काठमाडौँ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल ५३८ इलेक्ट्रोल मतमध्ये ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्ट्रोल मत पार गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् । ४ वर्षअघिको निर्वाचनमा पराजयपछि परिणाम उल्ट्याउन उनले गरेको प्रयास, थुप्रै अपराधका अभियोग तथा सन् २०२१ मा आफ्नै दलभित्र अलोकप्रियताका बाबजुद ३ वर्षको अन्तरालमा उनी हरेक परिस्थितिलाई उल्ट्याउँदै फेरि एक पटक संसारको ‘सुपर पावर’ देशको ‘सुपर पावर’ कुर्सीमा पुगेका छन् । अब उनी २० जनवरी, २०२५ मा ह्वाइट हाउस प्रवेश गर्नेछन् ।
अमेरिकाको ‘मार आ लागो’ रिसोर्टमा भएको विजयी सभालाई सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले अहिले आर्थिक समस्या झेलिरहेकाले त्यसको समाधानमा आफ्नो पहिलो पहल रहने बताए । त्यस्तै, उनले आफूलाई देशको ४७औँ राष्ट्रपतिका रूपमा विजयी गराएकामा धन्यवाद पनि दिए । उनले भने, ‘तपाईंहरूले आफ्नो ४५औँ राष्ट्रपतिलाई ४७औँ राष्ट्रपतिमा निर्वाचित गर्नुभएकामा म आभार व्यक्त गर्न चाहन्छु ।’
गत जुन महिनामा भएको बहस कार्यक्रममा डेमोक्र्याट उम्मेदवार तथा वर्तमान राष्ट्रपति जो बाइडेन कमजोर साबित भएपछि उनको स्थानमा डेमोक्र्याटले कमला ह्यारिसलाई उम्मेदवार बनाएको थियो । धेरैजसो मत सर्वेक्षणमा ह्यारिस अघि देखिएकी थिइन् । पुरानो राज्यमा पकड यथावत् राख्दै स्विङ राज्य मिचिगन, विसकन्सिन र पेन्सेल्भेनियामा जित हात पारेर २७० इलेक्ट्रोल मत पार गर्ने डेमोक्र्याटको योजना थियो । तर, ट्रम्पले परिणाम उल्टाइदिए ।
यस पटकको जितमा मुद्रास्फीतिको मुद्दाले धेरै नै असर गरेको देखिन्छ । ट्रम्पले आफू विजयी भएमा मात्र संसारलाई सम्भाव्य तेस्रो विश्ययुद्धबाट रोक्न सक्ने दाबी गरेका थिए । उनीमाथि यसबीच कैयौँ पटक आक्रमण प्रयास पनि भयो । उनीमाथि २ पटक भौतिक रूपमै आक्रमण भएको थियो । उनलाई विपक्षी उम्मेदवार कमला ह्यारिसले बारम्बार ‘फासिस्ट’को संज्ञा दिएकी थिइन् । चुनावी बहसका कार्यक्रम पनि विवादित नै बने । खासमा प्युरेटिरिकोकोमा उनको अभिव्यक्ति विवादमा परेको थियो । यी यावत् आलोचना र आक्रमणका बाबजुद ट्रम्प विजयी भए ।
वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनमा भएको खराब आर्थिक अवस्था तथा हमासले बन्दी बनाएकाहरूलाई छुटकारा दिलाउन नसक्नु डेमोक्र्याटको अलोकप्रियताको कारण बनेको देखिन्छ । अमेरिकाका कुल मतदातामध्ये २८ प्रतिशत मात्र बाइडेन प्रशासनसँग सन्तुष्ट रहेको एक सर्वेक्षणले देखाएको थियो । बन्दी रिहा गर्न नसकेकामा यहुदीहरू तथा प्यालेस्टाइनमा लगातार आक्रमण भइरहेको समयमा इजरायललाई गरिएको हतियार सहयोगका कारण अरब अमेरिकनहरू डेमोक्र्याटसँग असन्तुष्ट थिए ।
अन्तर्राष्ट्रिय नीतिका विषयमा अब ट्रम्पको कार्यकाल कस्तो रहला ? भन्ने सबैको चासो छ । खासमा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा अमेरिकी भूमिकाका बारे धेरैको चासो देखिन्छ । यसैगरी उनले बारम्बार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेकाले रुस–युक्रेन युद्धमा सबैको ध्यान खिचिएको छ । ट्रम्पले सत्ता सम्हालेपछि युद्ध किनारा लाग्छ वा युक्रेनलाई दिँदै आएको अमेरिकी सहयोग रोकिन्छ भन्ने चासोको विषय बनेको छ । उनको जितपछि आप्रवासी मुद्दा फेरि एक पटक उठ्ने सम्भावना देखिएको छ । उनले सार्वजनिक रूपमै कागजात नपुगेका आप्रवासीलाई फिर्ता पठाउने घोषणा गरिसकेका छन् ।
दुवै पटक महिला उम्मेदवारलाई हराएको संयोग
ट्रम्प राष्ट्रपतिमा विजयी हुँदै गर्दा एउटा अनौठो संयोग पनि जुरेको छ । त्यो हो– दुवै पटक महिला उम्मेदवारलाई पराजित गर्नु । यसअघि सन् २०१६ मा ट्रम्पले डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए भने यस पटक कमला ह्यारिसलाई पराजित गरे ।
संसारकै उत्कृष्टमध्येको लोकतान्त्रिक व्यवस्था भएको र लैंगिक समानताका विषयमा बहस छेड्ने अमेरिका महिला राष्ट्रपति चुन्न भने सधैँ हिच्किचाएको देखिन्छ । अन्तरिक्ष विज्ञान, खेलकुद, कला, संगीत र प्रशासनमा समेत उल्लेखनीय उपस्थिति बनाएका अमेरिकी महिला फेरि एक पटक देशको सर्वोच्च पदमा पुग्न भने चुकेका छन् । यस पटक विभिन्न क्षेत्रका स्थापित महिलाहरू ह्यारिसको चुनावी अभियानमा सरिक थिए । तर, अमेरिकी सञ्चारमाध्यमका अनुसार ह्यारिसले ट्रम्पको तुलनामा महिलाहरूको मत कम पाएकी छिन् ।
बढी उमेरमा राष्ट्रपति
ट्रम्प अहिले ७८ वर्षका भए । यदि उनले ४ बर्से कार्यकाल पूरा गरेमा उनको उमेर ८२ वर्षको हुनेछ । तसर्थ उनले सबैभन्दा बढी उमेरको अमेरिकी राष्ट्रपति पदमा रहने जो बाइडेनको कीर्तिमानलाई समेत पछि पार्नेछन् । यस पटक ट्रम्पको साथमा जेडी भान्स उपराष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । यसअघिका उपराष्ट्रपति माइक पेन्स सन् २०२० मा निर्वाचन परिणाम उल्ट्याउन गरेको प्रयासमा साथ नदिएका कारण ट्रम्पको कित्ताबाट बाहिरिएका थिए ।
अन्तर्राष्ट्रिय क्षेत्रबाट बधाईको ओइरो
राष्ट्रपतिमा ट्रम्पको जित तय भएपछि संसारभरबाट बधाई दिनेको ओइरो लागेको छ । ट्रम्पलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसहित भारतीय प्रधानमन्त्री, ब्रिटिस प्रधानमन्त्री, फ्रान्सेली प्रधानमन्त्री, युक्रेनी राष्ट्रपति, युरोपियन युनियनका प्रमुखलगायतले बुधबार नै बधाई दिइसकेका छन् ।
राष्ट्रपति पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल एक्समार्फत् बधाई तथा शुभकामना दिँदै ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । ‘अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु,’ उनले एक्समा लेखेका छन् ।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै भनेका छन्, ‘मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जितका लागि हार्दिक बधाई । तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनुभएको थियो । म भारत–अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ । वैश्विक शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’
अमेरिकाको मुख्य साझेदारमध्ये एक ब्रिटिस प्रधानमन्त्री किर स्टार्मरले पनि जितका लागि ट्रम्पलाई बधाई दिएका छन् । किर स्टार्मरले ट्रम्पको जितपछि ब्रिटेन र अमेरिकाबीचको विशेष सम्बन्ध नयाँ अमेरिकी प्रशासनमार्फत् पनि समृद्ध हुने बताएका छन् । लन्डनमा टेन डाउनिङ स्ट्रिटद्वारा जारी एक वक्तव्यमार्फत् स्टार्मरले भनेका छन्, ‘तपाईंको ऐतिहासिक चुनावी जितमा बधाई । म आउने वर्षमा तपाईंसँग मिलेर काम गर्न उत्सुक छु । विकास र सुरक्षादेखि नयाँ विकसित प्रविधिसम्ममा सहकार्य गरेर आउने कैयौँ वर्षसम्म एटलान्टिकका दुवैतर्फ ब्रिटेन–अमेरिकाको विशेष सम्बन्ध समृद्ध हुँदै जानेछ ।’
त्यस्तै, फ्रान्सेली प्रधानमन्त्री इम्मानुएल म्याक्रोनले पनि सामाजिक सञ्जाल एक्समार्फत् ट्रम्पलाई बधाई दिएका छन् । उनले ४ वर्ष फेरि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । युरोपियन युनियनका प्रमुख उर्सुला भन डेन लियोनले पनि अमेरिका र युरोपमा आपसमा व्यापार वृद्धि हुने आशा व्यक्त गर्दै बधाई दिएका छन् भने नाटो प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै सहकार्यको अपेक्षा गरेका छन् । साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र हंगेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टार उर्बानले पनि उनलाई बधाई दिएका छन् ।
कहाँ चुक्यो ह्यारिसको अभियान ?
निर्वाचनमा हारपछि अहिले कमला ह्यारिसको हारको कारण खोजी गरिएको छ । पहिलो कारण ह्यारिसको बाइडेनप्रतिको बफादारितालाई नै मुख्य मानिएको छ । अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार बाइडेन कालमा आएको मुद्रास्फीतिको समस्या र खुला सीमाले ल्याएको समस्याका बारे खुलमखुला बोल्न ह्यारिस हिचकिचाउनु मुख्य कारण मानिएको छ । आफ्ना लागि राष्ट्रपति पद त्याग्न तयार हुनेका बारे यस किसिमको अभिव्यक्ति दिन उनले कहिले पनि चाहिनन् ।
ढिला उम्मेदवारी तय भएका कारण केही कार्यक्रममा उनी बिनातयारी प्रस्तुत भएकी थिइन् । केही कार्यक्रममा त उनमा आत्मविश्वासको अभाव नै देखिएको थियो । डेमोक्र्याटको आन्तरिक मत सर्वेक्षणले नै देश खराब अवस्थामा गएकामा दुःखी भएको ठहर गरेको थियो । यसलाई ‘ट्याकल’ गर्न ह्यारिस असमर्थ भएकी थिइन् । यसैगरी टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गर्दा डेमोक्र्याटमा नै असन्तुष्टि देखिएको थियो । अन्तिममा उनले ओबामा परिवारको लोकप्रियतालाई प्रयोग गर्न चाहेकी थिइन् । परन्तु त्यसलाई अमेरिकी जनताले स्वीकार गरेनन् ।
१३२ वर्षअघिको इतिहास दोहोरियो
बीचमा एक कार्यकाल ग्याप राखेर दोस्रो कार्यकाल अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुने ट्रम्प दोस्रो व्यक्ति हुन् । यसअघि सन् २०१६ मा निर्वाचित उनी सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए । यसभन्दा अघि ग्रोभर क्लेभल्यान्डले मात्र यो सफलता पाएका थिए । विधायक तथा भ्रष्टाचार विरोधी अभियन्ता उनी सन् १८८४ मा राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
गृहयुद्धपछि ह्वाइट हाउस प्रवेश गर्ने उनी पहिलो डेमोक्र्याटसमेत थिए । मजदुर आन्दोलनलगायत स्क्यान्डल उनको पहिलो कार्यकालमा भएको थियो । सन् १९८८ मा उनी बेन्जामिन ह्यारिसनसँग पराजित भएका थिए । सन् १८९२ मा अमेरिका आर्थिक संकटमा रहेको समयमा उनी दोस्रो कार्यकालमा लागि निर्वाचित भएका थिए ।
प्रतिक्रिया