महिला हिंसा विरूद्धको अभियान र यसको सार्थकता

लैंगिक विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य गरिनुपर्छ । लैंगिक समानता, महिलाले आफ्नो शरिरमाथिको निर्णय र अधिकारको सुनिश्चितताका साथै कानुनी व्यवस्था र कार्यान्वयन, समाजमा सचेतना र कठोर दण्डको रणनीति नलिँदासम्म यस खालको अभियानको सार्थकता भेटिन्छ भन्ने लाग्दैन ।

लक्ष्मी भुसाल

अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने महिला–लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान भरखर सकिएको छ । लैंगिक रूपमा हुने हिंसा नियन्त्रणका लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस १० मंसिरदेखि सुरू भएर २५ मंसिर (नोभेम्वर २५ देखि डिसेम्बर १०) सम्म मनाउने गरिन्छ । यस अभियानको सुरुआत सन १०८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकाबाट भएको थियो ।

उक्त दिवश विश्वमै पहिलोपटक मनाइएको थियो । त्यहाँका महिलाहरू व्यक्ति, परिवार र समाजसँगै राज्यबाटसमेत पीडित थिए । उनीहरूको स्वतन्त्रतापूर्वक बस्ने, खाने र बाँच्ने अवस्था थिएन । त्यति मात्र नभएर महिलाहरूलाई कानुनी रूपमै घरबाट बाहिर निस्कन बन्देज थियो । त्यहाँका महिलाहरू तानाशाह शासनको अन्त्य गर्न चाहान्थे । पीडा र प्रताडनाबाट महिलाहरू उन्मुक्ति हुन चाहन्थे । आफू विरूद्धको हिंसा अन्त्यका लागि महिलाहरू आन्दोलन गर्न सरिक हुनथालेपछि त्यसको नेतृत्व पेट्रिया, मिनर्भा र मारिया ३ जना दिदीबहिनीहरूले गरेका थिए । उक्त आन्दोलन यति विशाल र शक्तिशाली बन्यो कि तानाशाही त्रिजिलो सकारले ती दिदीबहिनीलाई निर्मम हत्या गर्नेसम्म पुग्यो । शिक्षित र सचेत महिलाका रूपमा परिचित ती दिदीबहिनीले त्रिजिलो तानाशाही सरकारका विरूद्ध लाखौँ लाख मानिसहरू सडकमा ओर्लिने अवस्था सिर्जना गरेका थिए ।

राजद्रोहको अभियोगमा उनीहरूलाई पटकपटक जेलमा हाल्ने काम भए । अन्ततः त्यो तानाशाही सरकाले सन् १९६० मा नोभेम्बर २५ मा तीनै दिदीबहिनीलाई निर्ममतापूर्वक हत्या गर्यो । उक्त हत्याकोे १ वर्षमै तानाशाही त्रिजिलो सरकार ढल्यो । त्यसपछि त्यहाँका महिलाहरूले तानशाही सरकारबाट उन्मुक्ति पाए । त्यही घटनालाई महिलामाथि हुने हिंसाका रूपमा लिने गरिएको हो । साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिनसम्मको समयलाई अन्तर्राष्ट्रिय जगतमा महिला हिंसाविरूद्ध १६ दिने अभियानको सुरुआत भएको हो ।

यता नेपालमा भने यस अभियानको सुरुआत २०५४ सालदेखि सुरु गरिएको पाइन्छ । सुरुमा यस अभियानलाई महिला मात्रको मुद्दा र यसको समाधान महिला मात्रले खोज्नुपर्ने खालको बुझाइ थियो । तर, समय, सोच र मानवीय चेतनामा आएको परिवर्तनले केही वर्ष अघिदेखि यसको स्वरूपमा फराकिलो बन्दै गइरहेको छ । यस प्रकारको हिंसा हाल जुनसुकै लिंग, समुदाय र समाजमा घट्न सक्ने बहुआयामिक र बहुसरोकारको विषय बनाएर सबै क्षेत्रबाट यसको अन्त्यका निम्ति प्रयास खोजिनुपर्छ । २०७५ सालदेखि प्रत्येक वर्ष यस अभियानलाई औपचारिक रूपमा बर्सेनि मनाइने गरिन्छ ।

यस वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हामी सबैको प्रतिवद्धता ः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ लैंगिक हिंसा विरूद्धको अभियानको राष्ट्रिय नारा तय गरेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणपत्र र कार्यान्वयनको ३० वर्ष ः महिला विरूद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको थियो । प्रहरीको तथ्यांकअनुसार नेपालमा लैंगिक हिंसाको रूपमा महिलामाथि हुने घरेलु हिंसा, यौनजन्य हिंसा, आर्थिक तथा राजनीतिक हिंसा मुख्य रहेका छन् । बर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरूद्धको आवाजलाई सशक्त बनाउन यस अभियानले सहयोग पुर्याउँछ ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नं. ४८–१०४ बाट पारित महिला हिंसा अन्त्यसम्बन्धी राष्ट्रसंघीय घोषणाापत्रले गरेको परिभाषाअनुसार ‘महिला विरूद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा हुने हिंसाजन्य कार्यको रूपमा लिइन्छ, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउँदछ वा पुर्याउने सम्भावना हुन्छ, जसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देजसमेत पर्दछ ।’

महिला हिंसा के हो ?

महिला विरूद्धको हिंसा भन्नाले व्यक्ति, परिवार, समाज र राज्यद्वारा महिलामाथि हुने गरेका जुनसुकै प्रकारको शारीरिक, मानसिक, मनोवैज्ञानिक, यौनजन्य हिंसा, यातना, लाञ्छना वा भेदभाव नै महिला हिंसा हो । महिलाको निजी जीवनदेखि सामाजिक जीवनसम्मको कुनै पनि हिंसा (बालविवाह, बोक्सी आरोप, बहुविवाह, गालीगलौज, स्रोत–साधनबाट वञ्चित, अन्तर व्यक्तिगत हिंसा कुटपिट, बलात्कार, यौन दुव्र्यवहार) दण्डनीय र अमानवीय मानिन्छ ।

पहिले घरभित्र पारिवारिक रूपमा महिलामाथि विभिन्न निहुँमा गर्ने शारीरिक, मानसिक यातना दिने, चोट, घाउ लगायतका घटनालाई मात्र बुझिन्थ्यो । तर, अहिले महिलामाथि हुने हिंसाका बहुआयामिक र बहुसरोकारको विषय बनिसकेको छ ।

सार्वजनिक यातायातमा, स्कुल, कलेज, विश्वविद्यालयमा, साइबर, एसिड आक्रमण जस्ता गम्भीर अपराधदेखि आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक, प्रशासनिक लगायतका क्षेत्रमा गरिने अस्वभाविक व्यवहार नै महिला हिंसा हुन् । महिलालाई योग्य, सक्षम र क्षमतावान् हुदाँहँुदै पनि तोकिए अनुसारको काम र जिम्मेवारी दिन आनाकानी गरिन्छ । महिला भएकै कारण कमजोर सम्झिने मानसिकताको अन्त्य र सुधार नभएसम्म यस किसिमका हिंसा नियन्त्रण र निर्मूल गर्न सयम लाग्ने देखिन्छ ।

लैंगिक विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य गरिनुपर्छ । लैंगिक समानता, महिलाले आफ्नो शरिरमाथिको निर्णय र अधिकारको सुनिश्चितताका साथै कानुनी व्यवस्था र कार्यान्वयन, समाजमा सचेतना र कठोर दण्डको रणनीति नलिँदासम्म यस खालको अभियानको सार्थकता भेटिन्छ भन्ने लाग्दैन ।

ओरेक नेपालले प्रकाशित गरेको अन्वेषी २०८१ का अनुसार २०८०–२०८१ मा ९२ जना महिलाको हत्या भएको छ । हत्या गरिएका महिलाहरूको उमेरका आधारमा विश्लेषण गर्दा २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका महिलाको हत्या धेरै भएको छ । यो उमेरका ४४ प्रतिशत (१ जना) महिलाको हत्या र ३ जना महिलालाई हत्याको प्रयास भएको छ भने १८ देखि २५ वर्ष उमेर समूहका २२ प्रतिशत (२ जना) को हत्या भएको पाइएको छ ।

त्यस्तै, ३६ देखि ४५ वर्ष उमेर समूहको ११ प्रतिशत (१ जना) को हत्याको प्रयास गरिएको छ भने, ४५ वर्ष उमेरदेखि माथिको उमेरका ११ प्रतिशत (१ जना) महिलाको र १८ वर्षमुनि भने ११ प्रतिशत (१ जना) बालिकाको हत्या भएको छ । यसले सबै उमेरसमूहका महिला तथा बालिकाहरू हत्याको बढी जोखिममा छन् भन्ने देखाउँछ । पछिल्लो समयलाई परिवर्तन र चेतनशील भनिन्छ । तर, विभिन्न तथ्यांकलाई हेर्दा महिलामाथि हुने हिंसाका स्वरूप बदलिँदै गएको देखिन्छ । थप असुरक्षित र अस्तव्यस्त जीवन जिउन बाध्य बनेको देखिन्छ । वर्षमा १६ दिन मात्र नभएर वर्षभरी सचेतनाका निम्ति राज्यले पहलकदमी लिनुपर्छ । अन्त्यमा, आउनुहोस्् आजबाटै एउटा प्रण गरौँ, ‘हिंसा सहन्न, हिंसा गर्दिन र हिंसा हुन पनि दिन्न ।’

(लेखक भुसाल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया