिएका थिए ।
प्रतिक्रिया