एनपिएल : पहिलो खेलमै चम्किए तनबिर र मिलन्था

जनकपुरको लगातार दोस्रो जित, बहुचर्चित कर्णाली पहिलो खेलमै पराजित

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलको मंगलबार सम्पन्न तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले हरायो । अर्को खेलमा चितवन राइनोजले पनि काठमाडौँ गुर्खाजलाई ८ विकेटले नै पराजित गर्यो । जनकपुरसँग हारेको कर्णालीमा भारतीय स्टार ब्याट्सम्यान शिखर धवन समावेश छन् । धवनकै कारण उपाधि नै जित्ने चर्चा गरिएको कर्णाली भने पहिलै खेलमा स्तब्ध बन्यो । उनै धवन १४ बलमा १४ रन बनाएर हर्ष ठाकरको बलमा बोल्ड भए ।

कर्णालीभन्दा कम चर्चा पाएको टोली जनकपुरले लगातार दोस्रो जित हात पार्दा अनिल शाहले सानदार ब्याटिङ गरे । उनले अविजित रहँदै ४२ बलमा ६२ रन प्रहार गरे । तथापि सो खेलमा पनि लाहिरु मिलन्थाले १३ बलमा २४ रन प्रहार गरे । उनलाई जेसन महमुदले एलबिडब्लू गरे ।

विराटनगर किङ्ससँगको पहिलो खेलमा त उनले अझ उत्कृष्ट प्रदर्शन गरेका थिए । अविजित रहँदै ५३ बलमा ७५ रन प्रहार गरेका उनको पारीमा ९ चौका र ३ छक्का समावेश थियो । उनकै प्रहारले जनकपुरलाई जित दिलाएको थियो ।

को हुन् मिलन्था ?

श्रीलंकामा जन्मिएका ३० वर्षीय मिलन्था हाल अमेरिकाको घरेलु खेलमा सहभागी छन् । बाल्यकालमै श्रीलंकाको घरेलु क्रिकेटमा अलराउन्डरका रूपमा चिनिएका उनी सुरुआती दिनमा लेग स्पिन बलिङ गर्थे । स्पिनरका रूपमा श्रीलंकामा टिक्न कठिन हुने सोच बनाएका उनी विकेटकिपिङतिर मोडिए ।

सन् २०१७–१८ को सिजनमा उनी त्यहाँको सीमित ओभरको प्रिमियर लिगमा सबैभन्दा धेरै रन बनाउने खेलाडीका रूपमा स्थापित भए । गालेको प्रान्तीय टोलीको प्रतिनिधित्व गरेका उनलाई श्रीलंकाको क्रिकेट बोर्डले घरेलु प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत घोषणा गरेको थियो । सन् २०२० को सुरुआतमै अमेरिका पुगेका उनी अहिले त्यहीको घरेलु क्रिकेटमा सक्रय छन् ।

जसले पहिलो खेलमै चितवनलाई जिताए

मंगलबार लिगको आफ्नो पहिलो खेलमा चितवनलाई जित दिलाउने सोहेल तनबिर भने सन् २००० को दशकको अन्त्यमा टी–२० का संसारकै उत्कृष्ट बलरमध्ये थिए । उनले पाकिस्तानी राष्ट्रिय टोली तथा इन्डियन प्रिमियर लिग (आइपिएल) मा उत्तिकै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । सन् २००७ मा भएको पहिलो टी–२० विश्वकपमा पाकिस्तान उपविजेता हुँदा तनबिर सो टोलीका महत्वपूर्ण सदस्य थिए ।

यसैगरी, सन् २००९ मा भएको दोस्रो टी–२० विश्वकपमा पाकिस्तानलाई उपाधि दिलाउने क्रममा पनि उनको प्रदर्शन त्यत्तिकै उत्कृष्ट थियो । ३९ वर्षीय तनबिरले रावलपिण्डीका तर्फबाट १३ सिजन टी–२० क्रिकेट खेलिसकेका छन् । कुनै समयमा सुपरस्टार बसिम अक्रमबाट प्रभावित उनले खेल जीवनको सुरुमै घरेलु क्रिकेटमा प्रभाव जमाएका थिए । पहिलो श्रेणीको क्रिकेटमा सातौँ क्रममा ब्याटिङ गर्दै उनले छाप छाडेका थिए ।

सन् २००८ मा राजस्थानले उपाधि जित्दा तनबिरले सनसनी नै फैलाएका थिए । सो आइपिएलमा पनि राजस्थान अन्य टोलीको तुलनामा कम खर्चिलो तथा उपाधि जित्ने कमै अपेक्षा गरिएको टोली थियो । उनले लिग चरणमा चेन्नईविरुद्धको खेलमा १४ रन दिँदै ६ विकेट लिएका थिए । सो बलिङको अहिले पनि बारम्बार चर्चा हुने गरेको छ ।

यसपटक एनपिएलमा तनबिर आबद्ध चितवन र मिलन्था आबद्ध जनकपुरको ‘हाइफाई’ र चर्चा अन्य टोलीको भन्दा कम छ । परन्तु, यी दुवै टोलीको यात्रा कहाँसम्म पुग्छ भन्ने सहजै अनुमान गर्न भने कठिन छ ।

प्रतिक्रिया