काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुर बोल्ट्सले लगातार चौथो जित हात पारेको छ ।
लुम्बिनी लायन्सले भने यो हारसँगै लगातार चौथो हार ब्यहोरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले लुम्बिनीलाई जितका लागि १३७ रनको लक्ष्य दिएको थियो ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित भएको हो । लुम्बिनीमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन जोडे । उनले ३८ बलमा ३ चौका प्रहार गरे ।
अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेकोमा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरले लगातार चौथो जित हात पार्यो । टम मुर्सले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३१ रन जोडेर हर्ष ठाकरको बलमा आउट भए । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन चाहिएकोमा हर्ष ठाकरले रन मात्र खर्चिएर टोलीलाई लगातार चौथो जित निकाले ।
लुम्बिनीले पहिलो विकेटका रुपमा आशुतोष घिरैयालाई १४ बलमा ८ रन जोडेका थिए । आशुतोष ललित राजवंशीको बलमा हर्ष ठाकरद्वारा क्याच भए । अर्का ओपनर अर्जुन साउद २३ बलमा २० रन बनाउँदै आउट भए । जनकपुरका लागि हर्ष ठाकरले ३ तथा किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो । जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अनिल सन्दीप जोराको बलमा विवेक यादवबाट समातिए ।
लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । यसै खेलमा डेब्यु गरिरहेका अभिशेष गौतमको बलमा उनी आउट भए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे ।
मिलन्था आउट भए लगत्तै दुई बलमा पछि अभिशेषले नै हर्ष ठाकरलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिशेषले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट गराए । अभिषेशले १३औं ओभरमा महत्वपूर्ण ३ विकेट लिँदै लुम्बिनीलाई खेलमा फर्काए ।
१६औं ओभरको दोस्रो बलमा विदेशी खेलाडी मोहसिन खानलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लु धरापमा पारे । मोहसिन आउट भएपछि क्रिजमा आएका शेर मल्ल त्यसको २ बलपछि रोहितको एलबिडब्लु धरापमा नै परे ।
पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै साद विन जाफरको बलमा विवेकबाट क्याच आउट भए । एक समय ९५ रनमा १ विकेट गुमाएको जनकपुरले ४१ रन जोड्दा ८ विकेट गुमाएको थियो ।
लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिए । कप्तान रोहित र साद विन जाफरले समान २ तथा सन्दीप जोराले १ विकेट लिए ।
विजेता जनकपुरले प्लेअफ सम्भावना बलियो बनेको छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो । लगातार ४ खेलमा हार बेहोरेरको लुम्बिनीले यस हारबाट प्लेअफ सम्भावना कठिन भएको छ ।
यसअघि लुम्बिनी विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिड्दै छन् ।
प्रतिक्रिया