दुबई । इन्डियन प्रिमियर लिग (आइपिएल)को मेगा अक्सन २४ र २५ नोभेम्बरमा साउदी अरेबियाको जेद्दाहमा हदै छ । यसका लागि १५७४ खेलाडी दर्ता भएका छन् । गत वर्ष दुबईमा मिनी अक्सन भएको थियो, अहिले साउदी अरबमा मेगा अक्सन हुन लागेको हो ।
दिल्ली क्यापिटल्सबाट रिलिज भएका ऋषभ पन्त, लखनउ सुपर जायन्ट्सका पूर्व कप्तान केएल राहुल र च्याम्पियन कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरका लागि ठूलो बोलीको अपेक्षा गरिएको छ । पन्त अन्तिम पटक २०१६ मा, राहुल २०१८ मा र श्रेयसले २०२२ आइपिएल अघि लिलामीमा प्रवेश गरेका थिए ।
आइपिएल समितिले मेगा अक्सनअघि खेलाडीलाई रिटेन गर्ने मिति अक्टोबर ३१, २०२४ तय गरेको थियो । १० टोलीले ४६ खेलाडी राखेका छन् । त्यसपछि २०४ खेलाडीको स्थान खाली भयो । यी स्थानहरूको लागि १००० भन्दा बढी खेलाडीहरू लिलामीमा प्रवेश गर्नेछन् । ६ खेलाडी रिटेन गर्ने मौका भए पनि सबै खेलाडी रिटेन भएका थिएनन् ।
अक्सनमा एसोसिएट देशका ३० खेलाडी पनि समावेश छन् । विदेशी टोलीमध्ये सबैभन्दा बढी दक्षिण अफ्रिकाका ९१ र अष्ट्रेलियाका ७६ खेलाडी दर्ता भएका छन् । इङ्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसन, जोफ्रा आर्चर, अष्ट्रेलियाका मिचेल स्टार्क र इटालीका थोमस ड्राकाले अक्सनमा भाग लिन दर्ता गरेका छन् ।
यस पटक आइपिएल कमिटीले खेलाडी किन्नका लागि टिमलाई १२० करोड रुपैयाँ दिएको छ । २ खेलाडी मात्रै रिटेन गरेका कारण पञ्जाब किंग्ससँग अधिकतम ११० दशमलव ५० करोड रुपैयाँ बाँकी छ । अन्य सबै टोलीको पर्स ८५ करोडभन्दा कम छ ।
राजस्थान रोयल्सले ६ खेलाडीलाई रिटेन गर्न ७९ करोड रुपैयाँ खर्च गरेपछि कम्तीमा ४१ करोड रुपैयाँ बाँकी छ । हैदरावाद र मुम्बईले ५–५ अन्तर्राष्ट्रिय खेलाडी रिटेन गरेकाले उनीहरुसँग ४५ करोड रुपैयाँ बाँकी छ ।
गत वर्षको अक्सनमा अस्ट्रेलियाका मिचेल स्टार्कलाई २४ दशमलव ७५ करोड र प्याट कमिन्सलाई २० दशमलव ५० करोडमा टोलिले किनेका थिए ।
६ टोलीले मात्रै विकेटकिपर ब्याट्सम्यानलाई रिटेन गरेका थिए । लिलामीमा पन्त, राहुल, जोस बटलर, इशान किशन, फिल साल्ट, क्विन्टन डी कक, रहमानउल्लाह गुरबाज, ग्लेन फिलिप्स, जोनी बेयरस्टो र जितेश शर्मा जस्ता विकेटकिपर छनोट गर्न ठूलो बोली लाग्नेछ ।
पञ्जाब किंग्सले २ खेलाडी मात्रै रिटेन गरेकाले अब टोलीले आरटीएम अर्थात राइट टु म्याच कार्डबाट लिलामीमा टोलीका ४ खेलाडी किन्न सक्नेछ ।
प्रतिक्रिया