यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालले कुवेतलाई दियो १३१ रनको बलियो लक्ष्य

काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि १३१ रनको बलियो लक्ष्य दिएको छ । कुवेतविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रनको स्कोर खडा गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रंगशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् ।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए । कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा घरेलु टोलीसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । चार टोलीको सहभागिता रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया