पहिले सुविधा थिएन, अहिले सुविधा उपभोग गर्ने मान्छे छैनन् !

गाउँको नियति

५–६ वर्षअघिसम्म कोही बिरामी पर्दा स्ट्रेचरमा २ दिनको बाटो बोकेर सदरमुकाम लगेर उपचार गर्नुपर्ने अवस्था थियो भने अहिले गाउँमै स्वास्थ्यचौकी छ, बाहिर लानुपरे आँगनबाटै गाडी चढ्न सकिन्छ । तर, गाउँ भने लगभग रित्तो छ

तस्बिर सौजन्य : रमेश कुमार

रुुकुमपश्चिम । भनिन्छ– लगनपछिको पोतेको के काम ! हुन पनि कुनै कुरा समय घर्किसकेपछि त्यसको मतलब हुँदैन । आवश्यकता परेकै बेला पाउँदा सामान्य कुरा पनि धेरै ठुलो उपलब्धि हुन्छ भने आवश्यकता टरिसकेपछि जतिसुकै ठुलो कुरा भए पनि त्यसको खास मतलब हुँदैन ।

यतिबेला त्यस्तै भएको छ, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँमा । ५–६ वर्षअघि यहाँ कुनै सेवा सुविधा थिएन । बिरामी पर्दा गाउँमै प्राथमिक उपचारको समेत व्यवस्था थिएन । न सुविधाजनक सडकको पहुँच नै थियो । जिल्लाको हिमाली भेगसँग जोडिएको यो गाउँमा कोही बिरामी परे स्ट्रेचरमा २ दिनको बाटो बोकेर सदरमुकाम लगेर उपचार गर्नुपर्ने अवस्था थियो । त्यतिमात्रै होइन, घरमा आवश्यक दैनिक उपभोग्य सामान किन्न पनि ३ दिन माया मारेर बजार धाउनुपर्ने अवस्था थियो ।

कतै जानुपरे दिनभरिको बाटो हिँडेर राडीबजार पुगेपछि मात्रै गाडी चढ्न पाइन्थ्यो । घोडा र खच्चडमार्फत् ढुवानी गरेको सामानले गुजारा गर्नुपथ्र्यो । ढुवानी खर्च बढी हुँदा यसै पनि सामानको भाय अचाक्ली महँगो हुन्थ्यो । खेतीपातीका लागि मल, बिउ लगायत सामानका लागि उस्तै सास्ती । दुःखजिलो गरेर मल बिउ बोकेरै भए पनि उत्पादन गरिहाले पनि बजारको अभाव । फेरि उही ढुवानीकै समस्या ।

तर, आज त्यो अवस्था छैन । खदी गाउँको रूप फेरिएको छ । यहाँका बासिन्दा बिरामी पर्दा गाउँकै स्वास्थ्यचौकीमा उपचार सुविधा छ । गाउँमा उपचार नहुने रोग लागेमा घरछेउबाटै गाडी वा एम्बुलेन्समा चढेर सहरका सुविधासम्पन्न अस्पतालमा जान सक्ने अवस्था छ । खानेपानीको समस्या पनि हटेको छ । वडाका प्रायः गाउँमा सडक पुगेको छ । शिक्षासँगै बिजुलीको पनि विस्तार भएको छ ।

केही अघिसम्म दुर्गम र विकटको उपमा पाएको खदीगाउँसँग अहिले मुख्य सडक राप्ती राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण भरहेको छ । दुर्गम गाउँ राजमार्गसँग जोडिएपछि आँगनबाटै गाडी चढ्ने सुविधा छ । पहिले मल र बिउ कसरी ल्याउने भन्ने चिन्ता गर्नुपर्ने अवस्था थियो भने अहिले बारीको डिलमै गाडी पुग्छ । खेतबारीमा भएको उत्पादनको ढुवानी र बजारीकरणको पनि समस्या छैन ।

यी कुनै समस्या नहुँदा नहुँदै पनि एउटा ठुलो समस्या छ खदी गाउँमा । जब गाउँमा विकास र सेवासुविधा भरियो, त्यतिन्जेलसम्म गाउँ भने लगभग खाली भइसकेको थियो । सडक न बिजुली, बिरामी पर्दा सामान्य उपचारका लागि पनि तड्पिनुपर्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन नै समस्या भएपछि यहाँका मानिस बिस्तारै गाउँ छाडेर सहर छिरे । जब गाउँका मानिस सहर पस्दै गाउँ नै रित्तिँदै गयो, अनि बल्ल विकाससँगै सुविधा गाउँ पस्यो ।

अहिले गाउँ सुविधाले भरिएको छ, तर मान्छेले रित्तो !


जब गाउँमा मान्छे भरिभराउ थिए, त्यतिबेला टुकी र दियोको भरमा दैनिकी चलाउनुपथ्र्यो । तर, अहिले बिजुली पुगेपछि गाउँ नै झलमल भएको छ । खदीमा केन्द्रीय प्रसारण लाइनबाट पुगेको बिजुली बल्छ अहिले । ५०० घरधुरी रहेको खदी गाउँमा कुनै घर छैन, जहाँ बिजुली नपुगेको होस् । वडा अध्यक्ष केशरमान विकका अनुसार यस गाउँको विद्यालय पालिकाकै उत्कृष्टमध्येमा पर्छ । वडाध्यक्ष विकका अनुसार गाउँमा एक घर, एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरेबल बाटो, बिजुली, ढलनिकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा समेत उल्लेख्य विकास गर्ने लक्ष्य राखिएको छ ।

यतिका सुखसुविधा पुगेको यो गाउँको करिब ३०० रोपनी खेतीयोग्य जमिन अहिले बाँझै छ । गाउँका युवा सहर तथा विदेश पसेसँगै यहाँको बाँझिने क्रम बर्सेनि बढ्दै गएको छ । १ दशक अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जिन्थ्यो । अहिले पसिना बगाउने युवा नहुँदा करिब ४५० परिवारको अधिकांश जग्गा बाँझो रहेको स्थानीय बुद्धिजीवी हरिबहादुर बुढामगर बताउँछन् । खदी गाउँको कालजुरा, लहाँ, चिन्चौर, बाँस्तला बजिनीलगायत गाउँका अधिकांशले आजभोलि खेती गर्नै छाडिसकेका छन् ।

बुढामगरले भने, ‘जनशक्ति अभावले खदीका स्थानीय खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य छन् । अध्ययन र रोजगारीका सिलसिलामा युवा पलायन हुँदा गाउँको रौनक हराएको छ ।’ तली, सल्लेरी र पाटा गाउँ मिलेर खदी गाउँ बनेको छ । कुनै बेला युवा बाहुल्य रहेको खदी गाउँमा आजभोलि बिस्तारै बस्ती पातलिँदै गएको छ । युवा जनशक्ति शिक्षा र रोजगारीको खोजीमा गाउँ छाडेर बाहिरिँदा कालजुरा, लहाँ, बाँस्तला, चिन्चौरलगायतको बस्ती खाली हुने अवस्थामा पुगेको बुढामगरले बताए ।

गाउँघरमा चल्ने अर्मपर्ममा युवा भेट्नै मुस्किल हुन थालेको छ । टोल छिमेकमा मर्दापर्दा तथा सामुदायिक कार्यक्रममा युवाको सहभागिता कमै देखिन्छ । सरसफाइ, खानेपानी र बाटोघाटो निर्माणलगायत काम वृद्धवृद्धाको भरमा सञ्चालन हुने गरेको उनले बताए । कालजुरा, लहाँ, चिन्चौरलगायत स्थानमा पहिले बाक्लो बस्ती थियो । यहाँका किसान खेतीपाती र पशुपालनबाट आत्मनिर्भर थिए । कुनै समय गुल्जार भएका ती गाउँ आजभोलि सुनसान छन् । मकै र गहुँ उत्पादन हुने यी गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । खेतीयोग्य जमिन बाँझो रहनुको कारण युवा पलायन हुनु र बाँदरबाट उत्पादित खेती बचाउन नसक्नु रहेको बुढामगरको भनाइ छ ।

परम्परागत कृषिबाट गुजारा नचलेपछि खदीका केही घरधुरी आठबिसकोट नगरपालिकाको राडी बजार, सदरमुकाम मुसीकोट, दाङ, सुर्खेतलगायत सहरमा बसाइँ सरेका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय युवाले पनि सहरबजारतिर जमिन जोडेका छन् । बाध्यताले गाउँ छाडेर सहर पुगेका युवा त्यहीँ रमाएर गाउँ नफर्किँदा गाउँ रित्तिँदै गएको स्थानीय शिक्षक कमल रोकाको अनुभव छ । उच्च शिक्षाका लागि केही समय काठमाडौँमा रहेका उनले भने, ‘स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत आवश्यकताको उचित प्रबन्ध हुन नसक्दा अवसरको खाजीमा गाउँ छाडेका युवा पुनः गाउँ फर्किंदैनन् ।’

आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विकले युवा पुस्ताले धमाधम गाउँ छाड्दा जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिदै गएकामा चिन्ता व्यक्त गरे । नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गरी स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले युवाको अभावमा नगरको आत्मनिर्भर अभियान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे । उनले भने, ‘जनताका आधारभूत आवश्यकतासँगै जीवन बदल्न हामीले उत्पादनलाई जोड दिएका छौँ । यो भूगोल सुन्तला, स्याउ, आलु, कोदोलगायत अन्नबालीका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारेका छौँ । तर, गर्ने मान्छे नै छैनन् ।’

अहिले खदी गाउँमा खसी, राँगा तथा स्थानीय प्रजातिका कुखुरापालन हुन छाडेको स्थानीय नरबहादुर बुढा बताउँछन् । ‘गाउँमा बाटो पुगेसँगै पहिलेको भन्दा सेवासुविधा पनि बढेको छ । तर, त्यसअघि नै युवा अवसरको खोजीमा सहर पसेकाले खेती गर्ने, पशुपालन गर्नेको कमी हुँदै गएको छ,’ उनले भने । उनका अनुसार कुनै समय झारमारे, जलजला, बसेरा चरन क्षेत्र र बुकीपाटन पशुचौपायाले भरिने गरेकामा अहिले पशुपालन नभएपछि बुकीपाटन रित्ता देखिन्छन् ।

‘बर्खायाममा गोठाला र पशुचौपायाले रमझम हुने खर्कहरू अहिले सुनसान छन् । कतिपय घरपरिवारले भने भेडापालनलाई निरन्तरता दिँदै आएका छन्,’ स्थानीय सुरेश विकले भने । जनशक्ति अभाव हुँदा जीर्ण बनेका घर पुनर्निर्माण भएका छैनन्, भत्केका घर झाडीमा परिणत भएका छन् भने जमिन बाँझै छ । अत्यावश्यक पूर्वाधारको कमी, आधारभूत सेवाको पहुँच नहुनु तथा युवा जनशक्तिको अभावलगायत कारणले खदी गाउँका स्थानीय कृषि पेसाबाट पलायन भएको स्थानीय रणबहादुर परियारले बताए । ‘पहिले गाउँलेहरू वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्न गाउँगाउँ गएर परम्परागत कृषिमा आबद्ध हुन्थे । अहिले पारिवारिक सदस्य कम हुँदा बिस्तारै परम्परागत कृषि पेसा छोड्दै गएका छन्,’ उनले भने ।

रणबहादुरले घरमा काम गर्न सक्ने सदस्यको कमी रहेको बताउँदै भएको बारी बेच्ने योजना बनाएको बताए । ‘छोराछोरी साना छन् । घरबारी बिक्री गर्न चाहे पनि खरिद गर्ने कोही छैनन् । सबैले गाउँ छाडेपछि किन्ने मान्छे पनि पाइँदैन,’ उनले भने । खदी गाउँका अधिकांशको कथा रणबहादुरको जस्तै छ । वडा–३ का करबिर परियारले काल्जुराको घर छाडेको ८ वर्ष भयो । ‘बसोबास नभएपछि पुर्खाको घर भत्केको छ,’ उनले भने, ‘काम गर्ने जनशक्ति नभएपछि अहिले थोरै क्षेत्रफलमा खेतीपातीसँगै बाख्रापालन गरेको छु ।’

सबैले घर छाडेपछि भत्किएका घरमा बाँदरको रजाइँ छ । बाबुबाजेले रगतपसिना बगाएर जोहो गरेको पुख्र्यौली ठाउँमा रोजगारीको अवसर सिर्जना गरी थप युवालाई पलायन हुन नदिने र सहर पसेकालाई पनि गाउँ फर्किन प्रोत्साहन गर्ने खालको योजना राज्यले ल्याउनुपर्ने स्थानीय बताउँछन् ।

खदी गाउँ कृषिका लागि मात्रै होइन, पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यहाँबाट झारमारे लेक, जलजला, सिस्ने हिमाल र चित्रिपाटनको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गाउँलाई व्यवस्थित गरी अवसर सिर्जना गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक स्तर सुधार गर्न सकिने स्थानीय बताउँछन् ।

प्रतिक्रिया