मान्छेबेगरका घरहरु

अहिले लगभग छिमेकीविहीन जस्तै रमादेवीको घरबाट दायाँबायाँ जता फर्कियो उतै छन् जीर्ण छिमेकी बेगरका घर । घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ ।

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ’ छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ ।

अहिले लगभग छिमेकीविहीन जस्तै रमादेवीको घरबाट दायाँबायाँ जता फर्कियो उतै छन् जीर्ण छिमेकी बेगरका घर । उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ । उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता छ । किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ ।

‘बालखैमा बिहे गरेर आएको गाउँ हो । यहाँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो’ उनी भन्छिन् ‘हराउँदै गयो गाउँको रौनक ।’ बिहे भएर आएदेखिको उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर । ‘कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो’ उनी विगत संझिन्छिन् ‘अहिले घरहरु छन्, बस्ने कोही छैनन् । सबै शहरतिर लागे । सुख र सुविधाले त्यतै तान्यो ।’

छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ । कुनै समय थियो । ‘गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फुलफूल टिपेर बिठ्याइँ गरिदिन्थे’ उनको स्मृति बग्दै गयोे ‘उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपथ्र्याे । अहिले चरा र बाँदरले खाएर रित्याउँछन् । मान्छे भेटिदैनन् ।’

लमजुङको राइनास नगरपालिका–१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ । त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने छन् । अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो । ‘यहाँका अधिकांश बुबाहरु शिक्षक पेशामै आबद्ध हुनुभयो भने छोराछोरी केहिले यही शिक्षण पेशा अपनाएका छन्’ रमादेवीका छोरा राममणि न्यौपानेले बताए । राममणि गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक छन् । उनका अनुसार टोलमा ५५ घरधुरी छन् ।

यसमध्ये मुस्किलले २६÷२७ घरमा मात्रै घरमुली बसोबास गर्छन् । अरु अधिकांश शहरतिरै त कोही विदेश पलायन छन् । शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ । पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सिमित हुनुपरेको पीडा उनले सुनाए ।

कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन् । त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी छन् । ‘गाउँमा अभिभावक नै नभए पछि पढ्न आउने केटाकेटी कहाँ पाउनु ?’ उनी भन्छन् ‘कहिलेकाहीँ कुनै विद्यार्थी नआइदिएर कक्षा रित्तै हुने गर्छ ।’ राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो । यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ ।

राइनास नगरपालिका–१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी, कत्रेनी, बोराङलगायत टोल छन् । टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका पनि छन् । तर पालिकाले योजनाबद्ध ढङ्गमा आधुनिक कृषि र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा शहरमुखी हुन थालेको स्थानीय बताउँछन् ।

बस्तीमा मान्छे बस्न छाडेपछि मनोबल कमजोर हुँदै गएको स्थानीय प्रेम न्यौपानेको अनुभव छ । ‘छरछिमेकी हुँदा गाह्रोसारो परेको बेला सहयोगी हात हुन्थे’ उनी भन्छन् ‘अहिले विरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन ।’ गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि शहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाद परिवार आउँछन नभए वर्षौदेखि घरले स्याहार नपाएको स्थानीयले बताए । प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन । उनीहरु तीनैजनाको घरमा ताल्चा छ । रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन् । ‘मेरो वरिपरि त सबै घरमा ताला लागेको छ । छिमेकी नहुँदा निकै नियास्रोको महसुस हुन्छ’ प्रेमले भने, ‘गाउँका टाँठाबाठा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन ।’

गाउँको छेउमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन । ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुख्र्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन् । उनको ठूलो छोरो चितवन रोजगारका सिलसिलामा उतै छन् । माइलो र कान्छो काठमाडाँैमा छन् । सुविधा न भएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरु जोड गरे पनि जन्मेलको थलो छोड्न मन नलाग्ने गरेको उनले बताए ।

‘हामी चिसो छल्न गाउँ आएका । होइन भने प्रायः काठमाडौँतिर बस्छौँ’ उनले भने, ‘किन बस्ने गाउँमा भो अब दुःख गर्नु पर्दैन भन्छन् छोराहरु ।’ बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्कील हुने गाउँको दुःख सम्झीँदा विष्णुहरीले गाउँको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताए । उनले भने जस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन ।

एकछिनका लागि हेर्दा जति रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ । ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लागाए । उनको पुर्खौली जिउने आधार खेती किसानी हो । सकि नसकी लगाएको बाली बाँदर, मृग, दुम्सीजस्ता जनावरले एकैछिनमा सखाप पारिदिन्छन् । ‘अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई’ उनी किसानले भोग्नु परेको पीडा सुनाउँछन्, ‘के खाएर बस्ने हो यो गाउँमा ? अनि शहर नपसे के गर्ने ?’

लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपाने गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्छिन् । रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै शहर पस्न थालेपछि गाउँ नै सुसनान हुँदै गएको उनले सुनाइन् ।

राजकुमारीका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनको बुझाइ छ । सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताउँछिन् ।

धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षक छ । परम्परागत रुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन् । ‘खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ’ विमला भन्नुहुन्छ, ‘कृषिमा आधुनिकीरण गर्न सके आयआर्जनमा धेरै राहत हुन्थ्यो ।’

प्रतिक्रिया