काठमाडौं । राजधानीमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल बनाएको हो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२–१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११–११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक–एक विकेट लिए ।
सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । आज नै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउने छ । हार्ने टोलीले भने आजै भएको इलिमीनेटर खेलको विजेता कर्णाली याक्ससँग फाइनल प्रवेशका लागि बिहीबार खेल्ने छ ।
प्रतिक्रिया