जहाँ हिँड्दा पनि तामामै ठेस लाग्छ !

उत्खननको पर्खाइमा बागलुङका तामाखानी, राज्यको बेवास्ता

बागलुङ । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जंगल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । जिल्ला सदरमुकामबाट नर्जाखानी पुग्न कैयौँ भिर, पहरा र जंघार पार गर्नुपर्छ । बस्तीदेखि जंगलसम्म जताततै तामाखानी छन् । तर, उत्खनन हुन नसक्दा नर्जाखानीबासी टुकीमुनिको अँध्यारो बन्नुपरेको छ ।

यहाँका बारीका कान्ला, घरका करेसादेखि जंगलको बीचमा पनि तामाखानी छन् । वर्षौंअघि तामा निकालिएको ठाउँमा अहिले पनि डोबहरू भेटिन्छन् । ठुल्ठुला सुरुङ र खाडल झाडीले पुरिएका छन् । तमानखोलाभरि खानी नै खानी हुँदा पनि अहिलेसम्म कुनै पनि स्थानमा उत्खनन भएको छैन । नर्जाखानीसहित तमानखोलामा बोंगाखानी, खुंखानी, बोङखानीलगायत धेरै गाउँ छन् । तमानखोला गाउँपालिकामा रहेका गाउँको नामको पछाडि खानी जोडिएको छ, ती सबै ठाउँमा सयौँ वर्षअघि तामा निकालेका डोबहरू भेटिन्छन् ।

गाउँमा सयौँको संख्यामा रहेको डोबमा बेला–बेलामा स्थानीयले स–साना तामाका धाउहरू फेला पार्ने गर्छन् । बारीमा भेटिने तामाखानी उत्खनन गर्नका लागि स्थानीयले मागसमेत गर्दै आएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिब १२० वर्षअघिसम्म तामा निकालेको पाइन्छ । अन्य गाउँको तुलनामा नर्जाखानीमा धेरै खानी छन् । नर्जाखानीका ९५ वर्षीय लालबहादुर छन्त्यालले आफ्नो बाउबाजेका पालासम्म यहाँ खानीबाट तामा निकालेको बताए । भिर पहराबाट निकालेको तामा बेचेर अघिल्लो पुस्ताले जीविकोपार्जन गरेको उनको भनाइ छ ।

‘पहिले–पहिले पहिरोले बारीका कान्ला भत्किँदा पनि तामाका धाउ भेटिन्थे, अहिले पनि तामा जस्ता देखिने वस्तुहरू धेरै नै भेटिने गर्छन् । यहाँ त जता गयो त्यतै खानीका डोब भेटिन्छन् । ठुल्ठुला खाडलहरू पनि देखिन्छ,’ छन्त्यालले गाउँ नजिकको भिर देखाउँदै भने, ‘ती पारिका भिरपहरा जहाँसुकै खानी छन्, खानीको गणना हुनै सकेको छैन । हाम्रा बाउबाजेले उतिबेलाको जमानामा निकै दुःख गरेर तामा निकाल्नुभएको रहेछ ।’

दशकौँअघि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्ण रूपमा खानी बन्द छन् । स्थानीय पाका व्यक्तिका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो । तामा निकालेको ठाउँबाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकले बसोबास गरेका ठाउँको भग्नावशेषलगायत वस्तु भेटिने गरेको तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रहादुर छन्त्यालले बताए । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयबासीले कर तिर्न नसक्दा तामा निकाल्न छाडेको उनको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको अध्यक्ष छन्त्याल बताउँछन् । ‘हामी सानो हुँदा बुबाले तामाको धाउ निकाल्नुभएको थियो, त्यसमा पूरै तामा थियो । अहिले कसैले पनि निकालेका छैनन् । तत्कालीन सरकारले स्थानीय बासिन्दाले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका हुन् । ठ्याक्कै यकिन मिति त याद भएन, तर सय वर्षअघि देखि बन्द भएको अनुमान छ,’ अध्यक्ष छन्त्यालले भने, ‘त्यसबेला अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय र मिहिनेत गरेर तामा निकाल्ने गरिन्थ्यो । सरकारले कर धेरै तिर्न आदेश गरेपछि तामा निकाल्ने काम बन्द भएको थियो रे । अब नयाँ तरिकाले उत्खनन गर्नुपर्छ ।’

चारैतिर खानी भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको स्थानीय तुलबहादुर छन्त्याल बताउँछन् । उनले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताए । गाउँभरि तामाखानी भए पनि राज्यको ध्यान जान नसक्दा उत्खनन हुन नसकेको उनको भनाइ छ । छन्त्यालले आफ्ना पुर्खाले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्नसमेत नजानेको उनको भनाइ छ । प्रत्येक ठाउँमा तामाहरू भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्न जरुरी रहेको छन्त्याल बताउँछन् ।

उनले भने, ‘हाम्रा पुर्खालाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिन्छ, उतिबेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन र पनि खानी पत्ता लगाए । उनीहरूले माटो सुँघेर खानीहरू पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे ।’ बूढापाकाले भनेअनुसार उतिबेला छन्त्याल जातका मानिसहरू खेतीपाती गर्न जान्दैनथे । उनीहरूलाई खानीमा गर्ने कामबाहेक अरू आउँदैनथ्यो । गाउँमा बारी खनजोत गर्दा पनि स्थानीयबासीले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलोलगायत भाँडाकँुडा पनि बनाउने गरेको उनको भनाइ छ ।

नर्जाखानीसँगै तमानखोला गाउँपालिका–५ को खुंखानीमा पनि धेरै खानी छन् । यस गाउँलाई पनि खानी खन्नेहरूकै गाउँका रूपमा चिनिन्छ । तमानखोलाको धेरै ठाउँमा छन्त्याल समुदायकै बाहुल्य छ । खुंखानी वरपर खानी नै खानी भएको हुँदा यस ठाउँलाई खुबैखानी भन्ने गरिकामा अहिले त्यसको अपभ्रंश भएर खुंखानी भन्न थालिएको स्थानीय बुद्धिबहादुर छन्त्यालले बताए । खानीलाई व्यवस्थित तरिकाले निकाल्न सके विकास निर्माणमा ठुलो टेवा पुग्ने उनी बताउँछन् । ‘पछिल्लो समय खानी उत्खननका लागि धेरै प्रविधिको विकास भएको छ । नयाँ–नयाँ यन्त्र उपकरण आविष्कार भएका छन् । उतिबेला हाम्रा पुर्खाहरूले वन जंगलमा पाइने बाँस र एउटा निगालोकै भरमा त्यति ठुल्ठुला पहरा काटेर तामा निकाल्नुभएको रहेछ । अहिले राज्यले चाह्यो भने खानी उत्खनन गर्न धेरै समस्या छैन,’ उनले भने, ‘त्यसबेला छन्त्याल जातिहरू भिर–पहरामा गएर खानी उत्खनन गर्नुहुन्थ्यो रे, उहाँहरूले एउटा निगालामा आगो बालेर सुरुङभित्र पसेर घन्टौँपछि तामा निकाल्नुभएको कुरा अहिले सुनिन्छ ।’

तमानखोला गाउँपालिका–२ बोंखानीका जालप्रसाद छन्त्यालले पहिलेदेखि नै यस क्षेत्रमा जनजाति र दलित समुदायले तामाखानीमा काम गरेको बताए । सामान्य घरेलु औजारको प्रयोग गरेर उतिबेला तामा निकाल्ने गरेको उनको भनाइ छ । खासगरी खानीभित्रै पसेर सीप भएका छन्त्याल जातिले तामाका धाउ निकाल्ने, विश्वकर्मा जातिले त्यसको प्रशोधन गर्ने र थकाली जातिले बजारीकरण गर्ने गरेको छन्त्याल बताउँछन् । अहिले आफ्नो घर वरपर ठुल्ठुला खानीका सुरुङहरू रहेको उनको भनाइ छ । बोंखानीमा पश्चिमबाट आएर छन्त्याल जातिले खानी सञ्चालन गरेको उनले बताए ।

छन्त्यालले भने, ‘तमानखोलामा जति पनि खानीका नामबाट गाउँ बनेका छन्, त्यहाँ धेरैजसो छन्त्याल समुदायको बाहुल्य छ । छन्त्याल जाति र खानीको निकै घनिष्ठ सम्बन्ध छ, पहिला–पहिला हाम्रा अग्रजहरूले खानीबाटै आफ्नो जीविका चलाएका रहेछन् । अहिले आएर समय फेरियो, जुग जमाना फेरियो, त्यसले गर्दा खानीहरू पनि बन्द भए । पहिले उत्खनन भएका खानीका थुप्रै अवशेष अझै पनि भेटिन्छन् । फेरि उत्खनन गर्न थाल्ने हो भने यहाँका नागरिकको जीवनस्तर उकासिने थियो, आयआर्जनको माध्यम बढ्ने थियो भने रोजगार पनि सिर्जना हुने थियो ।’

तमानखोलासहित बागलुङका धेरै ठाउँको नाम खानीबाट बनेका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा पनि तामाखानी छ । त्यहाँ पनि तामाको कच्चा पदार्थ निकाल्दा ठुलो सुरुङ निर्माण भएको छ । सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, रांखानी, भुंखानी, खोलाखानी, फलामखानीलगायत थुप्रै खानीका नाम छन् । यी ठाउँमा विगतमा खानी रहेको जानकारहरू बताउँछन् । पहिले खानी रहेको स्थानमा हाल झाडी पलाएर पुरिएको छ ।

तमानखोलामा अझै बढी खानी रहेको हुँदा स्थानीयले उत्खनन गर्न माग गर्दै आइरहेका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोला क्षेत्र खानीले भरिएको हुँदा उत्खननका लागि केन्द्र सरकारसँग सहकार्य गर्ने बताए । गाउँपालिकाभित्रै धेरै खानी भए पनि के कति छन् भनेर यकिन गर्न नसकेको उनको भनाइ छ । गाउँपालिकाको वडा–६ को नर्जाखानीमा रहेको तामाखानी उत्खननका लागि खानी विभागबाट अनुमति लिएर एउटा विज्ञ टोलीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । तामाको परीक्षणका लागि नमुना प्रयोगशालामा पठाएको उनले बताए । भारतका २ सहित ४ जनाको विज्ञ टोलीले नर्जाखानीमा अध्ययन गरिरहेको छ ।

३ पटकसम्म विज्ञ टोली आएर यहाँ अनुसन्धान गरेको र राम्रो गुणस्तरको तामा निकाल्न सकिने सम्भावना रहेको बताइएको छ । अध्यक्ष बुढामगरले भने, ‘खानी उत्खनन थालेपछि यहाँबाट ठुलो संख्याले रोजगार पाउन सक्नेछन्, त्यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नेछौँ । नागरिकले रोजगार पाउनेछन् भने उनीहरूको जीवनस्तर पनि उकासिनेछ ।’ – डम्मर बुढामगर, रासस

प्रतिक्रिया