सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।

कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ, भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड १ लाख २० हजार २५२ रूपैयाँ बराबर दाबी भुक्तानी गरेको छ ।

यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ ३ अर्ब ५२ करोड ५ लाख ४७ हजार ४६२ रूपैयाँ उपलब्ध गराएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख ६ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड ४ लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ रूपैयाँ बराबर रकम उपलब्ध गराएको छ ।

पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ । पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया