एनपिएलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्सको ३३ रनले पहिलो हार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएकोदोस्रो खेलमा सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको छ । चितवनसँग यो हारसँगै सुदूरपश्चिमको पहिलो हार हो । यसअघिका तीनवटा खेलमा सुदूरपश्चिमले लगातार जित हात पारेको थियो ।

चौथो खेलमा पहिलो हार बेहोर्ने क्रममा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले हारेको हो । टस जितेर ब्याटिङ गर्दै चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १३१ रनमा अल आउट भयो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमरसिंह राउटेलाको बलमा आउट भए । सेफ जेबले ११ बलमा १८ रन जोडे । विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन जोडे ।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो ।

चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए । रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए ।

कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेटकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए ।

सुदूरपश्चिमले लगातार जित पछि पहिलो हार बेहोरेको हो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो ।

चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो । जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो ।

प्रतिक्रिया