अकल्यान्ड । श्रीलंकाले न्युजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा १४० रनको जित हात पारेको छ । यसअघि नै २ खेलमा सफलता पाएर शृंखला आफ्नो पक्षमा पारिसकेको न्युजिल्यान्ड शनिबारको खेलमा निरीह सवित भएको हो । २९१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २९ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५० रनमा सीमित भयो ।
न्युजिल्यान्डलाई साँघुरो योगफलमा सीमित गर्ने क्रममा आसिथ फर्नान्डाले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । न्युजिल्यान्डले २१ रनमा नै पाँचौँ विकेट गुमाएका थियो । सातौँ ओभर सकिन १ बल बाँकी रहँदा फर्नान्डोले रचिन रवीन्द्रलाई १ तथा टम लाथम र ग्लेन फिलिप्सलाई शून्य रनमा आउट गरे । विल यङ ८ बलको सामना गर्दै कुनै रन नजोडेरै आउट भए । यङलाई थक्सेनाले आउट गरे । थक्सेनाले ७ दशमलव ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । उनले ८१ रन बनाएका मार्क चापमानलाई पनि आउट गरेका हुन् । शीर्ष ६ ब्याट्सम्यानमध्ये उनी मात्र दोहोरो अंक छुन सफल भए ।
उनीपछि दोस्रो धेरै रन बनाएका नाथन स्मिथले १७ रन जोडे । यी २ जनाले आठौँ विकेटका लागि ६१ रनको साझेदारी गरे । स्मिथलाई भने इसान मालिंगाले आउट गरे । मालिंगाले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेटको क्षतिमा २९० रन जोडेको थियो । श्रीलंकाका लागि पथुम निसान्काले सर्वाधिक ६६ रनको योगदान गरे । ४२ बलको सामना गरेका उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
कुशल मेन्डिसले ५४ तथा कामिन्डु मेन्डिसले ४६ रन जोडे । जानिथ लियंगेले ५२ बलमा ५३ रन जोडे । अलराउन्ड प्रदर्शन गरेका उनले १ विकेटसमेत लिए । उनको पारीमा ३ चौका र २ छक्का समावेश थियो । कुशलले पनि ४८ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । भिमा गतीमा ब्याटिङ गरेको कामिन्डुले ७१ बलको सामना गरे । न्युजिल्यान्डका म्याट हेन्रीले १० ओभरमा ५५ रन खर्चिदै ४ विकेट लिए । उनी यस शृंखलाका म्यान अफ द सिरिज पनि घोषित भए । माइकल सन्टनरले २ विकेट लिए ।
प्रतिक्रिया