नारायण गोपाल स्मृति दिवसमा ३ श्रष्टा सम्मानित

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसको अवसरमा ३ श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल संगीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत संगीततर्फ संगीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशंकर थापालाई सम्मान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहेका र संगीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार रुपैयाँ र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए । ‘स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरे पनि पुग्दैन’, उनले भने, ‘अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसंगीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ, उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।’

अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्बाराहीमा नारायण गोपाल संगीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए ।

सम्मानित भएका संगीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताए । उनले भने, ‘नारायण गोपाल संगीतको विश्वविद्यालय हुनुहुन्छ, विगत ६ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ, यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो, यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ, उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।’

‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उनलाई गीतमार्फत सम्झिरहेका छन् । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छाया…’, गायक साजन लामाले ‘यति चोखो यति मिठो…’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन्…’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन…’, गायक सम्भव जंगम थापा र संगीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ…’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा…’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छ कि मूर्तिमा माया…’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गरे ।


१९९६ असोज १८ मा जन्मिएका स्वरसम्राट नारायण गोपालको २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रत्येक वर्ष मंसिर १९ गते उनी र गीतसंगीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।

प्रतिक्रिया