काठमाडाैँ । हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सानदार जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो ।
नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारेन जोशीले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे । उनले नारेन जोशीलाई लगातार ५ छक्का हाने भने रासिद खानको एक ओभरमा २१ रन जोडे । स्मित पटेलले पनि १७ बलमा ३९ रन बनाए ।
नेपालका कप्तान सन्दीप जोराले बलरको उपयोग राम्रोसँग गर्न नजानेको देखियो । टिमका सबैभन्दा राम्रो मानिएका बलर प्रतिश जीसीले एक ओभर मात्र बलिङ गर्न पाए । उनले पाँचौँ ओभर गरेका थिए । जबकी उनले एकै ओभरमा मात्र ८ रन दिएका थिए र दुई विकेट लिएका थिए ।
नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । चार सयभन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले नटआउट १७ बलमा ७१ रन बनाए । त्यसक्रममा उनले ८ छक्का र ५ चौका प्रहार गरे । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए । क्रिकेटको सबैभन्दा यो छोटो प्रारुपमा एकतर्फ ७ जना मात्र खेलाडी हुन्छन् भने एक टिमले ६ ओभर ब्याटिङ गर्न पाउँछ । नेपाली टिम युवा छ भने इंग्ल्यान्डबाट लिजेन्डहरू छन् ।
प्रतिक्रिया