दोस्रो क्वालिफायरमा कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि ११९ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रनको योगफल बनाएको हो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन बनाए । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । देव जेम्स निशमको बलमा आकाश त्रिपाठीबाट समातिए ।

विलियम बोसिस्टोले १५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडे । बोसिस्टो ललितनाराण राजवंशीको बलमा विकेट किपर लाहिरु मिलन्थाबाट समातिए । जिशान मक्सुद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान सोमपाल कामी ५, अघिल्लो खेलमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला १ तथा अर्जुन घर्ती २ रनमा आउट भए ।

युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ । कर्णालीले भने बुधबार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराएको थियो । कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ । आजको दोस्रो क्वालिफायरमा अहिले जनकपुर जवाफी ब्याटिङमा उत्रेकाे छ ।

प्रतिक्रिया