बाली तथा पशुधन बिमा कार्यक्रम लागू

काठमाडौँ । सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमअन्तर्गत बिमालेख ५० लाख रुपैयाँ जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, १ करोड सम्मका लागि ६५ करोड रुपैयाँ र एक करोडभन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा धेरै किसानलाई बिमाको दायरामा ल्याउन र उनीहरूलाई अधिकतम सुविधा उपलब्ध गराउन बिमासम्बन्धी सरोकारवालासँग छलफलसहित विद्यमान कार्यविधि परिमार्जन गरी नयाँ कार्यक्रम लागू गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । हालसम्म सबै प्रकारको बिमामा किसानलाई बिमा शुल्क (प्रिमियम) को ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था थियो ।
साना किसानले अधिकतम अनुदान प्राप्त गर्ने गरी ल्याइएको कार्यक्रममा ठूला लगानीका किसानले कम अनुदान पाउने व्यवस्था गरिएको छ । बाली तथा पशुधन बिमाको प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ मा कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रत्येक वर्ष बाली तथा पशुधन बिमा कार्यान्वयन गर्ने जनाइएको छ ।

सूचना अधिकारी जोशीका अनुसार गत कात्तिकदेखि कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रममा यस क्षेत्रमा बिमा गर्ने कम्पनीले जारी गरेको सम्बन्धित बिमालेख, त्यसको दायित्वलगायत आवश्यक सूचनाको विवरण प्रत्येक ३ महिनामा बिमा प्राधिकरणमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । सो विवरण प्राधिकरणले १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ ।

२०६९ माघ १ देखि सुरु गरिएको बिमा कार्यक्रम व्यवस्थित गर्न २०७० सालमा अनुदान निर्देशिकामार्फत ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट ८० प्रतिशत अनुदान दिइएको थियो । सबैलाई समान रूपले अनुदान उपलब्ध गराउँदा ठूला लगानीका कृषि फार्म तथा किसानले अनुदानको धेरै रकम प्राप्त गरेकाले न्यायोचित वितरण गर्न नयाँ कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया