पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए । मिलन्था माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच आउट भएका थिए । लिगमा १४४ रनका साथ मिलन्था सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले विराटनगर किङ्ससँगको पहिलो खेलमा ७५ तथा कर्णाली याक्ससँगको दोस्रो खेलमा २४ रन जोडेका थिए ।

आज जनकपुरकै जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नट आउट १३ रन बनाए । आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे । ३३ रन बनाउँदै आसिफ कुशल भुर्तेलको बलमा डूलो सट खेल्ने धुनमा विपिन खत्रीबाट क्याच आउट भए ।

आसिफकाविरुद्ध पहिलो ओभरको तेस्रो बलमा आकाश चन्दले क्याच आउट मौका सिर्जना गरेका थिए । तर, विकेटकिपर दिलिप नाथ तथा स्लिपका फिल्डर माइकल लिस्कले मौकाको सदुपयोग गर्न चुकेका थिए । त्यस समयमा आसिफले रनको खाता नै खोलेका थिएनन् ।

ओपनर तथा कप्तान अनिलकुमार साह दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीको बलिङमा एलबिडब्लु धरापमा परे । अनिलले ३ बलमा १ रन मात्र जोडेका थिए । पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रनको मध्यम योगफल तयार गरेको थियो । पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिल साहबाट क्याच आउट भए ।

ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।

माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए । राइफर जिमी निशमको बलमा कप्तान अनिल साहबाट क्याच आउट भए ।

न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौँ ओभरको पाँचौं बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए । दिनेशले १७ बलमा १० रन जोडेका थिए ।

कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे ।

जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।

पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया