आइपिएल मार्च तेस्रो सातादेखि

नयाँ दिल्ली । यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) २१ मार्चदेखि सुरु हुने भएको छ । इडेन गार्डेनमा उद्घाटन खेल तथा २५ मेमा फाइनल खेल हुनेछ । यसैगरी महिला प्रिमियर लिग (डब्लुपिएल) ७ फेब्रुअरीदेखि २ मार्चसम्म हुनेछ । नोभेम्बरमा भएको मेघा अक्सनभन्दा अघि नै १५ मार्चदेखि २५ मेका बिचमा आइपिएल हुने तय भएको थियो ।

यस वर्ष च्याम्पियन्स ट्रफी ९ मार्चसम्म हुने भएका कारण २ साता खाली राखेर २१ मार्चको मिति तय भएको हो । पुरा तालिका भने यस महिनाको अन्त्यमा प्रकाशित हुने अनुमान गरिएको छ ।
साविक विजेताको आतिथ्यलाई स्वीकार गर्दै उद्घाटन खेल अर्को टोलीले खेल्ने छ । कलकत्ता नाइट राइडर्स साबिक विजेता भएकै कारण उद्घाटन खेल हुने स्थान कलकत्ता चयन गरिएको हो । दोस्रो क्वालिफायर पनि कलकत्तामा नै हुने छ । पहिलो क्वालिफायर र इलिमिनेटर भने हैदरावादमा हुनेछ ।

यस वर्षको आइपिएलमा पनि ७४ खेल हुनेछन ्। पछिल्ला २ सिजनमा पनि ७४ खेल नै भएका थिए । यस वर्ष टेस्ट च्याम्पियनसिपको फाइनल पनि हुने भएकाले भारतीय खेलाडीलाई धेरै भार नपार्नका लागि सो नीति लिइएको भए पनि भारतले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाइसकेको छ ।

महिला प्रिमियर लिग ४ स्थानमा

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले महिला प्रिमियर लिगका लागि मुम्बई र बंगलोरको साथमा थप दुई स्थान थपेको छ । यसरी थपिएको स्थानमा बरौडा र लखनउ हुन् । यस लिगको पनि तालिका बाहिर आउन बाँकी छ ।

पन्जाबका कप्तान ऐयार

पन्जाब किङ्सले यस सिजनका श्रेयास ऐयारलाई कप्तान चयन गरेको छ । आइतबार साँझ टिभी रियालिटी सो बिग बोसमा कप्तान चयन गरेको हो । सो कार्यक्रममा युजभेन्द्र चावल र शसांक सिंहको पनि उपस्थिति थियो । उनले प्रशिक्षक रिक्की पोन्टिङसँग फेरी सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । यस अघि पोन्टिङको प्रशिक्षण तथा ऐयारको नेतृत्वमा दिल्लीले फाइनलको यात्रा तय गरेको थियो ।

पोन्टिङले ऐयारसँग खेललाई नियन्त्रणमा राखेर अघि बढ्न सक्ने क्षमता रहेको बताए । गत वर्ष कलकत्तालाई उपाधि दिलाएका ऐयार यस सिजनमा २६ दशमलव ७५ करोड भारतीय रुपैयाँमा पन्जाबमा आबद्ध भएका हुन् ।

अक्सनमा समेत उनी सबैभन्दा महँगा खेलाडी घोषित रहेका थिए । उनको कीर्तिमान केही मिनेट पछि दिल्लीले ऋषभ पन्तलाई २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेर भंग गरेको थियो ।
ऐयारले यस सिजनको सैयाद मुस्ताक ट्रफीमा मुम्बईलाई चौथो स्थान दिलाएका थिए । सो प्रतियोगितामा उनी सबै भन्दा धेरै रन प्रहार गर्न पनि सफल भएका थिए ।

प्रतिक्रिया