रविमाथि प्रहरीको दुर्व्यवहार : आयोगमा एआइजी पठाएर गृहमन्त्रीसँगै सुर्खेतमा आइजिपी

आइजिपीसँगै बुझ्नुपर्ने भन्दै आयोगले जारी राख्यो अनुसन्धान

काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले गरेको भनिएको दुर्व्यवहार र मानवअधिकार हनन्बारे सोधपुछका लागि मानवअधिकार आयोगले बोलाएका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले आयोगको निर्देशन अटेर गरेका छन् ।

आयोगले आइजिपीलाई नै उपस्थित हुन भने पनि उनी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई पठाएर आफू भने गृहमन्त्री रमेश लेखकसँगै सुर्खेतमा छन् । आइजिपी नआएपछि आयोगले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको विषयमा सोमबार एआइजी एवं अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसँग जानकारी लिएको छ ।

तामाङसँगै प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्की पनि आयोगमा उपस्थित भएका थिए । लामिछानेलाई चितवनबाट कास्की लैजाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले जनाएको छ ।

‘उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका प्रहरी उच्च अधिकारीसँग सोमबार आयोगले जानकारी लिएको छ,’ आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । सोमबार करिब डेढ घन्टासम्म एआइजी तामाङसहितलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा आयोगका सदस्यहरूले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानवअधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा चासो राखेका थिए ।

तर, आइजिपी कुँवर उपस्थित नभएपछि आयोगले उनलाई नै बोलाएर थप बुझ्ने भनेको छ । यस सम्बन्धमा निष्कर्षमा पुग्न आइजिपीसँगै थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको प्रवक्ता डा. टीकाराम पोखरेलले बताए । लामिछानेमाथि भएको अमानवीय व्यवहारका बारेमा अनुसन्धान गर्न कुँवरलाई बोलाए पनि उनी गृहमन्त्रीसँग सुर्खेत पुगेपछि सोमबार कुनै निष्कर्षमा पुग्न नसकिएको आयोगले जनाएको छ ।

आयोगले फेरि पनि आइजिपीलाई बोलाएकाले कुँवर जसरी पनि आयोगमा उपस्थित हुनैपर्ने भएको छ । लामिछानेलाई रातारात पोखरा लान आइजिपीकै निर्देशन दिएको भन्ने आरोपबारे अनुसन्धान गर्न उनलाई बोलाइएको हो । लामिछानेकी पत्नी निकिता पौडेलले गत शुक्रबार आयोगमा उजुरी दिएकी थिइन् ।

उनले रविमाथि अमानवीय व्यवहार भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही माग गरेकी थिइन् । तर, आइतबार चितवन प्रहरीले विज्ञप्ति नै निकालेर आफ्नो बचाउ गरेको थियो । चितवन प्रहरीले लामिछानेकै सुरक्षाका लागि रातारात गरेर पोखरा लगेको बताएको थियो ।

०००

‘रविमाथि सरकारले दमन गर्यो’

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेमाथि सरकारले निरंकुश र अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालबाट विरलै प्रतिक्रिया दिने उनले फेसबुकमार्फत् भनेका छन्, ‘अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’

लामिछानेलाई पर्सा पुर्याइयो

वीरगन्जको सानो पाइला सहकारी ठगीमा अनुसन्धानका लागि रवि लामिछानेलाई पर्सा पुर्याइएको छ । उनलाई सोमबार हवाईमार्गबाट पोखरा–काठमाडौँ–सिमरा हुँदै पर्सा लगिएको हो ।

गत १९ मंसिरमा पर्सा जिल्ला अदालतले लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ अनुमति दिएको थियो । रविलाई पर्सा ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया