काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई हराउँदै प्रतियोगतामा सुखद सुरुआत गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।
नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई–दुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९–१९ रन बनाए ।
थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि (बिहीबार) आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
प्रतिक्रिया