महिला हिंसा समग्र समाजको मुद्दा बन्नु पर्छ

सामान्यतया एक व्यक्तिले अर्को व्यक्तिलाई सताउने क्रियाकलापलाई हिंसा भनिन्छ । यस्ता क्रियाकलाप जानेर वा नजानेर भइरहेका छन् । महिलामाथि अझ बढी भएका छन् । राज्यद्वारा र समाजद्वारासमेत महिलामाथि यस्ता क्रियाकलाप भइरहेका छन् । वास्तवमा महिला हिंसा जटिल र गम्भीर सामाजिक समस्या हो, जसले महिलाहरूको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा गहिरो असर पुर्याउँछ । समाजको समग्र समृद्धिमा अवरोध पुर्याउँछ ।

अञ्जु कार्की

‘हरेक १० मिनटमा १ जना महिलाको हत्या हुन्छ, यसको विरुद्ध आवाज उठाऔँ’ भन्ने अभियानका साथ यस वर्षको महिला हिंसा अन्त्य दिवस जारी छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको १६ दिनसम्म विश्वव्यापी रूपमा महिला हिंसा अन्त्यका लागि विशेष अभियान गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानअनुसार हरेक वर्ष १६ दिनसम्म यो अभियान गर्न थालिएको ठ्याक्कै ४५ वर्ष भएको छ । यो अवधिमा हिंसाको परिभाषा पनि फराकिलो हुँदै आएको छ । केही शताव्दी अघिसम्म काट्ने, मार्ने, कुटपिट गर्ने क्रियाकलापलाई मात्रै हिंसा मानिन्थ्यो । तर, अहिले आधारभूत मानवअधिकार प्रदान नगरिनुलाई समेत हिंसाको परिभाषाभित्र राखिएको छ ।

सामान्यतया एक व्यक्तिले अर्को व्यक्तिलाई सताउने क्रियाकलापलाई हिंसा भनिन्छ । यस्ता क्रियाकलाप जानेर वा नजानेर भइरहेका छन् । महिलामाथि अझ बढी भएका छन् । राज्यद्वारा र समाजद्वारासमेत महिलामाथि यस्ता क्रियाकलाप भइरहेका छन् । वास्तवमा महिला हिंसा जटिल र गम्भीर सामाजिक समस्या हो, जसले महिलाहरूको शारीरिक, मानसिक, र भावनात्मक स्वास्थ्यमा गहिरो असर पुर्याउँछ । समाजको समग्र समृद्धिमा अवरोध पुर्याउँछ ।

महिला हिंसाको समस्या एकाएक उत्पन्न भएको समस्या होइन । विश्व समाजको सभ्यता विकासका पाना पल्टाएर हेर्दा यो कुरा स्पष्ट देखिन्छ । मानव सभ्यताको आरम्भदेखि नै श्रम विभाजन सुरु भयो । श्रम विभाजनअनुसार महिलाहरूको हिस्सामा ‘घरको काम’ पर्न थाल्यो भने पुरुषका हिस्सामा धन आर्जन गर्ने काम पर्न थाल्यो । युद्ध गर्ने काम पनि पुरुषकै हिस्सामा पर्यो । निश्चय नै आर्थिक सवलताले प्रभुत्वको भाव पैदा गर्न थाल्छ । त्यही कारण समाजमा पितृसत्ता स्थापित हुन पुग्यो । पितृसत्तालाई राज्यले नै हुर्कायो बढायो । अहिले पनि विश्वका सबै देश र प्रायः सबै समाज पितृसत्तात्मक छन् ।

खासमा पितृसत्तात्मक राज्य व्यवस्था तथा सामाजिक अवधारणा नै महिला हिंसाको कारक हो । यो अवधारणालाई त्याग्न पितृसत्ता अहिले पनि तयार छैन । समस्याको मुख्य जड यही हो । तर पितृसत्ताको सोच र स्वरूप हिजोको जस्तो छैन । सभ्यताको विकास, मानव अधिकारका वकालत र ती सबैभन्दामाथि स्वयं महिलाहरूको संघर्षशीलताले पितृसत्तालाई कमजोर बनाउँदै लगेको छ । जसले गर्दा घरबाट बाहिर निस्केर महिलाहरू पनि कामको मूख्य धारामा जोडिन थालेका छन् । तैपनि महिलालाई घर भित्रको कामबाट अझै मुक्ति मिलेको छैन । पुरै मुक्ति मिल्ने अवस्था पनि छैन ।

एकातिर घरभित्रको काम आर्थिक दृष्टिले अनुत्पादक मानिनु, अर्कोतिर घर बाहिरको काममा महिलाले पुरुषसरह श्रमको मूल्य नपाउनु मुख्य समस्या हुन् । तर, असमान तलब र शोषणको सामना गर्दै गर्दै महिलाहरूले आज आफ्ना कार्य क्षेत्रहरूमा निकै राम्रो क्षमता, दक्षता, सीप र कौशलताको प्रदर्शन पनि गरिरहेका छन् । यो कुरा जान्दाजान्दै कि उनीहरूको हरेक सफलताको पछाडि उनीहरूको कर्मठताका साटो उनीहरूको चारित्रिक विश्लेषण गरेर उनीहरूको मनोबल तोड्ने लगातार प्रयत्न हुँदै आएको छ । महिला हिंसा विभिन्न रूपहरूमा प्रकट भइरहेको छ । यसका विविध कारण छन् । जसमध्ये यस आलेखमा सांस्कृतिक, सामाजिक, आर्थिक र कानुनी पक्षहरू समावेश छन् ।

महिला हिंसाका प्रकार

महिलामाथि शारीरिक चोटपटक पुर्याउने गरिएको घटना उल्लेख्य छन् । जस्तै कुटपिट, लात–घुसा, आगो लगाउनेलगायत छन् । यस्तो क्रियाकलाप प्रायः घरायसी हिंसा, यौनिक हिंसा, वा सार्वजनिक स्थानमा पनि हुन सक्छ । बलात्कार, यौन दुव्र्यवहार, जबरजस्ती यौन सम्बन्धमा प्रवेश गराउने, या यौन उत्पीडनका विभिन्न प्रकारहरू छन् । महिलालाई यौन इच्छामा दबाब दिनु र यौनिक अधिकारको उल्लंघन गरिनु लगायतका क्रियाकलाप हुँदै आएका छन् ।

यसैगरी महिलामाथि अपमानजनक टिप्पणी गर्ने, धम्की दिने, डर उत्पन्न गराउने लगायतका मनोवैज्ञानिक दबाब दिने गरिएको पाइन्छ । जसका कारण महिलाको भावना र मानसिकतामा आघात पुगिरहेको हुन्छ । यस्तो अवस्थाले महिलाको आर्थिक तथा सामाजिक क्रियाकलाप सशक्त हुन दिँदैन । महिलालाई आर्थिक रूपमा नियन्त्रणमा राख्नु, व्यक्तिगत सम्पत्ति र आम्दानीको अधिकार छैन भन्ने स्थिति सिर्जना गर्नु । महिला कामकाजी वा स्वनिर्भर बन्न नदिने वा आर्थिक रूपमा परनिर्भर बनाउन दबाब दिनु पनि हिंसाकै रूप हो ।

महिला हिंसाका कारण

महिला हिंसाका कारणमध्ये लैंगिक विभेद मुख्य हो । महिला र पुरुषका बीच असमानता र सामाजिक संरचनामा महिलालाई कमजोर स्थानमा राख्ने परम्परागत सोच हावी छ । उदाहरणका लागि केही वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरको दर्शन गर्न जनकपुर पुगिन् । तर उनी फर्कने बित्तिकै ज्यादै अप्रिय घटना भयो । विधवा महिला प्रवेश गरेको भन्दै मन्दिर चोख्याउने नाममा जनकपुरमा तमासा मच्चाइयो । यो तमासामा महिलासमेत सहभागी भए । देशको राष्ट्रपति पदमा पुगेकी महिलाले समेत यति ठूलो हिंसा सहनुपर्ने अवस्था छ भने अरूको के कुरा गर्नु ?
महिलाको अधिकार र सम्मानको उचित मूल्यांकन गर्नसक्ने स्तरमा हाम्रो समाज पुग्न अझै कैयौँ वर्ष लाग्ने देखिन्छ । पितृसत्तात्मक समाजमा महिलाहरूको भूमिकालाई दोस्रो दर्जामा राख्ने र उनीहरूलाई दबाबमा राख्ने प्रवृत्ति हावी देखिनु स्वभाविकै हो । कतिपय अवस्थामा पुरुषको प्रभुत्व कायम राख्ने उद्देश्यका साथ महिला हिंसा । मानव अधिकारका बारेमा समाजमा कम जागरूकता र जानकारीको अभाव नै यो समस्याको मुख्य जड हो । जसका कारण महिलाहरू आफैँले हिंसा सहन गरिरहेका छन् । यसबारे बोल्न नचाहने मानसिकता महिलाहरूमै छ । त्यसमाथि पनि महिलाद्वारा नै महिलामाथि हिंसा गर्ने प्रवृत्ति बढी छ । यसको कारण परम्परागत सामाजिक सोच हो । एक महिलाविरुद्ध अर्को महिला प्रयोग हुनुको मुख्य कारण पितृसत्ता हो ।

तथ्यांक हेर्ने हो भने आर्थिक रूपमा सबल महिलाहरू हिंसाको चपेटामा कम परेका छन् । जो महिला आर्थिक रूपमा दुर्बल छन् उनीहरू हिंसाको चेपेटामा बढी परेका छन् । महिलाको कम कामकाजी अवसर र अशिक्षा जसले उनीहरूलाई आर्थिक रूपमा निर्भर बनाउँछ । कतिपय अवस्थामा कानुनी संरचनाहरूको पनि कमजोरी देखिएको छ । पहिलो कुरा त कतिपय कानुनमै विभेद छ । पितृसत्तात्मक सोच राखेर कानुन बनाइएको हुन्छ । नेपालकै उदाहरण लिनुपर्दा पुरुषले विदेशी महिलाबाट जन्माएको सन्तानले नागरिकता प्रमाणपत्र पाउँछ । तर, महिलाले विदेशी पुरुषबाट जन्माएको सन्तानले नागरिकता प्रमाणपत्र पाउँदैन । यसैगरी महिला हिंसा विरुद्धका कानुनमा कतिपय महिलाको पहुँच छैन । कानुनी अधिकार प्रयोग गर्न सक्ने सामथ्र्य छैन ।

समाधानका उपाय

हिंसाले शारीरिक चोटपटक मात्रै होइन मानसिक तनाव, डिप्रेसन र अन्य शारीरिक र मानसिक समस्याहरू उत्पन्न गर्न सक्छ । महिलाको जीवनको गुणस्तरमा गिरावट आउँछ । महिला हिंसाले परिवारको सामाजिक संरचना र सामाजिक सम्बन्धमा तनाव ल्याउँछ । महिलाको आत्मविश्वास र समाजमा सहभागिता घट्न सक्छ । महिला हिंसा कुनै पनि प्रकारको कामको कुशलता र महिला कार्य क्षमता घटाउँछ । हिंसा सहने महिलाले काममा समेत असफलता प्राप्त गर्न सक्छन्, जसले परिवारको आर्थिक अवस्था कमजोर पार्छ ।

महिला हिंसाको समस्या समाधान गर्न नसक्दासम्म समाजले देशले समृद्धि हासिल गर्न सक्दैन । महिला हिंसाविरुद्ध कडा कानुनी व्यवस्था गर्दै यसको प्रभावकारी कार्यान्वयनमा अघि बढ्नुपर्छ । महिलाका हक र सुरक्षा सुनिश्चित गर्ने कानुनहरूको व्यवस्था गर्नुपर्छ । महिला हिंसाबारे समाजमा जागरूकता र शिक्षा प्रदान गर्नुपर्छ । महिलाहरूलाई आफÞ्ना अधिकार र सुरक्षा बारेमा जानकारी दिनुपर्छ । पितृसत्तात्मक सोचको अन्त्य गर्नका लागि जनचेतना अभियान र सामाजिक आन्दोलन चलाउनुपर्छ । महिलाका अधिकार र सम्मानमा समानता ल्याउने प्रयास गर्नुपर्छ ।

हिंसाको चपेटामा परेका महिलालाई काउन्सिलिङ सेवाहरू उपलब्ध गराउनुपर्छ । पीडित महिलाहरूलाई सुरक्षित आश्रय र आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्छ परिवार र समुदायमा समानता र सहयोगको भावना सिर्जना गर्नुपर्छ । महिला हिंसा रोक्नका लागि समाजका सबै तहबाट सशक्त प्रयासहरू आवश्यक छन् । कानुनी संरचना, सामाजिक दृष्टिकोण र शिक्षा सबैलाई मिलाएर महिला हिंसाको अन्त्य गर्न मद्दत पुग्न सक्छ । महिला हिंसा केबल एक व्यक्तिगत समस्या होइन, यो समग्र समाजको मुद्दा हो ।

महिला अधिकारका मामिलामा नेपालको संविधान (२०७२) धेरै ठूलो उपलव्धी हो । समग्रमा महिलाका लागि विशेष व्यवस्था समावेश गरी अस्तित्वमा आएको यस संविधानले परिवर्तनका मुद्दाहरू संस्थागत गराउने लक्ष बोकेको छ । तर, कार्यान्वयन तहमा विभेद छ । राज्य सत्तामा महिलाको प्रतिनिधित्व कर्मकाण्डका हिसाबले गराइएको छ, कोटा पुर्याउन । निर्णायक तहमा रहेका पुरुषहरूले आफ्नो परिवारका सदस्य पजनी गरेर महिला कोटा पुर्याउने गरेको अवस्था छ । संविधान राम्रो बन्नु मात्र सबैथोक होइन रहेछ, कार्यान्वयनमा नै संविधानको सफलता निर्भर हुँदो रहेछ भन्ने कुरा पुष्टि भएको छ । । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ ।

हाम्रो समाज परम्परादेखि नै पुरुष प्रधान रहँदै आएको छ । महिलाहरूको उपस्थितिलाई कानुनी रूपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरुष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखि नै सीमांकित छन् । प्राचीन कालबाटै महिला भेदभाव गरिँदै आएकोले साक्षरता, उच्च शिक्षा र सार्वजनिक ओहोदामा पुरुषसरह महिलाको समान रूपमा सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछि पर्न गयो । फलस्वरूप नीतिगत, कानुनी र व्यावहारिक प्रयासका वावजुद पनि आशातित उपलब्धि हासिल हुन सकेको छैन ।

प्रतिक्रिया