काठमाडौँमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रभाव

विद्यापतिका कालजयी रचना अथाह सम्पति र धरोहर हुन् । महाकवि विद्यापतिको नाममा देशमा धेरै संघ संस्था खुलेका छन्, तर ती सबै औपचारिकतामा मात्रै सीमित छन्, प्रचार पाउनका लागि गठन भएका छन् । विद्यापतिको नाममा ठाउँठाउँमा चन्दा बटुल्ने काम मात्रै गरेका छन् ।

श्रीमन नारायण

मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम सम्वत १४०७ मा प्राचीन मिथिलाको दरभंगा विसफीमा भएको थियो । हाल दरभंगा वर्तमान भारतको बिहार प्रान्तअन्तर्गत पर्छ । उनको भौतिक देहवसान भएको कात्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवको रूपमा मनाउने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको बिहार, पश्चिम बंगाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । त्यहाँ उनी धरोहरको रूपमा सम्मानित र पूज्य छन् । महाकवि विद्यापतिलाई बंगालीहरूले पनि आफ्नो कवि ठान्दछन् जबकी नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो ।

विद्यापतिले रचना गरेका भजनहरू अहिले पनि काठमाडौँ उपत्यकामा जीवन्त रूपमा जनजिब्रोमा छन् । काठमाडौँ उपत्यकाका मठ मन्दिर तथा फाल्चाहरूमा उनका भजनहरू गुन्जायमान भएको सुन्न पाइन्छ । मल्लकालमा मिथिला र नेपालका राजाहरूको वैवाहिक सम्बन्ध रहने गरेको थियो । वैवाहिक सम्बन्ध स्थापित भएर नेपालका रानी बनेका मिथिला क्षेत्रका राजकुमारीहरूसँगै कैयौँ ब्राह्मणहरू पनि नेपाल आए । उनीहरूले विद्यापतिका रचना पनि सँगै लिएर आए । मुसलमानहरूले मिथिलाको दक्षिणी क्षेत्र मात्रै होइन राजधानी सिम्रौनगढसमेत आक्रमण गर्न थालेपछि राजासहित मिथिलावासीहरू काठमाडौँतर्फ आएको इतिहास छ । यस्तैखाले सम्पर्क र सम्बन्धका कारण नेपाल उपत्यकामा मैथिली भाषा–साहित्यको गहिरो प्रभाव परेको हो ।
विद्यापति अलौकिक प्रतिभा र आशुकवित्व शक्तिका थिए । विद्यापति पदावलीका अनेकौँ पदमा नेपाली शब्दहरूको प्रयोग भएको पाइन्छ । उनी विशेष गरी शृंगार कवि भएकाले राधा–कृष्णकै शृंगार लीलाको बढी वर्णन गरेका छन् ।

शैव भएर पनि यिनी एकै ईश्वरका रूपमा सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पञ्चदेवोस्ना पनि गर्दथे । उदाहरणका निम्ति प्रत्येक घर र मन्दिरमा बिहान–बिहान बजाइने र गाइने यो शिवभजन अधिकांशलाई कण्ठस्थ नै भएको हुनुपर्छ, ‘जय जय भैरवी असुर भयावनि, पशुपति–भामिनी माया । सहज सुमति वर दिअओ गोसाउनि, अनुगति गति तुअ पाया ।’

यिनको एकान्त भक्तिबाट अत्यन्त प्रसन्न भई साक्षात महादेव नै उगना नामधारी मनुष्य भई यिनका नोकर बनेका थिए । एकदिन उगनालाई साथमा लिई जंगलको बाटो हिँडिरहेका बखत विद्यापतिलाई तिर्खा लागेको रहेछ । विद्यापतिले आफ्ना नोकरलाई जहाँबाट भए पनि पानी ल्याउन भने आदेश गरेछन् । त्यो सुनसान जंगलमा पानी पाउने सम्भावना कोसौँ टाढासम्म थिएन तर उगनाले गुप्त स्थानमा गएर आफ्नै टाउकोबाट गंगाजल निकाली विद्यापतिलाई खान दिएपछि विद्यापतिले ‘यो त गंगाजल हो, तिमी को हौ ? गंगाजल कहाँबाट ल्यायौ ?’ भनेर सोधे । त्यसपछि उगना साक्षात महादेवको रूपमा प्रकट भए । यस वास्तविकताबारे कसैलाई पनि नबताउने सर्तमा विद्यापतिको नोकरकै रूपमा काम गर्न थाले । आफ्नो रहस्योद्घाटन हुने बित्तिकै आफू त्यहाँबाट विलीन हुने सर्तमा उगनाले विद्यापतिको दासको रूपमा काम गर्न थाले ।

एक दिन विद्यापतिकी श्रीमतीले उगनालाई कुनै सामान ल्याइदिन आग्रह गरिन् । उगनाले त्यो सामान ल्याउन ढिलो गरेपछि विद्यापतिकी श्रीमतीले रिसले चुरभई दाउराको चोइटाले उगनालाई बेस्सरी ठटाउन थालिन् । यस अनर्थलाई खप्न नसकी अनायश विद्यापतिको मुखबाट भन्न नहुने शब्द निस्केछ ‘साक्षात महादेवमाथि यस्तो प्रहार ?’ उनले यति मात्रै के भनेका थिए, उगना त्यहाँबाट अन्तरध्यान भइहाले । महादेव (उगना) को वियोगमा विह्वल भएर विद्यापतिले उनलाई खोज्दै मैथिलीका सर्वाधिक गाइने भजनको रचना गरे, ‘उगना रे मोरा कतय गेला ? कतय गेला शिव कीदहुँ भेला ।’
भारतको बिहार प्रान्तीय सरकारले सन् १९६६ देखि नै विद्यापति टिकट पनि प्रचलनमा ल्याएको छ । हाम्रो देशमा पनि विद्यापतिको टिकट चलनमा आएको दशकौँ भइसकेको छ । भारत सरकारले त्यहाँको संविधानको आठौँ अनुसूचीमा नेपालीसँगै मैथिली भाषालाई पनि राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ । मैथिली नेपालको दोस्रो ठुलो भाषा हो । नेपालको सरकारी सामाचारपत्र ‘गोरखापत्र’ राष्ट्रिय नेपाली दैनिकले मैथिली भाषाको उन्नयनका लागि नयाँ नेपाल पृष्ठमा महिनामा दुईपटक मैथिली भाषामा पनि एक पृृष्ठको समाचार र विचार प्रकाशित गर्दै आएको छ । मैथिलीको आफनो छुट्टै, तर गौरवशाली इतिहास छ, लिपी पनि छ । व्याकरण र साहित्यको क्षेत्रमा पनि यो भाषा धनी नै देखिन्छ ।

भनिन्छ, आफ्नो कविता वाचनद्वारा नै विद्यापतिले मुगल शासकद्वारा पक्राउ गरिएका आफ्ना राजाको रिहाई गराएका थिए । विद्यापति मिथिलाका राजाका कवि थिए । मिथिलाका प्रकाण्ड विद्वान हरि मिश्र यिनका गुरु थिए । विद्यापति शृंगार, सौन्दर्य, वीरता भक्तिका पनि कवि थिए । राजा शिव सिंहदेवका यिनी दरबारी कवि थिए । विद्यापतिले मैथिली भाषामा श्रीमद्भागवत पनि लेखेका छन् जसको नाम ‘भागवत पाथी’ भनी लेखिएको छ ।

प्रकृतिको वर्णनमा यिनको कल्पनाले आकाश छोएजस्तो लाग्दछ । यिनका वसन्त र वर्षाको वर्णन दत्तचित्त भई सम्झेको खण्डमा परमानन्दको अनुभव हुने गर्दछ । मिलन, विरह, प्रेम र मान आदिको वर्णन पनि अवर्णनीय चमत्कारले परिपूर्ण छ । तीर्थ स्थानमा जाने आउने बेलामा बिहा–बटुला आदिका मंगलमय समयमा र देव–देवी मन्दिरमा गई दर्शन गर्ने समयमा समेत गाइने विद्यापतिका रचनाहरू कर्णप्रिय र चित्ताकर्षक हुने गर्दछन् । पदावलीकै चमत्कारिताले आफना तात्कालीन राजाहरूबाट यिनले नवजयदेव, कविशेखर, कविकण्ठहार, कवि रन्जन, दशवधान र कोमल–कान्त पद–चमत्कृत कवि वृन्दबाट ‘कवि कोकिल’ भन्ने समेत ६ वटा पदवी प्राप्त गरेका थिए ।

मिथिला क्षेत्रमा त्यतिबेला विद्यमान बेमेल विवाहप्रति कटाक्ष गर्दै विद्यापतिले एउटा युवतिको बिहे अपेक्षाकृत किशोर बालकसँग हुन पुग्दा ती महिलाको व्यथालाई यसरी व्यक्त गरेका छन् । ‘पिया मोरा बालक हम तरुनी, कोन तप चुकलौंह भेलौह जननी ।’ श्री कृष्ण र राधाको नोकझोक (छेडछाड) मा आधारित गीत पनि धेरै छन् ।

त्यसैगरी श्री कृष्णकी प्यारी राधाले श्रीकृष्णलाई आफ्नो बाटो नरोक्न र घर जान दिन आग्रह गर्दै भन्छिन्, ‘कुञ्ज–भवन सँ निकसलि रे, रोकन गिरिधारी । एकही नगर वस माधव हे, जनिकर बट–मारी । छाडु कन्हैया मोर आँचर रे, फाटत नव सारी अपजन होएत जगत भरि हे, जनि करिअ उधारी । संगक सखि अगुआईलि रे, हम एकसरि नारी । दामिनी आए तुलाएल हे , एक रात अंधारी । भनहि विद्यापति गाओल रे, सुन गुनमति नारी । हरिक सँग–किछु डर नही हे, तोहे परम गमारी ।’ विद्यापति गाउँछन्, ‘हे गुणी नारी कृष्णसँग भएपछि के को डर ? मूर्खजस्तो नगर न ।’

त्यसैगरी भावोल्लासमा परदेश गएका आफ्नो श्रीमानको आगमन बारे शुभ–सूचना दिन कागलाई आग्रह गर्दछिन् र चुच्चोमा सुन बाँधी दिने लोभ पनि दिन्छन् । ‘मोरा रे आँगनमा चनन केर गछिया, ताहि चढि कुररए काग रे । सोने चोच बाँधिदेव तोए बायसा जओ पिया आओत आज रे ।’ भावोल्लासकै एउटा अर्को पनि सुन्दर रचना यस किसिमको रहेको छ, ‘सुतलि छलहु हम घरवा रे । गरवा मोति हार । राते जखन भिन्सरवा रे, पिया आएल हमार । कर कौमल कर कपईत रे, हटवा उर टार । कर पंकज उर थपइत रे, मुख–चन्द निहार । केहन अभागलि बैरिनी रे, भागलि मोर निन्द ।’

बिहानीपख लोग्ने आएको सपना देखिरहेकी आइमाइले आफ्नो लोग्नेको स्वागत गर्दै मिठो–मिठो कल्पना गरिरहेकी थिइन् कि त्यतिकै निद्रा भंग हुन्छ र उनी आफूलाई अभागी ठान्दछे । विद्यापतिले गंगा स्तृति पनि लेखेका छन्, ‘बड सुख पाओल तुअ तीरे, छोडईत निकट नयन बह नीरे । करजोरि विनयओ विमल तरंगे, पुन दासन होए पुनमति गंगे । एक अपराध छेमव मोर जानी, परसल माए तुअ पानी । कि करब जप तप जोडा धेआने, जनम कृतारथ एकहि सनाने । भनइ विद्यापति समदओं तोडी, अन्तकाल जनु विसरह मोही ।’

आफ्नो जीवन त्याग गंगा नदी नजिक गरेका विद्यापतिले पवित्र गंगाबाट टाढा हुँदा आफनो अश्रुधारा बग्ने गरेको प्रार्थना गर्दै एक्लो गंगा स्नान नै जप, तप योग र ध्यानभन्दा ठूलो कुरा हुन्छ भनेका छन् । पटकपटक तिम्रो दर्शन गर्न पाउँ भन्दै उनले गंगालाई आमा भन्दै आफूलाई छोरा बताएका छन् । विद्यापतिका कालजयी रचना अथाह सम्पति र धरोहर हुन् । महाकवि विद्यापतिको नाममा देशमा धेरै संघ संस्था खुलेका छन्, तर ती सबै औपचारिकतामा मात्रै सीमित छन्, प्रचार पाउनका लागि गठन भएका छन् । विद्यापतिको नाममा ठाउँठाउँमा चन्दा बटुल्ने काम मात्रै गरेका छन् ।

प्रतिक्रिया