चित्रकलामा विगुल फुक्दै विगुल

कुनै समय चित्र कोरेर पनि आम्दानी हुन्छ र ? भनेर सोध्ने हाम्रो समाजमा भने पछिल्लो समय बजार बढ्दै गएको छ । एउटा चित्रले हजारौँ शब्दले नबोलेको कुरा बोल्न सक्ने र मनको भावानासमेत व्यक्त गर्न सक्ने भएकै कारण पछिल्लो समय युवा युवतीको यस क्षेत्रमा आर्कषण बढेको छ । मिहेनत गर्न सके चित्रकला तथा यससँग सम्बन्धित सृजनात्मक कामको बजार राम्रै रहेको उनले सुनाए ।

रहरै रहरले व्यावसायिक कलाकार बनेका विगुल ढकाललाई आफूले कहिलेदखि चित्र कोर्न थालेको भन्ने ठ्याक्कै याद छैन् । उनी सानो उमेरदेखि नै चित्र कोर्न थालेको सुनाउँछन् । उनकी आमा अमिनाका अनुसार विगुलले पहिलोपल्ट रावणको चित्र बनाएका रहेछन् । उनले विद्यालय जानु अघि तथा अक्षर चिन्नु अगाडिदेखि नै चित्र कोरेको बताए । व्यवसायिकरुपमा भने उनले कक्षा १२ पास गरेपछि चित्रकलाको काम गरेको बताए । १२ पास भइसकेपछि विदेश गएका उनले उता पनि (आर्ट)को काम गरेको बताए ।

हाल चित्रकला तथा वाल पेन्टिङ लगायतका काममा व्यस्त विगुलले ललितकला क्याम्पसबाट ललितकलामा स्नातक (बिएफए) पास गरिसकेका छन् । विशाल क्षेत्र भएको चित्रकलामा उनका मनपर्ने विदेशी कलाकार डिएगो भेलास्किज्, दा भिन्ची र मोने हुन भने, नेपाली कालाकार समुन्द्र मान र सशी विक्रम शाह हुन् ।

ललितकलामा पढिरहेको समयमै पहिलो व्यावसायिक काम गरेको उनले बताए । ‘व्यवसायिकरुपमा चित्रकलामा लागेको १५ वर्ष भइसक्यो । १५ वर्ष अगाडि ठमेलको रुट्बार भन्ने रेष्ट्रोरेन्टबाट काम आएको थियो । त्यहाँ अर्को साथीलाई काम आएको रहेछ । उसले राम्रो काम गर्ने साथीहरु खोज्दै जाँदा म पनि जोडिएँ ।’ उनले भने, ‘हामीले ५ जनाको ग्रुप बनाएर त्यो काम गरेका थियौँ । त्यसमा चित्रकोर्ने मात्रै नभएर मूर्तीसमेत मिलाएर पर्खालमा एउटा ट्याम्पो शान्त ठाउँमा गइरहेको बनाएका थियौँ ।’ उनले त्यसको ५० हजार रुपैयाँ पारिश्रमिक आएका अहिले पनि सम्झन्छन् ।

जिल्लास्तरीय चित्रकला प्रयोगिता र ५ सय रुपैयाँको हौसला

विद्यालय गइसकेपछिको दिन सम्झिदै उनले भने, ‘म विद्यालयदेखि नै राम्रो चित्र कोर्ने गर्दथे । म कक्षा ५ मा पढ्नेबेला बारा जिल्ला शिक्षा कार्यायले जिल्लास्तरीय चित्रकला प्रयोगिता गरेको थियो । म पढने जनता माध्यमिक विद्यालयबाट मलाई नै पठाइएको थियो । तर त्यो प्रतियोगितामा म बाहेक अरु कोही पनि सहभागी नै भएनन् । कोही सहभागी नभएपनि निर्णयकहरुले मैले बनाएको चित्र हेरे र मन पराएछन् । मैले नै जितेको भनेर घोषण गरिदिनु भयो । मेरो जीवनमा पहिलो पटक पत्रिकामा नाम आएको त्यो नै हो । त्यतिखेर सरले मलाई ५ सय रुपैयाँसमेत दिनुभएको थियो । सरले दिनुभएको त्यो ५ सय रुपैयाँले मलाई यो क्षेत्र थप मिहेनत गर्ने हौसला मिल्यो ।’ त्यो पैसा आफ्नो लागि ठूलै भएको उनले सुनाए ।

विगुल आफ्नो अनुकरणीय व्यक्तित्वको रुपमा आफ्नो मामा स्व सहदेव भट्टराईलाई सम्झन्छन् । उनका मामाले पनि चित्र कोर्ने भएकोले उनी मामाको रंङसमेत प्रयोग गर्न पाएको बताउँछन् । २०४५ सालमा बाराको जितपुर सिमरामा जन्मेका बुवा रुद्र ढकाल र आमा अमिना ढकालका कान्छा छोरा विगुलले सानैदेखि कोरेका चित्र संकलन गरेर राख्न एउटा टिनको बाकस पनि राखेको बताए । उनले कोरेको चित्रहरु पछि घरका साना भाइबहिनीले लगेर विद्यालयको पर्खालमा टासिदिएको उनले सुनाए । उनी सिक्दै गर्दा कहिले परिवारको सदस्यको चित्र कोर्थे कहिले, आफू वरपरको वातावरणको । सानोमा घरका भित्ता , खम्बा पनि उनका चित्रले रंगिन्थे ।

सानोमा रंङबारे खासै ज्ञान नभएका उनी जे पायो त्यसैले चित्र कोर्ने गरेको अनुभव सुनाउँछन् । उनलाई घरपरिवारको साथ भने एकदमै राम्रो रहेको बताए । उनले भने, ‘पढाइसँगै चित्रकला देख्दा परिवारका सदस्यहरु निकै खुसी हुनुहुन्थ्यो । पढाइ कहिलेकाही प्रभावित हुन्थ्यो नै । किताव ल्याएकै दिन धेरै पढेर सकाइहाल्ने मेरो बानी थियो । पढेर थन्क्याउथेँ ।’

ललितकलामा पढ्नुपर्छ भनेर उनका बुबाले नै सुझाव दिएका थिए । पहिले अर्को कलेजमा विजनेस पढ्न जोडिएका उनी अर्को वर्षदेखि ललितकला पढ्न थालेका थिए । उनले विहान विजनेस र दिउँसो ललितकला पढन् गएको सुनाए । उनका बुबालाई छोराले रुचि अनुसार नै पढोस् भन्ने लागेर ललितकलामा भर्ना गरिदिएको उनले बताए ।

चित्रकलाको बजार

कुनै समय चित्र कोरेर पनि आम्दानी हुन्छ र ? भनेर सोध्ने हाम्रो समाजमा भने पछिल्लो समय बजार बढ्दै गएको छ । एउटा चित्रले हजारौँ शब्दले नबोलेको कुरा बोल्न सक्ने र मनको भावानासमेत व्यक्त गर्न सक्ने भएकै कारण पछिल्लो समय युवा युवतीको यस क्षेत्रमा आर्कषण बढेको छ । विगुलका अनुसार पछिल्लो समय बजार सामान्य नै छ । मिहेनत गर्न सके चित्रकला तथा यससँग सम्बन्धित सृजनात्मक कामको बजार राम्रै रहेको उनले सुनाए ।

उनले भने, ‘कलाको पारखी भनेर विदेशमा जस्तो महँगो महँगोमा त खासै बिक्री हुँदैन । नेपालमा जसले पनि सस्तो नै खोज्ने गरेका छन् ।’ उनका अनुसार नेपालमा रेष्टोरेन्ट बढेको कारण वालपेन्टिङ तथा आर्टको बजार बढिरहेको छ । काठमाडौँ महानगरले पनि आर्टलाई स्थान दिएको कारण कलाकारहरुले काम पाइरहेका छन् । यसरी अन्य स्थानीय सरकारहरुले पनि सिक्दै गए भने कलाकारहरुले राम्रो काम पाउने उनको विश्वास छ ।

चित्र कोरेर आफैँ बेच्न सक्ने अवस्था भएपनि सबैको लागि त्यो सहज हुन नसक्ने उनले सुनाए । उनले भने, ‘ठुलो संख्यामा चित्र कोरेर ठमेलमा लगेर बेच्दा पनि बिक्री त हुन्छ, तर राम्रो मूल्य पाइदैन् ।’ ग्यालरी तथा प्रर्दशनी गरेर बेच्ने अर्को माध्यम हो । यसरी बेच्न सँधै सम्भव हुँदैन ।’

यसै क्षेत्रमा लाग्ने उनको योजना छ । नेपालको कलाकारिताको इतिहास युगौँ पुरानो भएकोले अहिले आएर आत्तिहाल्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘संघर्ष गर्दै जाने हो सफलता प्राप्त हुँदै जान्छ ।’ उनलाई आफ्नो पेसा प्रति विश्वास छ ।

चित्रकला सम्भावना

चित्रकलाको सम्भावना निकै राम्रो रहेको उनले बताए । ‘चित्रलाई हामीले हरेक कुरासँग जोड्न सक्ने ठाउँ छ । चित्र कागजमा कोर्नुको साथै पर्खालमा कोर्ने, अनि त्यस्तै बगैचाको, घरको तथा अन्य सजावटको चित्र कोर्न सकिन्छ ।’ उनले भने, ‘डिजाइनलाई इन्जिनियरिङसँग जोड्न पनि सकिन्छ । कुनै शहरको डिजाइन गनुृपर्यो भने पनि चित्रकलाबाटै सुरुवात हुन्छ । चित्रकोरेपछि नक्सा र इन्जिनियरले काम गर्ने हो ।’

हालसम्म उनले थुप्रै पेन्टिङ तथा चित्र बेचिसकेका छन् । उनले बेचेका चित्रहरु २५ हजारसम्मको पनि रहेका छन् । आर्टवर्क भने उनले ५ लाखसम्मको समेत वेचेका छन् । त्यो भने उनले डिजाइन गरेर बेचेको बताए ।

ग्रुपबाटै काम गर्न सुरु गरेका उनले आफूले कमाएको रकम आफ्नै विवाहमा खर्च गरेको बताए । पछिल्लो समय कलेजको शुल्क तथा पढ्ने खर्च पनि घरबाट रकम माग्नु नपरेको उनले सुनाए । हालसम्म विगुल ढकालले सुरुमा कक्षा ५ पढ्दा जिल्लास्तरीय पुरस्कारसहित दर्जनौँ सम्मान तथा पुरस्कार पाइसकेका छन् । ढकाल राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा मधेश प्रदेशबाट समसामयिक चित्रकलामा ५० हजार रुपैयाँ नगदसहित सम्मानित भइसकेका छन् ।

धेरै ठुलो योजना नबनाएका उनी फरक तरिकाले अर्टमै जम्ने बताउँछन् । अरुलाई सिकाउदै आफू पनि पृथक आर्ट गर्दै जाने उनको योजना छ, भने सबैले सिक्न सक्ने एउटा विद्यालय बनाउने उनको सपना पनि छ । सिक्नेहरुको लागि पाठशाला बनाउने उनको सपना छ । उनले आर्ट सिक्नेहरुको लागि उपयुक्त विद्यालय तथा पाठशालाको कमि रहेको बताए ।

कला कलाकै लागि हो

आर्ट सिक्ने हो भने मिहेनत र धैर्य गर्न सक्ने क्षमता हुनुपर्ने उनको भनाइ छ । नयाँ आउने पुस्तालाई सुझाव दिंदै उनले आम्दानी गर्छु भनेर मात्र नआउन आग्रह गरे । उनले भने, ‘एउटा भनाइ छ नि कला कलाकै लागि हो’ अरु कुराहरु गौण हुन् । आर्ट (कला) लाई राम्रो गर्छु भनेर लाग्यो भने सफल भइन्छ । यो क्षेत्रमा राम्रोसँग सिकेर लाग्न जरुरी छ ।’ इन्टरनेटको दुनियाँमा कला सिक्न विद्यालय तथा कलेज नै जानु पर्छ भन्ने छैन्, विभिन्न सोसल मिडियाहरुबाट पनि सिक्न सक्ने अवस्था रहेको उनको अनुभव छ ।

आर्टका लागि चाहिने आवश्यक सामाग्रीहरु पनि बजारमा खोजेजस्तो पाइन थालेका छन् । मार्केटिङ गर्न पनि इन्टरनेटको माध्यमबाट सजिलो भइरहेको उनले बताए । विगुलले पनि आफ्नो स–साना आर्टहरु सोसल मिडियामा राख्ने गरेको सुनाए ।

२०७२ भुकम्प र त्यो अविष्मरणीय क्षण

विगुलसँग २०७२ वैशाखमा गएको महाभुकम्पको समयमा भएका विभिन्न विर्सिन नसक्ने क्षणहरु पनि रहेका छन् । उनी भर्खर यो क्षेत्रमा पाइला चाल्दै गरेको अवस्था थियो । जब भुकम्प आयो अरुलाई अरु कुराको चिन्ता थियो । कोही राहत बाडदै थिए कोहि उद्वारमा थिए । विगुल र उनको समुहलाई एउटा रेष्टोरेन्टममा बनाएको आर्टको चिन्ता थियो । २०७२ सालको बैशाख मै विगुल र उनका साथीहरुको समूहले ठमेलको पुरानो घरमा रहेको रुट्सबारमा एउटा आर्ट बनाउने काम पाएका थियो ।

उनीहरुले सफलतापूर्वक काम सम्पन्न गरि घर गएको उनले सुनाए । ‘भुकम्प आउँदा शुरुमा घरपरिवारको चिन्ता भए पनि एकछिन पछिदेखि त्यहिं आर्टको चिन्ता भयो । सबैजना चिन्ताले गर्दा त्यो आर्ट हेर्न पुगिसकेका रहेछन् । आर्ट चाहि धन्न केही भएको रहेनछ । उनले भने, ‘त्यसपछि कलेज पुग्यौँ कलेज भत्किएको रहेछ, अब केही महिना कलेज नचल्ने जस्तो देखेर हामी भुकम्पले क्षति गरेको ठाउँमा गएर चित्र कोर्ने काम गर्न थाल्यौँ । जहाँ जे देख्यो त्यहि चित्र कोर्न हिडेका हामी काठमाडौँ पछि सिन्धुपाल्चोक पुग्यौँ ।’

जिल्ला जिल्लामा पुगेर चित्र कोर्न त्यति सहज थिएन । उनीहरुले आफूले कोराका चित्रहरुको प्रर्दशनी गर्ने सोच बनाए । पर्दशनी आम जनताले देख्ने ठाउँमा नै गर्ने भन्ने निष्कर्षमा उनीहरु पुगे । सोही अनुरुप उनीहरुले काठमाडौँको बसन्तपुर, ललितपुरको पाटन दरबार स्क्वायर, गोरखाको वारपाक र ललितकला क्याम्पसमा भुकम्पबारे कोरिएका चित्रहरुको प्रर्दशनी गरेको विगुलले बताए । प्रर्दशनीकै क्रममा सहयोग स्वरुप केही रकम पनि संकलन गरेको र सोही रकमले थप आर्ट बनाएको उनले संम्झिए ।

चित्र कोर्दा कोर्दै गएको त्यो भुकम्प

ठाउँ ठाउँमा पुगेर चित्र कोरिरहेको विगुलको समुह काठमाडौंको काभ्रेस्थलीमा एउटा गल्लिमा बसेर भुकम्पले भत्काएको घरको चित्र कोदै थियो । सोही क्रममा दोस्रो ठूलो भुकम्पको गएको विगुलले सुनाए । उनले भने, ‘हामी काभ्रेस्थलीको एउटा सानो गल्लिमा चित्र कोर्दै थियौँ । त्यहाँ निकै सानो ठाउँ थियो । त्यहि क्रममा एक्कासी २०७२ को दोश्रो भुकम्प गयो, त्यो समयमा आफूहरु निस्किन ठाउँ नै नभेट्दा होस हवास नै उडेको थियो । त्यो नै जीवनको विर्सिन नसकिने दिन बन्यो । त्यो समयमा हामीले साढे २ सयभन्दा भन्दा बढी चित्र कोरेका थियौँ ।’

चित्र कोर्दा कोर्दै झण्डै भुकम्पमा परेका चित्र अझैँ अधुरो रहेको विगुलले बताए । उनले भने, ‘त्यो अविष्मरणीय क्षणको त्यो चित्र अपुरो जस्तो भए पनि मेरा लागि त्यहि नै पूर्ण हो ।’ त्यो चित्र नै विगुलको जीवन कै महत्वपूर्ण बनेको छ ।

भुकम्प पछिको त्यो समय राहत, उद्धारको थियो झट्ट हेर्दा त्यो समयमा चित्रको कुनै महत्व थिएन । तर विगुलको समुहले त्यो समयमा पनि चित्र महत्वपूर्ण छ भन्ने देखाउन सफल भयो । आफन्त गुमाएका तथा घरवार विहीन भएकाहरुको ठाउँमा पुग्दा सुरु सुरुमा राहत ल्याएको होला भनेर आश गर्ने गरेको पनि विगुलले सुनाए । उनले भने, ‘हामी आफैँ चिउरा र चाउचाउ खाएर हिंडिरहेकोले हामीले राहत लान सक्ने कुनै क्षमता थिएन् । हामी भुकम्पले क्षति गरेको ठाउँमा पुगेर चित्र कोर्न थाल्दा के को नक्सा कोरेको होला ? भनेर हेर्नेहरु केहीले सोध्थे। पछि चित्र पुरा भइसकेपछि आफैँलाई देख्दा ती पीडित पनि दंग पर्थे । हाम्रो उपलब्धि नै त्यहि भयो कि जो मानिस पीडित छ हाम्रो आर्ट (चित्र) लाई देखेर रुदाँ रुदै पनि हाँस्थ्यो । त्यसपछि हामीले आफ्नो समूहको नाम नै नक्शा राख्यौं ।’ पीडितहरु नै हामीलाई खाना खाएर जाउ भन्थे । हामीले यति धेरै माया पाउथ्यौँ कि शब्दमा व्यक्त गर्न सकिदैन ।

चित्रकलामा व्यस्त विगुलले सरकारसँग एउटा राम्रो कलेजको अपेक्षा गरेका छन् । उनले चित्रकला (आर्ट) गर्न सिकाउने कलेज नै नभएको गुनासो गरे । ‘यस क्षेत्रलाई विकास गर्ने हो भने, चित्रकला अध्ययन गर्ने राम्रो संस्था चाहिन्छ,’ उनले भने ।

प्रतिक्रिया